बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

शनिबार, २१ भदौ २०८२, १५ : ४३
शनिबार, २१ भदौ २०८२

सारांश

  • यस वर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाजलाई प्रदान गरिएको छ।
  • पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रदान गरेका थिए र पुरस्कारको राशि रु दुई लाख रहेको छ।
  • बुढानीलकण्ठ, नुवाकोट, चितवन र ललितपुरका विभिन्न सामाजिक संस्थाहरूलाई पनि जनही रु एक लाख पुरस्कार प्रदान गरियो।

काठमाडौँ । यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरिएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजका संस्थापक सुमित्रा चौलागाई (सुमी मानव) लाई पुरस्कार प्रदान गरे ।

उक्त पुरस्कारको राशि रु दुई लाख रहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत उक्त पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ । 

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–४ डाँडागाउँमा रहेको श्री अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको विदुर नगरपालिका–७ देवीघाटस्थित श्री देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, चितवनको रत्ननगरपालिका–११ मङ्गलपुरस्थित गामवेसीको चेपाङ संरक्षण केन्द्र र ललितपुरको ललितपुर महानगरपालिका–२५ नख्खुस्थित श्री तुलसी फाउण्डेशन (तुलसालय आश्रम) लाई जनही रु एक लाख राशिको पुरस्कार प्रदान गरियो । 

सो अवसरमा शिक्षा तथा सीप विकासको अवसर प्रदान गर्नमा सामाजिक संस्थाको योगदानका शोधकर्ता पूर्वसहसचिव गेहनाथ गौतमद्वारा लिखित ‘सामाजिक सेवा प्रचनमाला–८’ लोकार्पण गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व चौलागाईले बेसहरा नागरिकलाई जीवनयापनमा सहजीकरण गर्न समाज क्रियाशील रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप