शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पुस्तक

‘यादहरूको बहिर्गमन’मा जुमन किरण

शनिबार, २४ साउन २०८२, १२ : १०
शनिबार, २४ साउन २०८२

जुमन किरण नवोदित युवा कवि हुन् । उनको पहिलो कवितासङ्ग्र्र्रह ‘यादहरूको बहिर्गमन’ (२०८२) भर्खरै प्रकाशित भएको छ । पहिलो कृतिका रूपमा उनको गजलसङ्ग्रह ‘मौन आवाज’ (२०८१) प्रकाशित भएपछिको यो कवितासङ्ग्रह दोस्रो साहित्यिक सन्तान बनेर पाठकहरूसामु आएको छ । ‘धेरै भावनामा नबग्, पागल होलिस्’ भन्ने स्कुले शिक्षकको नकारात्मक गालीले मनमा चोट पु¥याएपछि केही समय मौन रहेकी जुमन विस्फोट भइन् ‘मौन आवाज’ गजलसङ्ग्रहमा । सानैदेखि साहित्यप्रति गहिरो रुचि लिने जुमनलाई आफ्नो प्रथम प्रकाशित गजलसङ्ग्रहले नवीन साहित्यिक ऊर्जा र भावनात्मक प्राण भरिदिएको हो । त्यसपछि उनको कलम साहित्य सिर्जनामा झन् सशक्त बनेर गतिशील बन्यो । त्यसकै परिणामस्वरूप सम्पत्ति र मोजमस्तीलाई सर्वाधिक प्रिय मान्ने उमेरकी जुमन साँच्चै भावनाको अभिव्यक्तिमा पागल भएर लागिन् र आफ्नो जन्मोत्सवका उपलक्ष्यमा भव्य भोज गर्न छाडेर नयाँ कवितासङ्ग्रह ‘यादहरूको बहिर्गमन’ (२०८२) विमोचन गर्न पुगिन् ।

आधुनिक उपभोगवादी समाजका नजरमा यस कृतिमार्फत उनी वास्तवमै पागल ठहरिइन् होला । परन्तु उनको यही पागलपन हामी नेपाली साहित्यका पाठकका लागि एउटा मिठो काव्यात्मक खुराक बनेर आस्वादित भएको छ । कविकै शब्दमा ‘मौनताबाट जन्मिएको विद्रोही आवाज’ हो यो कृति । यही कृतिको आस्वादन गर्दा आफूले प्राप्त गरेको काव्यात्मक अनुपानलाई समीक्षात्मक कलेवरमा उतारेर यो लेख तयार पारिएको छ । 

यस कृतिभित्र कविताको संयोजन दुई भागमा गरिएको छ— समयसँगको संवाद र नपठाइएको चिठी । ‘समयसँगको संवाद’भित्र ४१ वटा र ‘नपठाइएको चिठी’ भित्र १६ वटा गद्यकविता छन् ।

‘समयसँगको संवाद’ भित्रका कविताहरू

देशप्रतिको मायामा पग्लेका जुमनका कवितात्मक भावहरू ‘मेरो देश’ कवितामा पोखिएका छन् । हिमाल, पहाड, तराईका प्राकृतिक सौन्दर्यमा गुटुमुटुु भएर अनेकौँ संस्कृति, कला र परम्परामा रमाउँदै विश्वशान्तिको कामना गर्ने वीर गोर्खालीको देश नै मेरो प्यारो नेपाल हो भन्ने राष्ट्रगौरवलाई कविले पहिलो कवितामा व्यक्त गरेकी छिन् । ‘युद्धको घनघोर गर्जनमा, ध्वस्त हुँदै छ मानवताको पुकार’ भन्दै युद्धप्रति चिन्ता र विरोध प्रकट गर्दै विश्वमा मानवतालाई जोगाउनुपर्छ भन्ने शान्तिप्रिय पुकार व्यक्त गरेकी छिन् ‘युद्ध र मानवता’ कवितामा । पेटका समस्याले विदेशतिर लाग्न विवश युवाको तीव्र व्यथालाई व्यङ्ग्यपूर्वक ‘म देशद्रोही युवा हुँ’ भन्ने शीर्षकद्वारा घन्काएकी छिन् । 

चराहरूजस्तै सीमाविहीन प्रेमले विश्वभरि स्वतन्त्रतापूर्वक उडान भर्ने संसारको सिर्जना गर्ने विश्वदृष्टि ‘चरा र सिमाना’मा पोखेकी छिन् । वैदेशिक रोजगारीमा रगत–पसिना बगाएर पठाएको रेमिट्यान्समा भ्रष्टाचार गरेर सिंहासनमा मस्ती गर्दै बसेको सिकारी संरक्षकजस्तो सरकारप्रति युवाले बोलेको विद्रोहको स्वर टड्कारो सुनिन्छ, ‘युवा र सरकार’ कवितामा । देशको अस्तित्व नै समाप्त पार्ने गरी टुक्राटुक्रामा विभाजित गर्ने विखण्डनकारी सत्तासीन नेतृत्वले नेपाल एकीकरणका महानायक पृथ्वीनारायणको योगदानलाई अवमूल्यन गर्न खोज्दा तिनको महान् गौरवलाई सम्झाउँदै ‘पुनर्जन्म लिन मिल्दैन ?’ भन्ने ‘एक प्रश्न’ कवितामा अखण्ड नेपालप्रतिको अटुट निष्ठा व्यक्त गरेकी छिन् । 

आधुनिक उपभोगवादी समाजका नजरमा यस कृतिमार्फत उनी वास्तवमै पागल ठहरिइन् होला । परन्तु उनको यही पागलपन हामी नेपाली साहित्यका पाठकका लागि एउटा मिठो काव्यात्मक खुराक बनेर आस्वादित भएको छ ।

‘आशा’मा मरुभूमिको सिउँडीजस्तो जीवनमा आशाहरूको सञ्चार गरेर बाँच्ने कविको प्रण छ । ‘विजेताहरूको चित्रण’मा ‘आत्माको अदम्य विश्वास’ लिएर हारहरूसँग नडराई सङ्घर्ष गरिरहनेहरूलाई वास्तविक विजेता घोषित गरिदिएकी छिन् । जीवनको अस्तित्वको धड्कन दिने आमाकै सरह वर्षाको सङ्गीत भर्ने दार्शनिक प्रकृतिको असारले मानिस (म) लाई माया गर्छ भन्ने भाव ‘असार र म’मा पोखेकी छिन् । अस्तित्वले भरिएको गुलाबको जीवनचक्रले पनि जीवन सौन्दर्यका निम्ति सङ्घर्षशील हुन प्रेरित गरेको रहस्य खोलेकी छिन् ‘गुलाब जीवनको’ कविताभित्र । ‘शब्दहरूको यात्रा’ लेखकहरूको जीवन आनन्द र चेतनाको यात्रा हो भन्ने विचार प्रकट गर्छ । 

‘म एक युग हुँ’ स्वतन्त्र विचारमा परिवर्तनशील पाइला चाल्ने युवाको खुला संसार स्थापित गर्ने डिजिटल युगको वकालत गर्छ । ‘चित्र’ आफ्ना प्रिय तिमीको तस्बिरलाई सम्झना र अनुभूतिका रङहरूमा उतारेर भविष्यसम्म सुरक्षित राखिरहन खोज्दा धमिलिएर बिलाउन लागेपछि धमिला यादहरूको रङको बहिर्गमनलाई समयकै कुचीले रोक्ने कविको प्रयासलाई देखाउँछ । आफ्ना प्रियतमका यादहरूलाई मनोविम्बमा सजाइरहने तर कदापि तिनलाई बहिर्गमन हुन नदिने उदात्त प्रेमचित्र यसमा कोरिएको छ । त्यसैले कविको यस सङ्ग्रहकै शीर्षक बनेर साहित्यलोकमा छाएको छ । प्रियतमका सुन्दरतम यादहरूलाई कहिल्यै मनबाट बाहिर निस्केर जान दिनु हुँदैन । यसैले कवि पोखिन्छिन् प्रेमिल भावका शब्दहरूमा —

रोक्न खोजिरहेकी छु

समयको कुचीले –

धमिला यादहरूको रङको बहिर्गमन 

(चित्र, पृ.३८) ।

बिहानीको मिठो शीतझैँ भेटिएका र छुट्टिएकाहरू समयरूपी कठोर घामको प्रभावले बाफसरि क्षणभङ्गुर भएर बिलाउने जीवनमर्मलाई ‘समयको शीत’ले दर्शाएको छ । जीवनका अडिग आँधीहरूमा सपना र डरले सहमति गरेपछि कविभित्रको म अर्थात् अस्तित्वको संसार ब्युँझिन्छ र बाँच्छ भनेको छ ‘मभित्रको म’ कविताले । अनन्त र अपरिमित कर्मको चक्रमा भविष्य सुरक्षित भएपछि एउटै सर्वोच्च सत्य (शान्ति) गुन्जिरहन्छ भनेको छ ‘आत्माको शान्ति’ले । हृदयका इच्छाको प्रतिध्वनि बनेर विचारहरू तरङ्गित हुने कुरा ‘विचारहरू’ले व्यक्त गरेको छ । मानिस आफ्नो महत्त्वाकाङ्क्षी अस्तित्व प्रमाणित गर्नकै लागि समयको उत्तराधिकारी बनेको छ भनी ‘समयको उत्तराधिकारी’ बोलेको छ । शून्यसरिको मौनता वा शान्तिको अथाह सागरमै सिर्जनशील जीवनको महाकाव्य थालिन्छ र विशाल सांसारिक शून्यतामा पुगेर टुङ्गिन्छ भन्ने शून्यचेत ‘शून्यता’मा झङ्कृत भएको छ । अनेक प्रश्नमाझ सत्यवादी उज्यालो संसार देखाउने कविका कवितामा अभिव्यक्त मानव समाजको वास्तविक हृदय देशले फेला पार्न सक्छ त भन्ने मननीय चैतन्य ‘कविको कवितामा’ ले राखेको छ —

भविष्यको शिखरका लागि

एक उज्यालो

हाम्रो मानवजातिका लागि

एक अभिलेख

के देशको हृदयले 

ऐना फेला पार्न सक्छ

कविको कलममा –

जसले कहिल्यै झुट बोल्दैन ? 

(कविको कवितामा, पृ.४६–४७) ।

‘कल्पनाको देशमा’ कविताले कल्पनाको उडान भरेर विचारहरूमा जीवन लेखी किंवदन्तीहरूबाट नायकहरूको इतिहास अद्भुत दृश्यहरूमा कुँदेर सृष्टिको अनन्त स्वरूप देखाउने कविको अभिलाषा कुँदेको छ । असफलताले नै मानिसलाई फिनिक्सजस्तो भएर नयाँ जीवनकथा सिर्जना गर्न सृष्टिका रङहरू क्षितिजभरि फिँजाई जीवित सपनाहरूको समुद्र रच्ने शक्ति दिन्छ भन्ने आशावादी विचारलाई ‘असफलताको कथा’ले व्यक्त गरेको छ । आफ्ना पीडाहरूलाई लुकाउन हस्यौलीको अभिनयमा उत्रेर बिताउनुपरेको ढोँगी युगको जीवनलाई कविले ‘जोकर’मा समेटेकी छिन् । ‘विवेकको पोस्टमार्टम’मा ब्रह्माण्ड र पृथ्वीलाई विनाश गर्ने गरी प्रकृतिको नियम मिचेर विवेकशून्य भई भौतिक विकासमा एकोहोरो लाग्दा पर्यावरणलाई ध्वस्त बनाएर मानव सभ्यताकै ध्वंस गर्न अघि बढेकाले त्यस मानव वृत्तिप्रति व्यङ्ग्य गर्दै पर्यावरणवादी चेतना ध्वनित गरेकी छिन् । यसै लहरमा पर्यावरणवादी चेतनालाई ‘हिमालमुनिको मान्छे’ले पनि सुन्दर ढङ्गले मानसिक सन्त्राससहितको हृदयस्पर्शी संवेदनामा यसरी प्रतिविम्बित गरेको छ—

हिजो सेताम्मे देखिने हिमाल

आज अलिक खैरोखैरो देखिरहेछु

जलवायु परिवर्तनको असरले होला

डर उब्जिन्छ मनमा

भोलिका दिनहरूमा 

मैले यी सेताम्मे हिमाल 

सेताम्मे नै देख्न पाउँछु कि पाउँदिनँ ? 

(हिमालमुनिको मान्छे, पृ.५६–५७) ।

‘मृत्युसँग जिस्किँदै गरेको सहर’ पनि सहरको प्रदूषित स्वरूप देखाउँदै पर्यावरणवादी चेतना अभिव्यक्त गर्नमै केन्द्रित छ । ‘पानी’ले पानीकै महिमा गाएको छ जीवनका लागि । ‘वन’ पनि यसकै महिमा गाउने सुन्दर पङ्क्तिहरूमा रचिएको छ—

झरना, नदी

रुख, बिरुवा

चराचुरुङ्गी

जनावर र फलफूलको मोहकता

अनि, सृष्टिको धड्कन

हाँसिरहन्छन् सधैँ

ओढेर हरियो वस्त्र

(वन, पृ.६०) ।

1000018406

‘स्मृतिको नदी’भित्र हामी भुलवश पर्यावरणप्रति सचेत नहुँदा सहरलाई नदीले बगाइरहेको दुःखद स्मृति छ । ‘पैसा’ले प्रेम, नाता र आफ्नोपनको विशाल संसारलाई सजाएको कुरा प्रवाहित गरेको छ । ‘भावनाहरूको मृत्यु’भित्र आजभोलिका भावशून्यहरूको बिगबिगीले संसारलाई भावनाहरूको न्यानोबाट वञ्चित गरेर चिसो भूतमा बदल्दै छ भन्ने मानव मूल्यको विघटनको सङ्केत गरिएको छ । ‘धुवाँभित्रको आकृति’मा तिमीलाई ‘म’ले आफ्नै हृदयभित्र जलिरहेको पाउँदा धुवाँभित्रकै आकृति ठानेर अन्योल मानसिकतामा पुगेको भावको गहिराइ छचल्केको छ । ‘स्थगित आत्महत्या’ले निराशाले ग्रस्त भई हार्दै गएको जीवनले आत्महत्या गर्न खोज्दा कसैको प्रेमको सूर्योदयले उज्यालो छरेर बाँच्न प्रेरित गरेको आशापूर्ण जीवनमूल्यको प्रकाशन गरेको छ । मृत्यु होइन जीवन रोज्ने भावनाले विजय पाएको छ । ‘अमूर्त जिन्दगी’मा तिमीको अमूर्त स्पर्शले चेतनामा र भावनामा आशाका अनि पूर्णताका ढुकढुकीहरू थपेर जिन्दगीलाई सजीव तुल्याइरहेको प्रेमिल अनुभूति प्रस्तुत गरेको छ । अतृप्त सपनाहरू र अपूर्ण आशाहरूलाई साकार र सार्थक तुल्याउन मनका द्वन्द्वलाई नियन्त्रण गरेर जागरूकताका पाइला चाल्दै समयसँगै ब्युँझेर यात्रा गर्ने अभिलाषा ‘अन्तद्र्वन्द्व’मा व्यक्त भएको छ । तिमीसँगको प्रेमको प्रथम अनुभूतिलाई सुन्दर भावनाका लहरमा प्रस्फुटित गरिएको ‘पहिलो अनुभूति’मा पाइन्छ । ‘युगनायक’ले कविको प्रगतिशील विचारधाराको प्रतिनिधित्व गर्दै भ्रष्ट शासनको अन्त्यसहित युगलाई प्रगतिशील परिवर्तन गरेर हाँक्ने एक गतिशील युगनायकको खोजी गरेको छ र वर्तमान अव्यवस्थामाथि यसरी कडा प्रहार पनि गरेको छ—

सङ्कीर्ण विचार

भ्रष्ट मति

अशोभनीय व्यवहारले

टाउकेहरू

कुहिएको फर्सी भइसके ! 

(युगनायक, पृ.७९) ।

‘जन्मदिन’मा असारे झरीमा जुम्ल्याहा सन्तानमध्ये दोस्रो सन्तानका रूपमा पहिलोभन्दा एक घण्टा ढिलो जन्मँदा आफ्नी आमाले भोग्नुपरेको जटिल प्रसवपीडालाई सम्झँदै असारे झरीमा यस दुनियाँमा पाइला टेकेकी जमुना नै कवि जुमन किरण बनेर त्यस्ती महान् आमा र नेपाल आमाकै सेवामा समर्पित भई साहित्यमा नयाँ पाइलाहरू चालिरहेकी हुन् भन्ने जानकारी दिँदै त्यस प्रस्रव चेतनासँग सङ्घर्षमय र कल्याणमय जीवनको आकृति कोरिएको भावको प्रकाशन गरिएको छ । कविको वास्तविक अस्तित्व शब्दहरूको गर्भमा प्रतिविम्बित भएको हुन्छ, त्यसैले अन्त खोजेर पाइँदैन भन्ने भावले भरिएको छ ‘मेरो प्रतिविम्ब’ कविता । युद्धले व्यर्थै मानव जातिको रगतको होली खेलेर जीवनको मूल्य सस्तो बनाएकामा कवि समय बनेर प्रश्नशील संवाद गर्दै बहुमूल्य जीवनको संरक्षणमा जोड दिन्छिन् ‘रगत र समयको संवाद’मा । ‘ईर्ष्या’ एक शक्तिशाली कविता हो । यसमा विषजस्तो अनावश्यक ईर्ष्या लिएर अर्काको सफलतामा जल्नलाईु बेकार भनिएको छ । आफैँ वसन्त हौ तसर्थ फूलको सुगन्ध मेटाउन खोज्नु कति पनि सुहाउने कार्य होइन । ईर्ष्या त त्यस्तो आगो हो जसलाई बुझेमा रचनाको ऊर्जा बनाउन सकिन्छ नबुझेमा त्यसमै जलेर खरानी बन्न सकिन्छ । तिमी आफ्नै ब्रह्माण्ड हौ भन्ने उच्चाकाङ्क्षासहित कवि ईर्ष्याको साँगुरो जेलबाट मुक्त भएर करोडौँ तारा चम्केझैँ सिर्जनाको प्रकाश फिँजाउ भन्दै हाँकका साथ भन्छिन्— कुनै एक मात्र चन्द्रले साम्राज्य गर्दैन । 

यसरी कविका युगीन दृष्टिलाई प्रक्षेपण गर्ने कविता ‘समयसँगको संवाद’मा हामीसँग विमर्श गर्न आएका छन् । यी संवाद कविका समय चेतनाका झरिला आवेग हुन् । यिनले कविलाई नेपाली साहित्यमा आफ्नो स्पेस निर्माण गर्न समर्थ बनाएका छन् ।  

यसका छोटाछोटा आकारका कविताले अस्तित्ववादी जीवनका सकारात्मक मूल्य–मान्यतालाई, प्रेमका उज्ज्वल संवेगहरूलाई, समाज र राजनीतिका नकारात्मक तथा सकारात्मक रेखाहरूलाई व्यक्त गरेका छन् ।

‘नपठाइएको चिठी’ भित्रका कविता

यसअन्तर्गत १६ वटा कविता राखिएका छन् । कसैलाई पठाउन ठिक्क पारिएका चिठीका भावहरूलाई समेटेर यी गद्य कविताहरू रचिएका हुनाले नपठाइएको चिठीभित्र राखिएका हुन् भन्ने लाग्छ । कविले नपठाएका वा पठाउन नपाएका आफ्ना चिठीहरूलाई कविताका रूपमा यसरी जन्मदिनका अवसरमा सार्वजनिक गरेकी हुन् । यसमा कविका मूलतः उमेर सुहाउँदा निजी प्रेमिल भावहरू खुलेर आएका छन्, त्यसैले यिनमा बढी भावुकता प्रदर्शन भएको पाउन सकिन्छ ।

प्रेम लिनुमा भन्दा दिनुमा महान् ठहरिने हुँदा कवि आन्तरिक शान्ति दिने आत्मिक तीर्थयात्रासरहको प्रेमको प्रतीक्षामा बसेर स्वतन्त्रताले प्राप्त गरेको प्रेमबन्धनको चाहनालाई ‘प्रतीक्षा प्रेमको’ कवितामा व्यक्त गर्छिन् । डिजिटल प्रेमको निसास्सिँदो स्वरूपले प्रेमी–प्रेमिकाहरू भुलभुलैयामा तड्पिन विवश भएको मार्मिक उच्छ्वास बनेको ‘डिजिटल प्रेम’मा प्रेमको अवमूल्यनलाई देखाएकी छिन् । ‘एउटा कविता अधुरै रह्यो’मा मनको क्यानभासबाट धमिलिँदै गएको प्रेमीको आत्मीय चित्र बोकेको प्रेमकविता प्रेम घनीभूत हुन नपाउँदा अधुरो र अर्थहीन बनेकाले त्यही वियोगात्मक मनोदशालाई उद्घाटन गरेकी छिन् । 

‘फूलको माला’ले साँचो प्रेमको अपरिवर्तनीय शृङ्खलामा सुन्दर अनुहारको चौघेराभित्र एउटा मिठो प्रेमकथा लेख्ने कविको भावनात्मक माला उनेको छ । ‘पुरानो फोटो’ टुटेको प्रेमको झल्को दिने स्मृतिको फिक्का तस्बिर बनेको छ । झरीमा तात्तातो कफी सँगै पिउँदाको पुरानो प्रेमको यादले वर्तमानमा झस्काएको मानसिकतालाई ‘झरी र याद’ले जोडिदिएको छ । आफ्नो अस्तित्वलाई सम्मान गर्दै भविष्यसम्मको भरोसा बनेर मिठो सम्बन्ध गाँस्ने प्रेमी कविको जीवनमा आओस् भन्ने चाहना ‘इच्छा’ले ध्वनित गरेको छ । ‘यादहरूको प्रहार’ले प्रेमी ऊप्रतिका हृदयका क्यानभासभरिका यादहरूले बौलाही बनाइरहेको प्रेमवियोगको घाउलाई फिँजाएको छ । ‘मौनताको गहिराइ’मा एकतर्फी प्रेमको गहिरो संवेदना मर्मान्त रूपमा प्रवाहित छ । ‘मेटाफिजिकल सम्भोग’ले ब्रह्माण्डभित्र ब्रह्माण्ड जन्माउने अस्तित्वको मिलनको चाह व्यक्त गरेको छ । ‘परिचित मुस्कान’ आफ्ना आदरणीय, अति प्रिय र प्रभावशाली व्यक्तिको हृदयस्पर्शी मुस्कान वृद्ध अवस्थामा पनि सर्वत्र भेटिइरहने स्वरूपमा उस्तै पाउँदा अनुभूत भएको अपार खुसी व्यक्त गर्छ । 

‘प्रेम यस्तो होस्’मा सूर्य र मैनबत्तीझैँ अरूलाई उज्यालो दिने, आत्मालाई शुद्ध पार्ने, अस्तित्वलाई सार्थक बनाउने र सुन्दर वसन्त फुलाउने प्र्रेम होस् भन्ने प्रेमादर्श सजाइएको छ । ‘तिमी खास छौ’मा आफ्ना सपनाहरूलाई जीवन दिने खास वा विशिष्ट व्यक्ति तिमीलाई सदैव आत्मामा अभिन्न बनाएर राख्ने उच्च निष्ठापूर्ण अठोट छ । ‘पक्कै हजुरले भुल्नुभएको छैन’मा पहिलो स्पर्श, चुम्बन र साथले हृदयभरि पूजा गरिएको साँचो प्रेमलाई कसैले बिर्सन सक्तैन भन्ने परम प्रेमभाव तरलित छ । ‘ओसिलो चिठ्ठी’ आफ्ना प्रिय हजुरलाई पठाउन नसकिएको प्रेमपत्र हो । यसले नपठाइएको चिठीको प्रतिनिधित्व पनि गर्छ । यसमा हजुरविना जीवन अर्थहीन, आधारहीन, नीरस र दुर्बोध्य भएकाले हाम्रो प्रेम न्यानो हुन नसकी ज्यादै ओसिलो बनेर अनन्त प्यासमा मृत्युतुल्य छटपटीमा बाँचिरहेको छ भन्ने विप्रलम्भ अवस्थाको मर्मस्पर्शी भाव व्यक्त छ । ‘आमा–दिवस’ले महिला दिवस भनेको सबैले आफ्नै आमालाई सबैभन्दा बढी सम्मान गर्ने दिवसका रूपमा मनाउनुपर्छ तब मात्र साँचो अर्थमा महिलाको सम्मान गर्ने दिवसको खुसी प्राप्त हुन्छ भनेको छ । कविकी सङ्घर्षशील, प्रेरणादायी र वात्सल्यमयी आमाको महिमा गाई मातृभक्तिको उच्च दृष्टान्त प्रस्तुत गरिएको छ । 

समग्र कविताहरूमा कवि जुमनका विम्बहरूले भावविचार प्रकाशनको उत्कृष्ट शैलीको प्रतिनिधित्व गरेका केही नमुनाहरू तल प्रस्तुत छन् जसले जुमनको कविता यात्राको बहिर्गमनलाई उज्ज्वल सम्भावनासहितका भावी रूपरेखालाई देखाउँछन्-

प्रेमिल स्पन्दनको छटपटाहटमा 

लास बनेका संवेदनाहरू 

...

भविष्यको पेटको भूगोलमा झुन्डिएको छ जीवन

...

हेर्ने आँट गरौँ संसारलाई नयाँ दृष्टिले

चराहरूजस्तै

सीमाविहीन प्रेम बोकेर

उडौँ एक निलो आकाशमा

...

र, ढलाइदिन्छ —

उदाउँदै गरेको सूर्यलाई

अनि त्यै रगतको तारेभिरमा

भ्रष्टाचारको प्लटिङ गरी

खोक्रो आश्वासनको बिल्डिङ ठड्याइरहेछ

...

देशमा मधुकैटभहरूले 

पुनर्जन्म लिइरहँदा

तिम्रो आत्मा चन्द्रागिरिको डाँडामा

...

बिहानीको शीतले

सुमसुम्याएको एकएक पत्रमा

घामको चुम्बनले टल्किएका गुलाब

...

संसारले हेर्ने ऐना हुँ म

जहाँ सन्ध्या र बिहानमा

जन्मन्छन् भविष्यहरू

..

बादलजस्तै तैरिन्छन् विचारहरू आकाशमा

कथाहरू कोर्दै

...

के कविको आत्माले

अझै पनि छुट्याउन सक्छ —

एउटा पैदलयात्रीको सौन्दर्य ?

...

जहाँ दृढता फक्रिन्छ

प्रत्येक अगणित बाधाहरूसँगै

अग्निबाट एक फिनिक्सजस्तो

खरानीलाई शक्तिमा बदल्दै

...

तिमी हुनुको आभासले

मेरो चेतनाभरि एक मिठो तरङ्ग फैलाउँछ

त्यो तरङ्गले मेरो दिन मगमगाउँछ

...

घाउका डोबहरू हृदयमा 

झन्झन् घनीभूत भइरहेछन्

उस्तै गरी दुखिरहेछ

हृदयको क्यानभासभरि केवल उसकै तस्बिर

निष्कर्ष

जुमन किरण नेपाली साहित्यकी उदाउँदी तारा हुन् । उनका गजल र कविताका एक–एक सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् । ‘यादहरूको बहिर्गमन’ कृतिमा जुमनले बताए अनुसार उनका साहित्यिक रचनाहरू आफ्नी आमाका यादहरूको बहिर्गमन हुन् । कृतिलाई अवलोकन गरिसक्दा यादहरू भनेका आमाका, रचनाकारका, आफन्तजनका, समाजका, प्रकृतिका, पर्यावरणका, देशका, विश्वका बारेमा मनबाटै अनुभूत गरिएका स्मृतितुल्य भावानुभूति र विचारानुभूति हुन् भन्ने छर्लङ्ग हुन्छ । 

यिनै यादहरूको प्रकाशन गर्ने कार्यलाई कविले बहिर्गमन भनेकी छिन् । कवि जुमनका समग्र भावविचारका भित्री अनुभूतिहरूको प्रस्तुतीकरण र प्रकाशन नै यादहरूको बहिर्गमन बनेको छ । यसका छोटाछोटा आकारका कविताले अस्तित्ववादी जीवनका सकारात्मक मूल्य–मान्यतालाई, प्रेमका उज्ज्वल संवेगहरूलाई, समाज र राजनीतिका नकारात्मक तथा सकारात्मक रेखाहरूलाई व्यक्त गरेका छन् । यस्तै, मानव जातिका गौरवी सपना र राष्ट्रको नवनिर्माणका उच्च कामनाहरूलाई यी कविताले प्राकृतिक, सांस्कृतिक, प्राविधिक, ऐतिहासिक, मिथकीय आदि विम्ब र प्रतीकका माध्यमबाट व्यक्त गरेका छन् । यति हुँदाहुँदै पनि कवि जुमनले नेपाली कविताका क्षेत्रमा स्थापित हुन र मौलिक पहिचान निर्माण गर्नलाई अझै जीवन जगत्का सूक्ष्म, गम्भीर, प्रभावशाली अनुभूतिको स्थापत्य ठड्याउने भाषाशैली, संरचना र कौशलको विकास गर्ने प्रबल सामर्थ्य हासिल गर्नु आवश्यक देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. भरतकुमार भट्टराई
प्रा.डा. भरतकुमार भट्टराई
लेखकबाट थप