शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पोखराले ५ वर्षमा ५० प्रतिशत कार्बन उत्सर्जन घटाउने, डेढ अर्ब लगानी हुँदै

मङ्गलबार, २० साउन २०८२, १८ : १०
मङ्गलबार, २० साउन २०८२

पोखरा । आगामी ५ वर्षभित्र ५० प्रतिशत कार्बन उत्सर्जन घटाउने लक्ष्य सहित पोखरा महानगरपालिकाले ऊर्जा योजना सार्वजनिक गरेको छ । सार्वजनिक भएको योजनामा आउँदो ५ वर्षमा महानगरमा हाल भइरहेको ऊर्जा उत्सर्जन ५० प्रतिशत कम हुने दाबी गरिएको छ । यसका लागि परम्परागत इन्धनको सट्टा विद्युतीय ऊर्जालाई जोड दिने रणनीति महानगरको छ । 

त्यसो त, कार्बन तटस्थताको राष्ट्रिय लक्ष्यलाई समेत उछिनेर पोखराले सन् २०४३ भित्रै कार्बन–जीरो पालिका बनाउने घोषणा यसअघि नै गरिसकेको छ । त्यसैलाई समर्थन हुने गरी पहिलो पञ्चवर्षीय योजना तयार गरिएको हो । खासगरी धुवाँरहित भान्छा र विद्युतीय सवारी साधनमा जोड दिने महानगरले जनाएको छ ।

यसका लागि विभिन्न कार्यक्रम पनि सार्वजनिक गरिएका छन् । सन् २०२९ सम्म परम्परागत र खनिज इन्धन खपत २५ प्रतिशत घटाउने र ५० प्रतिशत कार्बन उत्सर्जन न्यून बनाउने महानगरको दाबी छ । 

विद्युतीय सवारी साधन प्रयोग, ऊर्जा दक्षता प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्न कर छुटको व्यवस्था गर्ने र यातायातका लागि ई फ्लिटहरु अपनाउन पहिलो दुई वर्षको लागि कर र ट्यारिफमा प्रोत्साहन गर्ने नीति लिइएको छ । वार्षिक १० प्रतिशतका दरले विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै ५ वर्षभित्र कम्तीमा ५० वटा विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गुरुयोजना मार्फत गरिएको छ ।

हरेक घरमा विद्युतीय चुल्हो

पोखराले सन् २०२९ सम्म हरेक घरमा विद्युतीय चुल्होको पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ । सुरुवाती चरणमा २५ प्रतिशत घरमा विद्युतीय चुल्हो (इन्डक्सन) को पहुँच सुनिश्चित गरी घरायसी एलपीजी ग्यासको खपत घटाउने महानगरले जनाएको छ ।

पोखरामा अहिले पनि ११ हजार ८ सय ९३ घरधुरीले खाना पकाउन दाउरा प्रयोग गर्छन् । यसलाई तुरुन्तै हटाउने नीति पोखराको छ । यस्तै, बायोग्यास प्रयोग गर्ने घर परिवारको सङ्ख्या अहिलेभन्दा १३ सयले वृद्धि गर्ने लक्ष्य छ ।

पोखराले सौर्य ऊर्जालाई बढी जोड दिएको छ । महानगरले कुल ५६ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्तीमा २० प्रतिशत घरहरूमा सौर्य गृह प्रणाली जडान गरिने छ । सौर्य ऊर्जामा प्रोत्साहन गर्न भवन निर्माणको सम्पन्नता प्रमाणपत्र लिँदा १० प्रतिशत कर छुटको घोषणा गरिएको छ ।

सन् २०२६ सम्म पोखराका ९९ प्रतिशत घरमा १५ एम्पियरको मिटर जडान गरिनेछ । हाल ५ एम्पियर मिटर भएका करिब ४० हजार घरधुरीको क्षमता वृद्धि गर्ने लक्ष्य छ ।

यसमा सहकारी र व्यवसायीक प्रतिष्ठानहरूलाई पनि प्रमुख सरोकारवाला मानिएको छ । सन् २०२९ सम्म प्रत्येक सहकारीले नवीकरणीय ऊर्जा प्रयोग गरेर कम्तीमा एउटा वस्तु उत्पादन गर्नुपर्ने नीतिले स्थानीय अर्थतन्त्रलाई समेत हरित बनाउने योजनामा समेटिएको छ ।

यसका लागि १ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसमध्ये पोखरा महानगरपालिकाले ३४ करोड ९ लाख लगानी गर्नेछ भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १० करोड १३ लाख, नेपाल विद्युत् प्राधिकरणले ७८ लाख ८८ हजार र लाभग्राहीले ८३ करोड ५९ लाख लगानी गर्नेछन् ।

बाँकी ४ करोड ६८ लाख अन्य विभिन्न स्रोतबाट जुटाउने प्रक्षेपण छ । जर्मन सहयोग जीआईजेड नेपाल अन्तर्गत रीप ग्रीन कार्यक्रमको प्राविधिक सहयोगमा ऊर्जा योजना तयार गरिएको हो । २०८१ फागुन महिनामै पोखरा महानगरपालिकाबाट योजनाको औपचारिक अनुमोदन गरिएको छ । 

रीप ग्रीन युरोपेली सङ्घ र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त सहयोगमा सञ्चालित कार्यक्रम हो । जीआईजेडले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा नेपालमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

योजना सार्वजनिक गर्दै पोखराका मेयर धनराज आचार्यले ऊर्जा योजना पोखराको दीगो भविष्यको लागि महत्त्वपूर्ण कोशेढुंगा बनेको बताए ।

‘यो केवल नीति मात्र होइन । हरेक घरको व्यवहार परिवर्तन गर्ने अभियान हो,’ उनले भने, ‘हामीले राष्ट्रिय लक्ष्यभन्दा दुई वर्ष अगाडि नै पोखरालाई कार्बन–तटस्थ सहर बनाउने अठोट लिएका छौँ । यसका लागि बेलैदेखि काम गर्नुपर्ने छ ।’

नेपालले जलवायु परिवर्तनबाट भोग्नुपरेको पीडा असामान्य रहेको भन्दै उनले त्यसको न्यूनीकरणमा पनि एकजुट भएर मुकाबिला गर्नुपर्ने अवस्था आएको सुनाए । नेपालमा जलवायु परिवर्तनको असर बुझ्न केही समयअघि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पोखरा र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए ।

‘हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ । अब हामीले आफ्नो तर्फबाट समाधानका लागि कदम चाल्नुको विकल्प छैन,’ उनले भने । महानगरको ऊर्जा योजनाले पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा कम गर्न समेत मद्दत पुग्ने बताइएको छ । व्यक्तिगत, घरायसी, सामुदायिक र औद्योगिक गरी सबै क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिइने योजनामा उल्लेख छ । विभिन्न सरोकारवालाहरूसँगको लामो छलफलपछि ऊर्जा योजना तयार पारिएको संलग्नहरूले बताए ।

योजना सार्वजनिक कार्यक्रममा जीआईजेडका ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाईं र कुशल गुरुङले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारीले ऊर्जा योजना बनाउने पोखरा नै पहिलो महानगर भएकोले अरूका लागि पनि उदाहरण बनेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप