‘नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रेभिन्यु लिन सकिन्छ’
सारांश
- निजी मेडिकल कलेजका कोषाध्यक्षले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु आउने बताए ।
- सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारको लगानी र प्रभावकारिताको बारेमा ध्यान दिनुपर्ने बताइन् ।
- नेपाल मेडिकल काउन्सिलका अध्यक्षले नेपाललाई आवश्यक जनशक्ति उत्पादन गर्न र बाहिरबाट विद्यार्थी ल्याउन जोड दिए ।
काठमाडौँ । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउन सकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउन सके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताए । उनले अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्न सक्ने बताए । अझ दुई चरणमा अध्ययन गराउन सके फाइदा हुने उनको भनाइ छ । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उनको भनाइ छ । मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उनको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने समेत उनले बताए ।
उनले भने, ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल सेसन गरिदिनुपर्छ । संसारभर डबल सेसन पढाइन्छ । न्यूनतम पाँच हजार ल्याऔँ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रूपमा आर्थिक रूपमा पनि सबल हुन्छ । देशमा पनि आन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठुलो टेवा पुग्छ ।’
उनले भने- ‘थोरैमा पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउन सक्छौँ । पूर्वाधार राम्रो, गुणस्तरीय शिक्षाका कारण यहाँ मेडिकल विद्यार्थी आउने छन् । हाम्रो कोटा सिस्टम छ, त्यो खोलिदिनुपर्छ । हामीले कलेजमा अनलाइन एप्लिकेसन गर्नुपर्छ । टुरिजमबाट नेपालमा हुने रेभिन्यु भनेको गत वर्ष करिब ७५ अर्ब मात्रै हो । हामीले ५ हजार विद्यार्थी ल्याउने हो भने ५० अर्ब ल्याउन सक्छौँ । १० हजार विद्यार्थी ल्याउन सक्छौँ त्यो भनेको १ खर्ब हो ।’
नेकपा एमाले सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताइन् । उनले लगानी प्रभावकारी रूपबाट कार्यान्वयन गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले नेपालको चिकित्सा शिक्षामा कति लगानी गरेका छौँ ? हामीले गरेको लगानी कति प्रभावकारी छ । हाम्रो लगानी प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छ कि छैन ? अब हामी आगामी दिनमा यस्ता चिकित्सा शिक्षामा लगानी गर्ने क्रममा नेपाल सरकारले भूमिका कसरी बढाउने भन्ने हो । ’
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताए । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताए । उनले कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्ने कुरा प्राथमिकतामा पर्नुपर्ने बताए । यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्ने जरुरी रहेको समेत उनले बताए ।
उनले भने, ‘हाम्रो पोलिसीमा हामीलाई कति मेडिकल जनशक्ति चाहिने ? बाहिरबाट कसरी बढी विद्यार्थी ल्याउन सकिन्छ, त्यसलाई प्राथमिकता दिनुपर्छ । हामी बङ्गलादेश गएर पढिरहेका छौँ, किन जाने हामी ? किन रसिया, किन फिलिपिन्स जाने ? किन यहाँ पढ्न नपाउने ? त्यो कुरामा पनि राष्ट्रले एउटा नीति बनाउनुपर्छ । त्यत्तिकै एनओसी दिने पठाइदिने गरेर भएन । यहीँ रोक्ने व्यवस्था गर्नुपर्छ । कोटाअनुसार यहाँ ल्याउने व्यवस्था गर्नुपर्छ । मेडिकल कलेजहरू सित्तैमा खोलेर कसरी सस्टेन हुन्छन् ।’
अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण