शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नेतृत्वका लागि ओलीले बोलाउँदा पनि तर्किन्छन् युवा

युवा नेता भन्छन्– अहिले ओलीको विकल्प छैन
बुधबार, ०४ भदौ २०८२, १९ : ००
बुधबार, ०४ भदौ २०८२

काठमाडौँ । नेकपा एमालेमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका सन्दर्भमा बेलाबखत बहस हुने गर्दछ । एउटै व्यक्ति अनिश्चितकालसम्म नेतृत्वमा रहन नपाओस् भनेर विधानमै ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था गरिए पनि ती व्यवस्थालाई निलम्बन गर्दै एमालेमा नेतृत्व परिवर्तनको ढोका साँघुरो बनाइएको छ ।

यद्यपि पार्टी अध्यक्ष केपी शर्मा ओली भने आफू युवालाई नेतृत्व सुम्पिन तयार रहेको बताउँछन् । मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा उनले भने, ‘म त छोड्न तयार नै छु नि ! युवाहरू तयार हुनुपर्‍यो । म इन्करेज गर्न चाहन्छु युथहरूलाई ।’

ओलीको यो भनाइबाट युवाहरू नेतृत्व गर्न तयार र सक्षम नभएकै कारण उनले पार्टी र सरकार हाँक्नुपर्ने बाध्यता आइलागेको भन्ने बुझ्न कठिन छैन ।

उनै ओली कुनैबेला आफूविनाको एमाले कल्पना नगर्दा हुन्छ भनेर अभिव्यक्ति दिन्छन् । गत वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु ।’

नेतृत्वमा आकाङ्क्षा राख्नेहरूलाई ओलीले विना प्रसङ्ग नै जबाफ दिएका थिए, ‘कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’

आफैँले यसो भनेको चार महिनापछि आफ्नै भनाइलाई खण्डित हुने गरी फेरि ओलीले भने, ‘म त छोड्न तयारै छु, तर युवाहरू तयार हुनुपर्‍यो नि !’

हुन पनि उनले भनेजस्तो एमालेका युवाहरू ओलीको विकल्प देख्दैनन् । देख्नेहरू बोल्दैनन् । बरु ओलीको विकल्पमा विद्या भण्डारी अघि सर्न खोज्दा मात्रै पनि विधानबाटै बाटो बन्द गर्ने काम उनै ओलीको अग्रसरतामा भएको परिदृश्य ताजा नै छ ।

चार वर्ष अघि दशौँ राष्ट्रिय महाधिवेशनमा भीम रावल र घनश्याम भुसालहरू ओलीसँग प्रतिस्पर्धा गरेकै कारण पार्टी छाड्न बाध्य भएको घटनाले पनि कतिपयलाई झस्काइरहेकै हुनुपर्छ । त्यही बुझेर होला, ओलीको विकल्प देख्दैनन् युवा पुस्ताका भन्ने नेताहरू पनि ।

  • साढे ६ लाख नै अयोग्य ?

हाल नेकपा एमालेका सङ्गठित सदस्य मात्रै साढे ६ लाख आसपास छन् । अघिल्लो वर्ष साढे पाँच लाख सङ्गठित सदस्यको अभिलेख राखेको एमालेले यो वर्षको अद्यावधिक गर्दा एक लाख बढेर साढे ६ लाख हुने आकलन गरेको छ । सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी अहिलेको ठ्याक्कै तथ्याङ्क नभए पनि साढे ६ लाख हाराहारी एमालेका सङ्गठित सदस्य रहेको बताउँछन् । तर यति धेरै कार्यकर्ता र धेरै युवासमेत रहेको भनिएको पार्टीमा कोही पनि नेतृत्व लिन तयार नभएका हुन् त ? यो प्रश्नको जबाफ एमाले नेता–कार्यकर्ताहरूले नै दिनुपर्ने हुन्छ ।

त्यसो त दुई वर्ष अघि नै पार्टीका सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा तोकेको थियो ।

२०८० साउन ३० गते बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टीका प्रदेशदेखि टोल कमिटीसम्म युवाको न्यूनतम प्रतिशत तोकेर मातहत कमिटीमा पठाउने निर्णय गर्दै सोही अनुसार प्रदेश अधिवेशनहरूबाट ४० वर्षमुनिका कम्तीमा १० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व गराएको दाबी गरेको छ । त्यस्तै, जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत, पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा एक तिहाइ ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गरेको एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले आफू पद छोड्न तयार रहेको तर युवा पुस्ता तयार नभएको बताएपछि हामीले एमालेका केही युवा नेतालाई ‘के नेतृत्व सम्हाल्न एमालेको युवा पुस्ता तयार भई नसकेको हो ?’ भनेर सोधेका छौँ ।

  • युवा नेता भन्छन्– हाम्रो भरोसा नै ओली

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेत युवाहरू तयार नभएको भन्दा पनि ओलीकै आवश्यकता महसुस गरिएको बताउँछन् । ‘समकालीन नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीमा जुन खालको राष्ट्रिय–अन्तर्राष्ट्रिय अडान लिएर सम्बन्ध विकास र कायम गर्ने क्षमता छ’, बस्नेतले भने, ‘उहाँकै नेतृत्वमा बहुमतवाला पार्टी बनाएर कमसे कम एक कार्यकाल बलियो सरकारको नेतृत्व र पार्टी अध्यक्ष बन्नुपर्छ भन्ने हो ।’

बस्नेतले पुँजीवादी र पपुलिस्ट पार्टीमा जस्तो कम्युनिस्ट पार्टीमा नहुने पनि बताए । ‘पपुलिस्ट पार्टीमा रवि लामिछाने नै प्रधानमन्त्री भएर चमत्कार गर्नुपर्छ भन्ने छ भने पुँजीवादी पार्टीमा गगन थापा नै प्रधानमन्त्री र पार्टी सभापति हुनुपर्छ भन्ने छ तर कम्युनिस्ट पार्टीमा संस्थागत संरचनाभित्र कुनै पनि नेताले नेतृत्व गर्ने भन्ने हो’, बस्नेतले भने ।

आफूहरूमध्ये कोही प्रधानमन्त्री नभए पनि केपी ओलीको नेतृत्वमा देश बन्छ भन्ने मान्यता आफूहरूले राखेको बस्नेतको भनाइ छ । उनले भने, ‘त्यसकारण हामीले पद नपाउँदा पनि आफैँले आफैँलाई प्रधानमन्त्री ठानेर सहयोग गर्ने हो ।’

बस्नेतले संसारभरको अभ्यासभन्दा यहाँ फरक नहुने पनि बताए । ‘जो बाइडेनदेखि डोनाल्ड ट्रम्प, सी र मोदी नेतृत्वका पार्टीले पनि विकल्प खोजेका छैनन्’, उदाहरण दिँदै उनले भने, ‘हिजो पाँचौँ महाधिवेशनमा मनमोहन अधिकारी रहँदा मदन भण्डारीको क्षमतालाई बुझेर महासचिव पनि बनाएकै हो ।’

नेता बस्नेतले हाल एमाले पदाधिकारीमा रहेका नेताहरू ६० वर्ष कटिसकेको भन्दै उनीहरूलाई युवा भन्ने कि नभन्ने भनेर प्रश्नसमेत गरे । ‘शंकर पोखरेल, योगेश भट्टराई वा गोकर्ण विष्ट लगायतका नेता पनि ६० माथि पुग्नुभयो’, बस्नेतले भने, ‘हाम्रो युवा पोलिसीले व्याख्या गरेको १६ देखि ४० वर्ष उमेर समूह हो । ४० वर्षमुनिका युवा नेपालमा अहिले नै प्रधानमन्त्री हुने भन्ने सायद कुनै पनि पार्टीमा देखिँदैन ।’

उनले अहिले पनि दोस्रो, तेस्रो मर्यादामा भएका ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले त आफैँले आँट नगरेर विद्या भण्डारीलाई अघि सार्न खोजेको टिप्पणीसमेत गरे ।

अर्का युवा नेता तथा एमाले केन्द्रीय सदस्य रमेश पौडेलको भनाइ पनि बस्नेतको भन्दा फरक छैन । ‘एमालेमा युवाहरूको तरेली तरेली नै छ । एमालेका युवाहरू तयार छैनन् र योग्य छैनन् भन्ने होइन, तर अहिलेको आवश्यकता केपी ओली नै हो भन्ने ठहर हो’, पौडेलले भने, ‘एमालेभित्र युवाहरू तयार छैनन् भन्ने होइन, प्रशस्त युवा तयार छन् । धेरै त्यस्ता युवा छन्, जसलाई जिम्मा दिँदा जिम्मेवारी पूरा गर्न सक्छन्, तर उपयुक्त समय आउनुपर्छ । समय नआइ तयार हुँदैनन् ।’

पौडेलले ओलीकै आवश्यकता औँल्याउँदै भने, ‘उहाँको विकल्प खोज्ने बेला भएको छैन । युवाहरूभन्दा ज्यादा सक्रिय उहाँ नै भइरहनुभएको छ । उमेरले मात्र पनि युवा निर्धारण गर्दैन ।’ नेतृत्वप्रति युवाहरूको भरोसा भएकै कारण विकल्प नखोजिएको उनको दावी छ ।

अर्का केन्द्रीय सदस्य निरज आचार्य अध्यक्ष ओलीले युवा तयार भएनन् भनेर मनभित्रैबाट बोलेको र त्यो यथार्थ रहेको बताउँछन् । ‘अध्यक्षले भनेको कुरा मनदेखिकै हो । युवा पुस्ता पार्टीको नेतृत्व म गर्छु भनेर विचार, सङ्गठन, व्यवस्थापन र एजेण्डासहित विकल्प दिनेगरी कोही पनि खडा भएनन्’, आचार्यले भने, ‘त्यसरी खडा भएको भए उहाँ हस्तान्तरण गर्ने मुडमै हुनुहुन्थ्यो ।’

आचार्यले विकल्प दिने भनेको हालका १९ जना पदाधिकारीबाटै हुने भन्दै त्यहाँभित्रबाट विकल्पका साथ कोही नआएको दाबी गरे ।

अर्का एक एमाले केन्द्रीय सदस्य नेतृत्वले मादल बजाउँदा त्यही तालमा नाच्ने युवामात्र आगामी नेतृत्वका लागि खोजेकाले त्यो हैसियतका युवा अघि बढ्न नसकेको बताए । उनले भने, ‘एउटा वडाध्यक्ष हुन समेत सोच्नुपर्ने अवस्था छ । एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीलाई भोट हाल्नुपर्ने करप्टेड अवस्था भएकाले युवाहरूमा जाँगर मर्दै गएको छ ।’

  • विश्लेषक भन्छन्– ओलीको हावा कुरा

राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्न तयार छु तर युवाहरू तयार भएनन् भनेर ‘हावा’ कुरा गरेको विश्लेषण गर्छन् ।

‘उहाँका कुरामा पछिलागेर साध्य नै छैन । उहाँ कहिले के बोल्नुहुन्छ, के बोल्नुहुन्न भनेर सुन्नु नै बेकार ठान्छु म’, पोखरेलले रातोपाटीसँग भने, ‘ओलीले म छाड्न तयार छु तर युवा नै तयार भएनन् भनेर भन्नका लागि भनेको मात्र हो ।’,

पोखरेलले नेतृत्व छाड्न तयार भनेर ओलीले दिएको अभिव्यक्ति अस्पष्ट रहेको तर्क गरे । उनले भने, ‘कसलाई छाड्छु भनेर नाम भन्नुपर्दैन ? हो भने फलानालाई भनेको, तर तयार भएन भन्न सक्नुपर्छ ।’

पोखरेलले युवा तयार नभएर होइन, ओली आफैँ नेतृत्वमा रहन चाहेर यो अवस्था आएको दाबी गरे । ‘उहाँ गम्भीर भए छोडिहाल्नुहुन्थ्यो । कहिले मेरा जुँगा काला हुँदै आए भन्ने, कहिले अझै २० वर्ष छोड्दिनँ भनेपछि युवाहरूमा जोस मर्नु स्वाभाविक हो’, पोखरेलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप