एमाले दोस्रो विधान महाधिवेशन : बेहुलीझैँ सिँगारियो, गोदावरी नै झकिझकाउ
सारांश
- ललितपुर गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी पूरा भएको छ, जहाँ विभिन्न स्वागतद्वारहरू निर्माण गरिएका छन्।
- महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र पाहुनाका लागि डिजिटल प्रविधिमा आधारित व्यवस्था मिलाइएको छ, जसले विशेष आकर्षण थपेको छ।
- महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत हुनेछन्, जसमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, र संगठनात्मक प्रतिवेदन समावेश छन्।
काठमाडौँ । पर्यटकीयस्थल ललितपुर गोदावरी । सातदोबाटोदेखि १० किलोमिटर गोदावरी जाने बाटोदेखि १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण भएका छन् ।
दायाँबायाँ बिजुलीका खम्बामा नेकपा एमालेको हँसिया हथौडा र चुनाव चिह्न सूर्य ध्वजावाहक झन्डाले सिँगारिएका छन् । जसले गोदावरीको आकर्षण थप बढाएको छ ।
यी झकिझकाउको तयारी शुक्रबारदेखि तीन दिनसम्म चल्ने एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र पाहुनाहरूका लागि तयार पारिएका हन् । एमालेले आयोजना गर्ने सम्मेलन, महाधिवेशनलगायत जुनसुकै आयोजनाका मञ्च, स्वागतद्वार, लोगो आफैमा सधैँ चर्चाको विषय बन्छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने दोस्रो विधान महाधिवेशनस्थल गोदावरी सनराइज सभाहललाई बेहुलीझैँ सिँगारिएको छ । हलतिर जाने बाटोदेखि कलात्मक स्वागतद्वार निर्माण गरिएका छन् ।
सातदोबाटोदेखि तपाईं गोदावरीतिर जाँदै हुनुहुन्छ भने छुट्टै अनुभव गर्नुहुनेछ । तपाईं महाधिवेशन सभाहलसम्म पुग्दा नवीन प्रकारको ‘मार्क्सिजम् डिजिटल वर्ल्ड’मा छिरेको अनुभव गर्नुहुनेछ । पार्टीको पाँचौँ महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सभा हललाई पूरै डिजिटल सिस्टममा जोड्दै छन् । ‘पाँचौँ महाधिवेशनमा बजाएको सिठ्ठी अझै छ । त्यही सिठ्ठी फुकेर मञ्च बनाइरहेको छु,’ मञ्च व्यवस्थापन संयोजक श्रेष्ठले भने ।
सभा हलको सिट संख्या २८ सय ४० छ । हलभित्र छिर्ने ४ वटा प्रवेशद्वार छन् । पहिलो द्वारबाट भीभीआईपी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नेछन् । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् । त्यहीँदेखि ‘मार्क्सिजम् डिजिटल’ वर्ल्डमा प्रवेश गर्न सकिनेछ । महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकको पचियपत्रलाई कम्प्युटरले पढेपछि अर्थात् स्क्यान गरेर मात्रै भित्र छिर्न पाइनेछ । त्यहीँबाट ‘एमाले डिजिटल वर्ल्ड’मा प्रवेश गर्न सकिनेछ ।
परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटर बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरूले प्रवेश पाउनेछन् । मूल द्वारबाट प्रवेश गर्नासाथ हलको छतबाट पार्टी र चुनाव चिह्न सूर्यअंकित झण्डा लहरै फहराएका देखिनेछ ।
अन्तिम प्रवेशद्वारबाट क्याटरिङ्गका लागि खाद्यान्न, खानेपानी ढुवानीका लागि खुला गरिएको छ । दोस्रो र तेस्रो प्रवेशद्वारबाट महाधिवेशन हल छिर्दासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ । हलको भित्तामा महाधिवेशनको लोगो, पार्टी र अंग्रेजीमा ‘सीपीएन यूएमएल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको देखिनेछ ।
बायाँतिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमार्क्स, एङ्गेल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ ।
हलभित्र २२ सय स्क्वायर फिट डिजिटल बोर्ड राखिएको छ ।
सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ । पूर्ण वाइफाइ जोनसहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन, हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ । त्यहीँबाट स्वयंसेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्था मिलाउनेछन् । हलको बाहिर ६ वटा कार्डस्कान बुथको व्यवस्था गरिएको छ । डिजिटल बोर्डमा महाधिवेशनको ब्यानर हुनेछ । मञ्चमा १८ जना पदाधिकारीहरू मात्रै बस्नेछन् ।
मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नेछन् । अन्य पदाधिकारीहरू पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।
उद्घाटन कसरी गर्ने ?
यसको डिजिटल कन्सेप्ट अझै टुंगो लागेको छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यक्रम उद्घाटन गर्नेछन् । तर परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्यजस्ता कार्यक्रम रहने छैनन् । उद्घाटनको काम १२ मिनेटभित्र सकिने छ । उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ । उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउनेछन् । जसको लाइभ भित्र हलमा पनि गरिने छ । झाँकीहरू हल बाहिर नै प्रदर्शनको व्यवस्था गरिएको छ ।
१२ मिनेटको धुन सक्किएपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन पेस हुनेछन् ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
उद्घाटनसँगै बन्दसत्र एकै साथ सुरु हुने भएकाले दिउँसो १ बजेतिर चिया/खाजाका लागि १ घन्टा ब्रेक हुनेछ ।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहनेछन् । स्वयंसेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ । आवासको व्यवस्था नगरिएकाले साँझा साढे ५ बजेभित्र प्रतिवेदन वाचन गरेर पहिलो दिनको कार्यक्रम सकिने छ ।
२१ गते सबै प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि छतमा ४, हल प्रवेश छेउमा २, हलभित्र २ र बाहिर क्याटरिङ स्थलमा २ वटा समूह छलफलका लागि व्यवस्था मिलाइएको छ ।
सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरूमा स्वागत गेटहरू निर्माणलगायत आवश्यक सबै काम पूरा भएको पार्टीका ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण