नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ
भागीरथी श्रेष्ठको जीवनले आफ्नै अस्तित्वको पहिचान गर्ने महत्त्वाकाङ्क्षा राख्यो । त्यसैले उनी लेखनमा प्रवेश भइन् । त्यति मात्र होइन, उनको जीवनमा चेतनाको बिउ अङ्कुरित भएपछि सम्पूर्ण मानवीय सुखदुःख र विसङ्गतिबाट प्रभावित भएर उनी लेखनमा प्रेरित भएकी हुन् । जीवनको सार्थकताका लागि बामे सर्दासर्दै भागीरथी श्रेष्ठको साहित्यिक व्यक्तित्वले उचाइ छोइसकेकै छ । उनको सिर्जनाको सिन्धुले उनको महत्त्वाकाङ्क्षाको सिन्धु नाघ्न खोजिसकेको छ, तापनि उनी अब अझै सकिन्जेल परसम्म पुग्ने उद्देश्य लिएर नेपाली साहित्यमा लम्किरहेकी छिन्, गम्किरहेकी छिन् र चम्किरहेकी छिन् ।
हुन त भागीरथी श्रेष्ठले पनि यो कहालीलाग्दो साहित्यिक दुनियाँमा पूर्णरूपमा हाम्फालिन्, जहाँ खाने र बस्ने कुनै प्रबन्ध हुँदैन, जसको आराधना गर्दा जीवन धान्ने कुनै उपाय भेटिँदैन र कुनै भौतिक सुविधा प्राप्त हुँदैन । त्यसैले भागीरथी श्रेष्ठ पनि यिनै परिवेशमा सिर्जना गरिरहेकी छिन् । उनी लेखेर जीवन धान्ने भन्ने कुरा एउटा भ्रम मात्र हो भन्न रुचाउँछिन्, अनि नेपाली लेखकले आफ्नो कृतिबाट आयआर्जन गर्नु मृगतृष्णा हो भन्ने उनी धारणा राख्छिन् । उनी जे लेख्छिन् विम्ब जोडेर नै आफ्ना भावना लेख्छिन्, जीवनका कथा लेख्छिन् र सांसारिक भोगाइ लेख्छिन् । त्यसैले त भागीरथी श्रेष्ठले साहित्यमा छिटो फट्का मारिन्—
के कुमारी आमाको काखमा कर्ण खेल्न सक्तैन,
के कुमारी आमाको गर्भबाट कर्ण जन्मन सक्तैन ?
भागीरथी श्रेष्ठ सानैदेखि प्रकृतिप्रेमी थिइन् । उनका लागि शिष्टता प्यारो विषयवस्तु थियो । उनी चञ्चले भावनासहित आफ्नो बाल्यावस्था पार गर्दै किशोरी हुन पुगेकी थिइन् । किशोरीदेखि नै उनी गीत, भजन र गजल सुन्नमा पारङ्गत हुन थालिन् । त्यसै बेला यी आफैँ गीत पनि गाउँथिन् र त्यही तालमा नाच्ने पनि गर्थिन् । त्यही स्वरको भाका र नृत्यका ताललाई समाउँदै उनी रचना निर्माणमा पनि क्रियाशील हुन थालिन् । आफ्नो अध्ययनकै क्रममा उनी लेखनमा लागेकी थिइन् । त्यस बेला यिनका सहपाठीहरू यिनलाई कविजी भनेर सम्बोधन गर्ने गर्थे । वास्तवमा गुल्मीको रिडी हाईस्कुलमा अध्ययनका बेलादेखि नै उनी कथा–लेखनमा पनि आबद्ध थिइन् । सोही स्कुलबाट प्रकाशित ‘रुरु’ भन्ने पत्रिकामा उनको पहिलो कथा ‘प्रबल इच्छा’ शीर्षकमा प्रकाशित भएको थियो । अनि २०२३ सालमा भागीरथी श्रेष्ठ कथाकारका रूपमा जनसमक्ष झुल्केकी थिइन् ।
राजकुमार बजिमय र जानकी बजिमयकी सुपुत्री भागीरथी बजिमयको जन्म गुल्मीको रिडीबजारमा २००५ भदौ १७ गते बुधबार भएको थियो । आफ्नै बुबाआमाको रहरले कखरा पढ्दापढ्दै भागीरथी बजिमयले स्थानीय स्कुलबाटै एसएलसी समुत्तीर्ण गरिन् । त्यसपछि यिनले काठमाडौँको पद्मकन्या कलेजबाट आईए र प्राइभेट परीक्षार्थीका रूपमा बीएको शैक्षिक योग्यता हासिल गरेकी थिइन् । यिनी २०२६ मङ्सिर ९ गते भूमिसुधार अधिकारी दुर्गाप्रसाद श्रेष्ठसँगको वैवाहिक जीवनमा बाँधिएकी हुन् । दुर्गाप्रसाद श्रेष्ठ नेपालको प्रगतिशील राजनीतिका क्षेत्रमा समेत परिचित थिए । पछिपछि उनी व्यापारमा पनि संलग्न रहे । मिर्गौला बिग्रिएका कारण दुर्गाप्रसाद श्रेष्ठ २०६० माघ १ गते स्वर्गीय भए ।
भागीरथी श्रेष्ठले लेख्तालेख्तै नेपाली साहित्यिक धारामा आफूलाई चलायमान गराएकी हुन् । खासमा उनी कथाकारका रूपमा सुपरिचित छिन्, तापनि उनी उपन्यास लेखिकामा पनि परिचित छिन् । साथै कविता, गीत, मुक्तक र गजल लेखनमा पनि उनी अग्रसर देखिन्छिन् । ‘क्रमशः’ (२०४२), ‘मोहदंश’ (२०४४), ‘विभ्रम’ (२०५०) र ‘रङ्गीन पोखरी’ (२०५०) ‘भूमिगत’ (२०६२) कथासङ्ग्रह, ‘मालती’ (२०३४) कथासङ्ग्रह, ‘यस्तो एउटा आकाश’ (२०४६) उपन्यास र समयको अर्को छाल (२०७७) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । तीनवटा बालकथाका कृति पनि उनले नेपाली साहित्य मन्दिरमा समर्पण गरिसकेकी छन् । यी कृतिमध्ये कुनै साझा प्रकाशनबाट र कुनै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएका छन् । साथै उनका केही कृति अङ्ग्रेजी भाषामा पनि अनुवाद भएका छन् ।
भागीरथी श्रेष्ठको लेखनको मात्र होइन, व्यक्तित्वमा भएको रौनकले पनि उनीसँग धेरै मान्छे आकर्षित हुन्छन् । खास गरेर प्रगतिशील साहित्यकारभन्दा भिन्नै धारमा रहेका नारी–पुरुष भागीरथी श्रेष्ठसँग अझ नजिक भएको पाइन्छ ।
भागीरथी श्रेष्ठका कथा र उपन्यासमा जीवनप्रतिको मूल्यको आग्रह, यौनकुण्ठाको सूक्ष्म विश्लेषण, सामाजिक परिवेश, नेपालको परम्परा, संस्कृति, जाति र जनजीवनले दैनिक भोग्नुपर्ने चुनौती तथा अप्ठेरा समावेश गरिएका हुन्छन् । उनको लेखनी प्रगतिशील गोरेटोमा डोरिन खोजेको भए पनि उनका भावना बहुआयामिक विचारधारामा समेटिएका पाइन्छन् । उनी ‘साइराम’ समूहकी अनुयायी भएर पनि प्रगतिशील विचारकी स्रष्टा हुन् ।
भागीरथी श्रेष्ठको लेखनको मात्र होइन, व्यक्तित्वमा भएको रौनकले पनि उनीसँग धेरै मान्छे आकर्षित हुन्छन् । खास गरेर प्रगतिशील साहित्यकारभन्दा भिन्नै धारमा रहेका नारी–पुरुष भागीरथी श्रेष्ठसँग अझ नजिक भएको पाइन्छ । स्नेहशील भावनाकी धनी भागीरथी श्रेष्ठको स्नेहको घेरामा एकपल्ट परेको मानिस उनीबाट कहिल्यै टाढा जान सक्तैन ।
भागीरथी श्रेष्ठ सफल अनुवादक पनि हुन् । उनी नेपाली भाषाबाट हिन्दी र हिन्दी भाषाबाट नेपाली भाषामा रचना अनुवाद गर्ने गर्छिन् । भारतीय प्रसिद्ध साहित्यकार हिमांशु जोशीको हिन्दी भाषाबाट नेपालीमा ‘अग्निपर्व’ २०६४ पनि उनैले अनुवाद गरेको बहुचर्चित कृति हो । हिन्दी भाषामा अनुदित उनका फुटकर लेखहरू ‘कादम्बिनी’ र ‘शान्तिदूत’मा पनि प्रकाशित भएका छन् ।
भागीरथी श्रेष्ठका लेख चाखलाग्दा हुन्छन्, यसो हुनाको प्रमुख कारण हो उनका रचना मुख्यतया जीवनमुखी छन् । मानवीय विराट् जीवनको सागरभित्र एउटा जीवनले भोग्नुपर्ने अनगिन्ती पीडा समाहित हुन्छन् नै । त्यही दुःखात्मक अनुभवलाई जीवनचक्रको पोयो बनाउने कलामा पनि उनी सिपालु छिन् । त्यसैले पनि उनी पाठकका हृदयमा बास बस्न पुगेकी हुन् ।

जीवनको परिभाषा दिने क्रममा भागीरथी श्रेष्ठले मोदनाथ प्रश्रितको निकै प्रभाव बटुलेको पाइन्छ । साथै विजय मल्ल पनि यिनका घनिष्ठ, प्रिय र मनपरेका साहित्यकार थिए । यिनले सानाको पनि सेवा गरिन् र ठुलाको पनि माया पाइन् । यिनले आफ्नो जीवनमा दुःख र सुखका थुप्रै शृङ्खला पार गरिन् । भागीरथी श्रेष्ठले भोगेका ती शृङ्खला पनि जीवनपर्यन्त उदाउँदै अस्ताउँदै गर्ने गर्छन् । त्यसै प्रसङ्गमा उनी भन्छिन्, ‘सांसारिक जीवनको शृङ्खलाबाट प्राप्त दुःखको माला धेरै थरीका फूल बटुलेर जति सक्यो, लामो पनि बनाउन सकिन्छ, तर त्यो माला चुँडाएर त्यसको बेग्लै अस्तित्व कायम गर्न सकिँदैन । दुःखको फूलमाथि न्याय पनि हुँदैन ।’ साँच्चै हो, पीडामाथि कसैले न्याय दिँदैन । पीडा भनेकै अन्यायको उपज हो । त्यही उपज पनि श्रेष्ठको जीवनयात्राको शृङ्खला बन्यो । त्यसैले उनी भन्छिन्, ‘मैले मेरा आँसुहरूमा कहिले न्याय पाउन सकेकी छैन ।’
भागीरथी श्रेष्ठ जिन्दगानी भत्केको र जोडिएको बेलामा मात्र होइन, कुनै पनि कारुणिक दृश्य र कारुणिक कुरा सुन्दा पनि उनका आँखा भिजेर आउने गर्छन् । त्यति मात्र होइन कारुणिक चलचित्र हेर्दा होस् या दुःखात्मक उपन्यास पढ्दा होस्, कुनै पनि बेला उनीभित्र भक्कानोको बाँध फुट्न सक्छ । उनी अत्यन्तै खुसीका कुरा सुन्दा पनि हर्षले रुने गर्छिन् तर उनको आँसुको मूल्यचाहिँ पीडामा बुनिएको पाइन्छ । यसै सिलसिलामा भागीरथी श्रेष्ठ भन्ने गर्छिन्, ‘मेरो मन पत्थर होइन । मेरो कोमल मन र संवेदनशील भावना भएको हुँदा म आफ्नो दुःखमा पनि प्रशस्तै रुन्छु र अरूको दुःखमा पनि रोएकी छु । मलाई मान्छेका माझमा आँसु झार्नभन्दा एकान्तमा रुन मजा लाग्छ । वास्तवमा हरेक मान्छे आँसुको सागरमा डुबेको हुन्छ । त्यस सागरबाट कसैको धेरै र कसैको थोरै बाढी बग्ने गर्छ, तर मभित्रचाहिँ अविरल वर्षा वर्षाउने खुबी छ । म निराशावादी होइन । मलाई चाहनामा फुल्न मन लाग्छ, आँधीमा पनि थामिन मन लाग्छ र बाढीमा पनि नदी तर्न मन लाग्छ ।’
भागीरथी श्रेष्ठको जीवनका पलपलका पाठ पढ्ने हो भने उनी एउटी कारुणिक जीवनकी सक्कली स्रष्टा हुन् । उनी जीवनका पीडालाई अक्षरमा बगाउँछिन् । उनको सुखदुःख र खेतीपाती तिनै अक्षर हुन् । उनी तिनै अक्षरलाई आफ्नो जीवन र जगत् मान्ने गर्छिन् । उनको रचना निर्माण कौशल मौलिकताले सुसज्जित छ । उनको लेखनमा मुटुको ढुकढुकी भित्रभित्र रहने धुकधुकी पनि भेटिन्छन् । त्यसैले उनलाई नेपाली साहित्यका पाठकमध्ये उनीभन्दा सानाले श्रद्धा गर्छन् र ठुलाले माया गर्छन्, समष्टिमा भन्नुपर्दा उनी भाषा–साहित्यमा चर्चित रहेकी छिन् ।
भागीरथी श्रेष्ठले लेखेर नै २०७३ सालमा नेपाली साहित्य नारी रत्नको उपाधि लगायत राष्ट्रिय प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक, मैनाली कथा पुरस्कार, गरिमा सम्मान, लुम्बिनी अञ्चलस्तरीय साहित्य सम्मेलनमा स्वर्णपदक, सर्वोत्तम टेलिफिल्म पुरस्कार, शङ्कर कोइराला स्मृति पुरस्कार, नूरगङ्गा प्रतिभा पुरस्कार, राष्ट्रिय कलाश्री साहित्य पुरस्कार, कृष्णभूषण बल पुरस्कार, विश्वनारी नेपाली साहित्य पदक, सत्यमोहन जोशी शताब्दी पदक र नइ कीर्ति रत्न पाइन् । साथै उनले धेरै सम्मान, कदरपत्र र अभिनन्दनहरू पनि प्राप्त गरेकी छिन् ।
भागीरथी श्रेष्ठले जीवनयापनका क्रममा केही समय तारागाउँ विकास समितिमा जागिर खाइन्, उनले यसै सिलसिलामा व्यापार पनि गरिन् र लेखनको क्रमलाई निरन्तरता दिँदै भैरहवा, रिडी र स्याङ्जामा अध्यापन पनि गरिन् । उनी लेखनकै घेरामा बाँधिँदै अहिले वासुशशि प्रतिष्ठान, पेन नेपाल र गुञ्जनमा पनि आबद्ध छिन् । लेखनकै गोरेटोमा हिँड्दाहिँड्दै उनले दुई छोरा सञ्जीव र रञ्जीव अनि एउटी छोरी रीमा जन्माइन् । उनका छोराले आर्थिक उपार्जन गर्छन् । नेपाली भाषामा लेखेर कमाउने कुरै छैन तर यस परिस्थितिमा पनि उनी आफ्नो फर्माइसी खर्चचाहिँ लेखनबाटै असुल गर्ने गर्छिन् ।
भागीरथी श्रेष्ठको वैयक्तिक रुचि अनुसार उनी प्रकृतिप्रेमी छिन् । उनलाई घुम्न र डुल्न भनेपछि साह्रै मन पर्छ । त्यसै प्रसङ्गमा उनले नेपालका धेरै ठाउँ डुलेकी छिन् । साथै उनले भारतका पनि केही ठाउँ हेरेकी छिन् । भारत घुमेको प्रसङ्गमा भागीरथी श्रेष्ठ भन्छिन्, ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति मदनमणि दीक्षितका नेतृत्वमा म आसाम, सिलाङ, दार्जिजिङ र सिक्किम गएकी छु । साईबाबाको दर्शनका लागि म सिरडी र पुट्टपर्ती गएकी छु । मानसरोवरको यात्रा मेरो अत्यन्तै कठिन, अद्भुत र रोमाञ्चकारी यात्रा थियो । त्यही हो मेरो जीवनको अविस्मरणीय यात्रा ।’ जीवनका हरेक यात्रामा विविध रङ छर्दै आज भागीरथी श्रेष्ठले आफ्नो नाउँ चलाएकी छन् । उनको त्यो आर्जन व्यक्तिगत नभएर साहित्यको साझा र राष्ट्रिय आर्जन भएको छ । त्यसैले उनले हृदयबाट पोखेका अनगिन्ती व्यक्तिगत भावना पनि आज समस्त नेपाली समाजको सम्पत्ति भएका छन् । त्यो सम्पत्ति नै नेपाली साहित्यमा भागीरथी श्रेष्ठले प्रदान गरेको योगदान हो जुन यस माटोमा सदा सुरक्षित रहनेछ । अन्तसम्मको हिसाब गर्ने हो भने पनि नेपाली साहित्यको विकासमा भागीरथी श्रेष्ठद्वारा कोरिएका अक्षरहरू नै नेपालीका गौरव पनि हुन्—
जब तिमी यौवनको रङ्गीन तलाउभित्र
निस्फिक्री खेलेकी थियौ
त्यति बेला
तिमीलाई परपुरुषको सम्मुख
सर्वाङ्ग नाङ्गी हुन पनि लाज लागेन !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण