हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
सारांश
- जी-७ को कार्यक्रममा उन्नत एआई मोडेलहरूको सुरक्षित प्रयोगका लागि वैश्विक प्रणालीको ढाँचाबारे छलफल भएको थियो।
- एआई प्रविधिबाट हुने फाइदामा संसारभरका मानिसको पहुँच सुनिश्चित गर्न र सुरक्षा चुनौती सम्बोधन गर्न मापदण्ड तय गरिनुपर्छ।
- अमेरिकी नेतृत्वमा अन्तर्राष्ट्रिय मञ्च स्थापना गरी एआईको सुरक्षा परीक्षण, मापदण्ड र नियम स्विकार्ने देश तथा कम्पनीहरूलाई प्रविधि उपलब्ध गराउन प्रस्ताव गरिएको छ।
दुई साता पहिले मैले विश्वका अगुवा लोकतान्त्रिक मुलुकका प्रमुखहरू तथा एआई कम्पनीका मेरा समकक्षीहरूसँग छलफल गरेको थिएँ । छलफलको संयोग फ्रान्समा भएको ‘जी–७’ को कार्यक्रमले गर्दा जुरेको थियो ।
त्यहाँ हामीले उन्नत स्तरका कृत्रिम बौद्धिकता अर्थात ‘एआई’ मोडेलहरूको व्यवस्थित र सुरक्षित प्रयोगका लागि चाहिने वैश्विक प्रणालीको ढाँचाको आवश्यकताबारे चर्चा ग¥यौँ । यस अन्तर्गत एआईको सुरक्षा परीक्षण तथा सञ्चालनका मापदण्ड पर्छन् । साथै एआई प्रविधिबाट हुने फाइदामा संसारभरका मानिसको पहुँच कसरी पु¥याउन सकिन्छ भन्नेबारे पनि कुराकानी ग¥यौँ ।
आजका दिनमा यस्तो कुराकानीको महत्त्व झनै बढेर गएको छ । एआईले हाम्रा अगाडि तेर्स्याएका वास्तविक सुरक्षा चुनौतीहरूलाई सम्बोधन नगर्ने हो भने विश्वले एआईको फाइदा लिन पनि सक्दैन । अब व्यापक रूपमा वितरण गर्नु अघि हामीले सुरक्षा मापदण्डहरू तय गर्नु अनिवार्य पूर्वशर्त जस्तै बनिसकेको छ ।
आजका दिनमा ‘आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स’ अर्थात ‘एजीआई’ बनाउने अभियानमा लागेका सबै कम्पनीका लागि सुरक्षाबारेको यही समस्या समाधान गर्नु नै मुख्य अभिभारा बनेको अवस्था छ ।
यसै सन्दर्भलाई लिएर म सरल प्रकारको ढाँचा प्रस्ताव गर्न चाहन्छु, जस अनुसार हामी अमेरिकी नेतृत्वमा एउटा अन्तर्राष्ट्रिय मञ्च बनाऔँ । जसले स्वीकृत मापदण्डहरू, आवश्यक विज्ञहरू तथा क्षमता र जोखिमबारे निष्पक्ष विश्लेषण पनि उपलब्ध गराउन सकोस् । साथै सो मापदण्ड र नियम स्विकार्ने देश तथा कम्पनीहरूका लागि प्रविधिसमेत उपलब्ध गराओस् ।
त्यस्तो मञ्चमा सरकारी प्रतिनिधिहरू, स्वतन्त्र प्राविधिक विशेषज्ञहरू एवं अन्य आवश्यक व्यक्तिहरू रहन सक्छन् । त्यसले प्रयोगशालाहरू सञ्चालन तथा प्रयोगको संयन्त्र पनि उपलब्ध गराउनेछ । साथै एआईको विकासलाई असुरक्षित प्रतिस्पर्धातर्फ लैजान सक्ने व्यवसायिक दबाबबाट समेत बचाउनेछ ।
त्यस्तो मञ्चमा आबद्ध मुलुकहरू, जनता एवं व्यापारीहरूले पछिल्लो उन्नत प्रविधिमा पहुँच पाउनेछन् । साथै हामीले सबैलाई सुरक्षित राख्नका लागि सिङ्गो विश्वले निर्धारित मापदण्ड लागु गर्ने सुनिश्चितता पनि खोज्नुपर्छ । एआईको दुरुपयोग गर्ने जोसुकैले पनि धेरै ठुलो क्षति पु¥याउन सक्छ ।
मेरो कल्पनामा एउटा यस्तो प्रणालीको ढाँचा छ, जसमा मुलुकहरू सदस्य बन्न सक्छन् । सदस्य बन्दै गर्दा उनीहरू अन्तर्राष्ट्रिय मञ्चले तय गरेका नियमहरू मान्न तयार हुन्छन् । साथै त्यसरी सदस्य बनेका मुलुकमा रहेका कम्पनीहरू नियमित रूपमा प्रमाणीकरण भइरहन्छन् ।
प्रमाणीकरण भए पश्चात उनीहरूले सहज तथा भरपर्दो रूपमा उन्नत एआई प्रणालीमा पहुँच पाउने सुनिश्चित हुन्छ । यस्तो खालको अन्तर्राष्ट्रिय सहकार्यले एकै ठाउँमा शक्ति केन्द्रिकृत हुनबाट रोक्न सक्छ । साथै एआईका फाइदाहरूको लोकतन्त्रीकरण पनि सुनिश्चित गर्छ ।
हामीले विज्ञान कथा ठान्ने गरेका जस्ता एआई सम्बन्धी प्रणालीहरू अहिले नै विश्वका धेरै मुलुक तथा व्यवसायहरूले वास्तविक जीवनमै लागु गराइरहेका छन् । एआईको आर्थिक मूल्य, राष्ट्रिय सुरक्षाको क्षेत्रमा महत्त्व तथा वैज्ञानिक अविष्कारलाई गति दिने क्षमताबारे पनि थप प्रस्ट हुँदै गएको छ ।
अबको एक वा दुई वर्षमा हामीले आश्चर्यजनक शक्तिसहितको प्रणाली बनाउने आशा छ । जसले विश्वलाई असाध्यै धेरै मूल्य उपलब्ध गराउने क्षमता राख्नेवाला छ । एआईले अब मानव जीवनको भौतिक अवस्थालाई यस्तो स्तरमा प्रभाव पार्दैछ, जुन विद्युत् उत्पादनको सुरुवात यता कुनै प्रविधिले पनि गरेका थिएनन् । सम्भवतः त्यो भन्दा ठुलो स्तरमा प्रभाव पार्न सक्छ ।
पृथ्वीका हरेक व्यक्तिले यो प्रविधिबाट फाइदा लिन पाउनुपर्छ । साथै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने पनि तय गर्न पाउनुपर्छ । यस्तो प्रयोग उनीहरूको समाजको आर्थिक क्षेत्रमा मात्रै नभएर थप व्यक्तिगत स्वतन्त्रता प्रविधिको सिर्जनात्मक प्रयोगमार्फत आफ्नो भविष्य कस्तो हुने भन्ने रोज्ने कुरामा समेत हुनुपर्छ ।
तर वैश्विक सुरक्षा मापदण्डहरू स्थापित नभएको अवस्थामा भने देशहरूले आफ्नै तरिकाले एआई प्रतिबन्ध लगायत अन्य तरिका अपनाउनु मात्रै विकल्प हुन जान्छ ।
वैश्विक मापदण्डबारे हामीसँग यस अघिका केही नजिर पनि छन् । हवाई सुरक्षा, वैश्विक वित्तीय मापदण्ड तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीमार्फत आणविक ऊर्जाको व्यवस्थापन लगायत त्यसका ज्वलन्त उदाहरण हुन् । अन्तर्राष्ट्रिय रूपमा सघन तनाव चलेको समयमा पनि यस्ता सहकार्य सम्भव भएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको स्थापना शीतयुद्धको सुरुवाततिरै भएको थियो ।
‘जी–७’ को बैठकबाट निस्केको यस्तो अवधारणा अर्थपूर्ण र सशक्त देखिन्छ । अहिलेका लागि त्यहाँ सहभागी देशहरूबाटै सुरु गर्नु पनि धेरै राम्रो हुनसक्छ । यो आफैँमा एउटा उत्कृष्ट सुरुवात हुनसक्छ ।
कुनै हालतमा पनि लोकतान्त्रिक संस्थाहरूले आफ्नो दायित्व एआईका प्रयोगशालाहरूलाई सुम्पिनु हुँदैन । प्रयोगशालाले प्रविधिको विकास गर्छन्, तर नियम भने नागरिकहरू एवं उनीहरूका निर्वाचित प्रतिनिधिले नै बनाउने हो ।
प्रयोगशालामा बनेको प्रविधिको प्रयोग कसरी गर्ने भन्नेबारेको महत्त्वपूर्ण निर्णय लोकतान्त्रिक प्रक्रियाबाटै गर्नुपर्छ । सन फ्रान्सिस्कोमा रहेका थोरै सङ्ख्याका कम्पनीहरूले गर्ने होइन ।
अहिले हाम्रा अगाडि असाध्यै व्यापक तथा अझै भर्खर रहस्य खुल्दै गरेको आश्चर्यजनक प्रविधि छ । जसले मान्छेहरूको रोग ठिक गर्न सक्छ, उपचारका तरिका पत्ता लगाउन सक्छ, विश्वले अहिलेसम्म नदेखेको प्रचुरता उपलब्ध गराउने क्षमता राख्छ ।
त्यस्तो प्रविधिलाई विश्वासिलो र भरपर्दो बनाउनका लागि हामीलाई एउटा यस्तो तरिका चाहिएको छ, जसमार्फत हामी सबैले त्यो प्रविधिका फाइदाहरू आपसमा बाँड्न सकौँ ।
(लेखक ‘च्याटजीपीटी’ को सञ्चालक कम्पनी ‘ओपेनएआई’का सहसंस्थापक तथा प्रमुख कार्यकारी हुन् ।)
(फाइनासियल टाइम्सबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण