बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गगन थापासँग भेट्ने समय माग्दा पाइनँ : डा. प्रकाशशरण महत

बुधबार, २४ असार २०८३, १९ : २८
बुधबार, २४ असार २०८३

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफूले सभापति गगन थापासँग भेट्ने समय माग्दा नपाएको बताएका छन्। 

चुनदेवीस्थित कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठकमा बुधबार बोल्दै नेता डाक्टर महतले आफूले फोनमा कुरा गरेको र वाट्सएपमा समय माग्दा पनि समय नपाएको बताएका हुन् ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पार्टीलाई एकताबद्ध बनाउन‘तपाईँ पनि पहल गर्नुस्’ भन्दा आफूले सभापति थापासँग कुरा गरेको बताए ।

‘मैले गगनजीलाई फोन गरेँ । मिलाउन पर्‍यो भनेँ । उहाँले हुन्छ नि दाइ, भइहाल्छ, भोलि नै गरौँ भन्नुभयो,’ महतले बैठकमा भने, ‘भोलि कुनै खबर आएन । मैले ह्वाट्सएप र नर्मल म्यासेज गरेँ, कुनै खबर आएन नि भनेर । त्यसको कुनै जवाफ आएन ।’

डाक्टर महतले संस्थापन इतरको राष्ट्रिय भेलाको मिति तत्काल तोक्नुपर्ने बताए । महतले पार्टी मिलाउन संस्थापन समूहबाट हालसम्म कुनै प्रतिक्रिया नआएकाले अब ढिलो गर्न नहुने बताए।

‘साथीहरूको चासो र चिन्ता यहाँ उपस्थित साथीहरूको मात्रै होइन, पार्टीका अन्य धेरै साथीहरूको भावना पनि हो,’ महतले भने, ‘आजै मिति तोकेर सम्प्रेषण राम्रैसँग गर्नुपर्छ । भोलिसम्म रोकेर पनि गर्न सकिन्छ । भोलि प्रेस मिट गरेर बैठकको निर्णय सम्प्रेषण गर्न सकिन्छ ।’

१५ औँ महाधिवेशन सहमतिमा सम्पन्न गर्न आफूले सभापति थापासँग प्रस्ताव राखेको बताए । तर सभापति थापाले नमानेको उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप