आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सेमिफाइनल जितमा रोनीको एकै खेलमा दुईवटा १४७ को ब्रेक

शनिबार, ३१ साउन २०८२, ०७ : ५६
शनिबार, ३१ साउन २०८२

सारांश

  • रोनी ओ'सलिभनले साउदी अरेबिया मास्टर्सको सेमिफाइनलमा दुईवटा १४७ ब्रेक बनाएर इतिहास रचे।
  • ४९ वर्षका ओ'सलिभन स्नूकरमा अधिकतम ब्रेक गर्ने सबैभन्दा जेठा खेलाडी बने र १ लाख ४७ हजार पाउन्ड बोनस जिते।
  • ओ'सलिभनले फाइनलमा नील रोबर्टसनसँग प्रतिस्पर्धा गर्नेछन्।

जेद्दा । सात पटकका विश्व च्याम्पियन रोनी ओ’सलिभनले साउदी अरेबिया मास्टर्सको सेमिफाइनलमा क्रिस वेकलिनलाई ६–३ ले पराजित गर्दै एकै खेलमा दुईवटा १४७ ब्रेक बनाएर इतिहास रचेका छन्।

४९ वर्ष २५३ दिन उमेरका रोनी स्नूकरमा अधिकतम ब्रेक गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन्। उनले पहिलो फ्रेममै सात वर्षपछि आफ्नो करिअरको १६औँ ‘टोटल क्लियरन्स’ (१४७) बनाएका थिए। सातौँ फ्रेममा उनले पुनः १५ रेड–१५ ब्ल्याक र बाँकी कलर बलहरू छराउँदै दोस्रो १४७ पूरा गरे।

जेद्दामा उपस्थित दर्शक तथा उनका प्रतिद्वन्द्वी वेकलिन स्वयंले पनि रोनीको प्रदर्शनलाई सलाम गरे। वेकलिनले सामाजिक सञ्जालमा लेखे, ‘उनी महान खेलाडी हुन्। यो साँच्चिकै विशेष क्षण थियो।’

यस उपलब्धिसँगै रोनीले १ लाख ४७ हजार पाउन्ड बोनस समेत प्राप्त गरेका छन्। उनले साउदी मास्टर्ससहित स्नूकरका चार प्रमुख प्रतियोगिता (यूके च्याम्पियनसिप, मास्टर्स र विश्व च्याम्पियनसिप) मा दुईवटा १४७ बनाउन सफल भएका छन्।

सन् २०१८ को इङ्ग्लिस ओपनपछि यो उनको पहिलो प्रतिस्पर्धात्मक अधिकतम ब्रेक थियो। यसअघि एकै खेलमा दुईवटा १४७ बनाउन सफल खेलाडी वेल्सका ज्याक्सन पेज मात्र थिए।

‘क्लास अफ ९२’ का सदस्य रोनीको १७ वटा १४७ ब्रेक भएको छ, जुन दोस्रो स्थानमा रहेका जोन हिगिन्सको भन्दा चार बढी हो। अब रोनीले शनिबारको फाइनलमा नील रोबर्टसनसँग भिड्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप