बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?

बुधबार, २४ असार २०८३, १९ : ३३
बुधबार, २४ असार २०८३

के अझै फ्रान्स नै प्रबल दाबेदार हो ? सायद हो । प्रतियोगिता सुरु हुनुअघि पनि धेरैको रोजाइ फ्रान्स नै थियो र अहिले पनि परिवर्तन भएको छैन । किनकि फ्रान्सको टोली नै सशक्त छ । उनीहरूलाई हराउन विपक्षीले असाधारण खेल खेल्नुपर्नेछ । फ्रान्सको शक्तिबारे लेखक तथा पत्रकार स्टुअर्ट जेम्स भन्छन्, ‘सोमबार स्पेन–पोर्चुगल खेल हेर्दा मलाई फ्रान्सको आक्रमण कति खतरनाक छ भन्ने झन् स्पष्ट भयो । एम्बाप्पे, डेम्बेले र ओलिसेजस्ता खेलाडीहरूले फ्रान्सलाई अरू सबैभन्दा अलग बनाउँछन् ।’ 

कहाँ छ त फ्रान्सको कमजोरी ? विज्ञका अनुसार, यदि स्पेनले फ्रान्सको दायाँ भागमा कमजोरी खोज्न सक्यो, रोड्रीले माइकल ओलिसेलाई नियन्त्रण गर्दै बलमा प्रभुत्व जमायो भने स्पेनले फ्रान्सलाई हराउन सक्छ । त्यसो त मोरक्कोले उत्कृष्ट दिनमा फ्रान्सलाई पेनाल्टीसम्म लैजान सक्छ । जे भने पनि फ्रान्सको सबैभन्दा कठिन परीक्षा स्पेन हुनेछ । त्यो सेमिफाइनल लगभग बराबरीको हुनेछ । त्यस खेलको विजेताले नै विश्वकप जित्ने सम्भावना बढी देखिन्छ । 

फुटबल लेखक तथा पत्रकार अस्टिन ग्रीन भन्छिन्, ‘प्रतियोगिता सुरु हुनुअघि पनि म स्पेन र फ्रान्सबिच अलमलमा थिएँ, अहिले पनि छु । मेरो विचारमा स्पेन–फ्रान्स सेमिफाइनलको विजेताले नै विश्वकप जित्नेछ ।’
अहिले धेरैको ध्यान स्पेनले तान्दै छ । क्वार्टरफाइनलसम्म एक गोल पनि नखानु अविश्वसनीय उपलब्धि हो । बेल्जियमविरुद्ध पनि उनीहरूले क्लिनसिट राख्न सक्छन् । स्पेन फ्रान्सको सबैभन्दा ठुलो चुनौती हो । तर फ्रान्सले कठिन रक्षात्मक टोलीहरूसँग खेलिसकेको छ, जसले अब एमबाप्पे, ओलिसे र डेम्बेलेलाई अझ खुला अवसर दिनेछ । फ्रान्ससँग हरेक समस्याको समाधान छ । 

त्यसैगरी फुटबल पत्रकार, ग्रेग ओ’कीफ भन्छन्, ‘अहिलेसम्म फ्रान्स उपाधिको सबैभन्दा ठुलो दाबेदार नै देखिएको छ । स्पेनले अझ स्तर उकास्न सक्छ, तर फ्रान्ससँग पनि अझै धेरै सम्भावना बाँकी छ । एम्बाप्पेले पनि लगातार आफ्नो स्तर देखाइरहेका छन् ।’ 

स्पेनले चुनौती दिन सक्छ, तर फ्रान्ससँग त्यसलाई पार गर्ने क्षमता छ । यद्यपि, लामिन यामाल र निको विलियम्स पूर्ण फिट नभएकाले स्पेनको आक्रमण केही फिक्का देखिएको छ । अर्कोतर्फ, इंग्ल्यान्डका सेन्टर–ब्याकहरू हालान्डविरुद्ध कमजोर देखिन सक्छन् । तर फ्रान्सलाई रोक्न भने असाधारण प्रदर्शन चाहिन्छ । 

अर्का लेखक फेलिपे कार्डेनासका अनुसार, ‘फ्रान्सले स्पष्ट कमजोरी नदेखाएसम्म उनीहरू नै उपाधिका सबैभन्दा बलिया दाबेदार हुन् ।’

तर, अर्की लेखक लौरा विलियम्सन भन्छिन्, ‘हो । तर मलाई मोरक्कोले यो प्रतियोगितामा केही विशेष गर्ने विश्वास अझै पनि छ । फ्रान्स–मोरक्को खेल अत्यन्त रोमाञ्चक हुनेछ ।’ लौरा विलियम्सनले भनेझैँ फ्रान्सले स्पेन भेट्नुअघि मोरक्कोलाई पन्छाउनुपर्छ भने स्पेनले पनि बेल्जियमलाई पार लगाउनुपर्छ । त्यसपछि मात्र फाइनल पुगिन्छ । र, त्यहाँ जितेपछि मात्र विश्वकप उचालिन्छ ।

तर, लेस ब्लुजको शक्तिअघि यी ‘केवल’ तीन खेल त हुन् नि भन्न पनि सकिन्छ । ह्यारी केनको थ्री लायन्स र लियोनल मेस्सीको अलबिसेलेटेको लागि पनि, अनि अरु पाँचै टिमका लागि अब ‘केवल तीन खेल’ हुन्, फ्रान्सको लागि मात्र होइन । अर्थात् मौका सबैलाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप