आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बागमतीमा फुटबल एकेडेमी सञ्चालन हुने

शनिबार, ३१ साउन २०८२, २० : ०२
शनिबार, ३१ साउन २०८२

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले ‘बागमती फुटबल एकेडेमी’ सञ्चालनको तयारी थालेको छ ।

बागमती गाउँपालिकाको लगानीमा खेलाडी उत्पादनलाई ध्यानमा राख्दै गाउँपालिकाको लगानीमा एकेडेमी भवनसमेत निर्माण गरिएको छ । महलिा र पुरुष दुवैलाई समेट्ने गरी संरचना निर्माण गरेर एकेडेमी सञ्चालनको तयारी गरिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार दुवैतर्फका भवनको काम अन्तिम चरणमा छ । भनवमा केही प्राविधिक र व्यवस्थापनको काम बाँकी रहेको उनले बताए । 

गाउँपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता साथ अघि बढाएको उनले बताए । खेलकुद क्षेत्रको विकास र व्यावसायिक रूपमा खेलाडी तयार पार्ने पालिकाको लक्ष्य रहेको उनको भनाइ थियो । एकेडेमी सञ्चालनको प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीहरू छनोट गरिने पनि उनले बताए । 

गत बिहीबार प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले एक सूचना जारी गर्दै गाउँपालिकाले पुरुष तथा महिला दुवै उमेर समूहका खेलाडीहरूको छनोटका लागि उपस्थित हुन आग्रह गरेका थिए । खेलाडी छनोट कार्यक्रम भदौ १ गतेदेखि भदौ ६ गतेसम्म गाउँपालिकाका विभिन्न खेलमैदानमा हुने सूचनामा उल्लेख थियो ।

भदौ १ गते ४ नम्बरस्थित सहिद स्मृति खेल मैदानमा, २ गते वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा, ३ गते वडा नम्बर ८ स्थित खेल मैदान, ४ गते वडा नम्बर ७ स्थित लामिटार खेल मैदानमा, ५ गते वडा नम्बर ३ स्थित सहिद स्मृति खेल मैदान, ५ गते वडा नम्बर १ स्थित रामपुर खेल मैदानमा र ६ गते वडा नम्बर २ स्थित राईगाउँ खेल मैदानमा खेलाडी छनोट कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

गाउँपालिकाले इच्छुक खेलाडीहरुलाई फुटबल जुत्ता, ट्र्याक, हाफ प्यान्ट, टिसर्टसहित उपस्थित हुन भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप