चिनियाँ कम्पनी एभरग्रान्डे सेयर बजारबाट आउट
सारांश
- एभरग्रान्डे कम्पनी हङकङको शेयर बजारबाट सूचीकरणबाट हटेको छ, जुन चीनको ठूलो प्रोपर्टी कम्पनी थियो।
- ठूलो ऋण र लगानीले गर्दा एभरग्रान्डे धराशायी भयो, जसले चीनको अर्थतन्त्रमा असर गर्यो।
- कम्पनीका संस्थापक हुई का यानलाई जरिवाना र पूँजी बजारमा प्रतिबन्ध लगाइयो, र उनको सम्पत्तिमा ठूलो गिरावट आयो।
बेइजिङ । चीनको डेभलपर कम्पनी एभरग्रान्डे सेयर बजार सूचीकरणबाट हटेको छ । कारोबार सुरु भएको डेढ दशकभन्दा लामो समयपछि हङकङको शेयर बजारबाट कम्पनीको शेयरलाई सूचीकरणबाट हटाइएको हो । कुनै समय यो कम्पनी चीनको सबैभन्दा ठुलो प्रोपर्टी कम्पनी थियो । यसको शेयर पुँजीकरण ५० अर्ब डलरभन्दा माथिसम्म उक्लिएको थियो ।
कम्पनीले ठुलो मात्रामा कर्जा उठाएर प्रोपर्टी बजारमा लगानी गरिरहेको थियो । तर, एउटा समय यस्तो आयो कम्पनीले यो भारी थेग्नै सकेन र एभरग्रान्डे अचानक धराशायी भयो ।
कम्पनीको नियतिमा डिलिष्टिङ ‘टार्नै नसकिने’ र ‘अन्तिम’ चरण रहेको विज्ञहरू भन्छन् । ‘एक पटक सूचीकरणबाट हटेपछि फर्केर आउने कुनै सम्भावना छैन,’ अनुसन्धानधाता कम्पनी यूरोशिया ग्रुपका चीन निर्देशन दान वाङले भने । एभरग्रान्डेको पतनपछि चीनको घरजग्गा बजार यसरी धरमरायो कि यसले सारा अर्थतन्त्रलाई नै तरङ्गित पारिदियो ।
केही वर्ष अघिसम्म पनि एभरग्रान्डे चीनको आर्थिक चमत्कारको चम्किलो उदाहरणका रूपमा रहेको थियो । यसका संस्थापक तथा अध्यक्ष हुई का यान फोर्ब्सको २०१७ को सबैभन्दा धनी व्यक्तिको सूचीमा परेका थिए । २०१७ मा उनको सम्पत्ति ४५ अर्ब डलर थियो । अहिले यो घटेर १ अर्ब डलरभन्दा तल झरेको छ ।
२०२४ को मार्चमा कम्पनीको आम्दानी ७८ अर्ब बढी देखाएको मामिलामा हुईलाई ६५ लाख डलर जरिवाना तिराइएको थियो भने उनलाई चीनको पूँजी बजारमा जीवनभरका लागि प्रतिबन्ध लगाइएको थियो । कम्पनी धराशायी हुनुअघि चीनका २८० सहरमा कम्पनीले १ हजार ३०० परियोजनामा काम गरिरहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण