सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
जागेका जेनजीमाथि सरकारको बर्बर दमन
जेनजीको प्रदर्शन

जागेका जेनजीमाथि सरकारको बर्बर दमन

सोमबार, २३ भदौ २०८२

काठमाडौँ । दसैँ नजिकिँदै जाँदा गत साल के भएको थियो ? हामी सबैलाई थाहै छ । दसैँको ठिक एक साताअघि बाढीपहिरोमा परी करिब २५० जनाले ज्यान गुमाएका थिए, सयौँ घाइते भए । थुप्रै विस्थापित भए ।

यो दर्दनाक घटनालाई यसकारण स्मरण गरियो, यस वर्ष पनि दसैँ आउन १५ दिन बाँकी रहँदा काठमाडौँमा १७ र इटहरीमा २ जना गरी १९ जनाले (यो पछिल्लो अपडेट) एकै दिन अमूल्य जीवन गुमाए । सयौँ जेनजी युवा घाइते छन् ।

फरक यति हो, गत साल प्राकृतिक विपत्ति वैरी भएको थियो, यसपालि आफ्नै सरकार यमराज ।

बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ताका युवायुवतीले सोमबार देशव्यापी प्रदर्शनको आह्वान गरेका थिए । तर शान्तिबाट भएको सुरुवात बर्बर हिंसामा परिणत हुन पुग्यो ।

genz protest (20)

सोमबार बिहान माइतीघर मण्डला पुग्दै गर्दा जेनजी पुस्ताले कल्पना पनि गरेका थिएनन् होला, आफ्ना १७ जना साथीले प्रहरीको गोलीले ज्यान गुमाउलान् भनेर । तर जे नसचेको त्यही भइदियो ।

जेनजी पुस्ताले जनाउ दिएको प्रदर्शनको समय नजिकिँदै जाँदा काठमाडौँको माइतीघरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ दिए । प्रदर्शनमा सहभागी जेनजीहरुले भ्रष्टाचार विरोधी र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धका प्लेकार्डहरू बोकेका थिए ।

त्यसमध्ये एउटा प्लेकार्डमा मिठो गरी लेखिएको थियो, ‘डियर पुलिस, हुज साइड आर यु अन टुडे रु अस अर द करप्टेड लिडर्स ।’

genz protest (1)

जेनजीहरुले प्लेकार्डमार्फत प्रहरीलाई सोधेका रहेछन्, ‘हामीलाई साथ दिने कि भ्रष्टाचारमा डुबेका नेतालाई ?’

तर माइतीघरमा त्यस्तो ब्यानर देखाएका जेनजी प्रदर्शनकारीहरू बानेश्वर पुग्दा अवस्था अर्कै भइदियो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनको प्रवेश द्वारमा पुग्दा प्रहरीले अन्धाधुन्ध गोली बर्सायो । नजिकैको सिभिल अस्पतालमा घाइतेहरूलाई लगियो । प्रहरी अस्पताल परिसरमा समेत अश्रुग्याँस प्रहार गर्न पुग्यो ।

genz protest (19)

नजिकै अर्को अस्पताल एभरेस्टदेखि राष्ट्रिय ट्रमा सेन्टरसम्मका बेड घाइतेहरूले भरिएका छन् । तीमध्ये कतिको अवस्था चिन्ताजनक छ l

प्रविधि उपयोगको हिसाबमा ‘जेनेरेसन’को वर्गीकरण गरिने अन्तर्राष्ट्रिय अभ्यास छ । यस अर्थमा जेनजी भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ता हो । जो अहिले १३ वर्षदेखि २८ वर्षबिचको उमेर समूहमा छ ।

genz protest (2)

अन्य मुलुकका जेनजी झैँ नेपाली जेनजी पनि तुलनात्मक रूपमा इन्टरनेट र सामाजिक सञ्जालको बढी प्रयोग गर्दै हुर्कियो । यो पुस्ताले विश्व देखेको छ, एउटा डिभाइसमा हातको औँला चलाउँदै । विकासको चरम स्थितिमा पुगेका देशहरू नियालेको छ । ती देशको सिस्टम देखेको छ, रहनसहन देखेको छ ।

अनि उसले आफ्नो देशलाई फर्किएर हेर्दा केही पाउँदैन । जताततै भ्रष्टाचार, बेथिति, अस्तव्यस्त प्रणाली मात्रै । यो सब देखेर बिरक्तिएको नेपाली जेनजी पछिल्लो समय सरकारले मुख्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि झनै आक्रोशित बन्यो ।

genz protest (3)

 ‘विना परिश्रम’ नेताका छोराछोरीको लक्जरी लाइफलाई लिएर केही समय पहिलेदेखि नै सामाजिक सञ्जालमा यो पुस्ताले ‘नेपो बेबी विनर, जनता लुजर’ अभियान चलाइरहेकै थियो । यसको अर्थ उनीहरू भ्रष्टाचार विरोधी अभियानमा जोडिँदैथे । तर सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदमले उनीहरूको आक्रोशको पारो अरू चढाइदियो । त्यसपछि उनीहरू सडकमा आएर बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिए । जुन दिन हो आज अर्थात् २०८२ भदौ २३ गते ।

तर शान्तिपूर्ण आन्दोलन बर्बर हिंसामा परिणत हुँदा देशलाई नै स्तब्ध बनाएको छ । यसरी ‘जेनजी मुभमेन्ट’ले आह्वान गरेको शान्तिपूर्ण आन्दोलनलाई किन र कसरी रणभूमिमा परिणत भयो ? गम्भीर प्रश्न उब्जिएको छ । यसको कारक केही त आन्दोलनकारी युवाको आवेग हो, धेरै चाहिँ सरकारले विवेक गुमाएको हो । विभिन्न विकल्प हुँदाहुँदै प्रहरीले गोली नै बर्साउनु बर्बरताको हद हो ।

genz protest (4)

जेनजीले सोमबार गरेको प्रदर्शनको नेतृत्व घोषित रूपमा कसैले पनि गरेका थिएनन् । उनीहरू टिकटकजस्ता सामाजिक सञ्जालमा जोडिएर स्वतःस्फूर्त रूपमा आन्दोलनमा जोडिएका हुन् । उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन विपक्षी दलहरूदेखि काठमाडौँ महानगरका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसम्म मात्र होइन, दुर्गा प्रसाईंसम्मको होडबाजी चल्यो । प्रसाईंले त प्रदर्शनमा साथ दिन आफ्नो टिम आउनेसम्मको कुरा गरेका थिए ।

तर सुझबुझ भएको अहिलेको जेनजी पुस्ताका अगुवाहरूले आफ्नो आन्दोलन ‘नेतातन्त्र’ विरुद्ध भएको र कोही पनि नेता नचाहिने भन्दै प्रसाईँलाई भेटेरै फर्काइदिए थिए ।

genz protest (5)

यसरी उनीहरू आफैँ नेता बनेर होइन, सामूहिक नेतृत्वमा स्वतःस्फूर्त आन्दोलनमा उत्रिएकोमा शङ्का गरिरहनु पर्दैन । तर भीडमा सबैको सोच एकै हुँदैन । सबैलाई चिन्न पनि सकिँदैन । यस्तै बेला हो, व्यवस्थापन गर्ने टिम नहुँदा कुनै पनि आन्दोलन भड्किने सम्भावना हुने ।

जेनजी मुभमेन्टले सोमबारको आन्दोलनमा यति धेरै सहभागिता हुने आङ्कलन गरेको पनि थिएन । तर सरकारका काम र कार्यशैलीविरुद्ध सबैभन्दा बढी रुष्ट जेनजी युवाहरू ठुलो सङ्ख्यामा प्रदर्शनमा सहभागी भए । यसको व्यवस्थापनको प्रणाली नबनाउँदा भीड नियन्त्रणमा सकस भयो ।

genz protest (6)

कतिपयले भनेजस्तो घुसपैठ भएको भए अर्कै पाटोबाट अनुसन्धान गर्नुपर्ला । जे भए पनि आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा हिंसात्मक बनेको तथ्य लुकेको छैन । सार्वजनिक फोटो र भिडियोहरूले सुरक्षाकर्मीले संयम गुमाएको स्पष्ट देख्न सकिन्छ । माइतीघरदेखि नयाँ बानेश्वरको निषेधित क्षेत्र नपुग्दासम्म प्रहरीले प्रदर्शनकारीलाई रोक्ने जाँगर देखाएको देखिएन l नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेपछि भने भीड नियन्त्रणमा सिधै गोली प्रहार गरेको देखिन्छ । चैत्र १५ को तीनकुने घटनाको नक्कल गरेर प्रदर्शनकारीको दोष देखाएर जेनजीनहरुमाथि निर्मम दमन गरेर आन्दोलन दबाउन सरकारद्वारा रचिएको नियोजित चालबाजी त थिएन यो कतै ?

genz protest (8)

एकै दिन नयाँ बानेश्वरमा मात्रै १७ होनहार युवाको ज्यान लिने सरकारलाई के भन्ने ? क्रूरताको मामिलामा तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि माथ गरेको छ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले-कांग्रेस गठबन्धन सरकारले l २०६२/६३ को १९ दिने जनआन्दोलनमा २५ जनाले ज्यान गुमाएका थिए । हुन त मृत्युलाई तुलना गर्नु न्यायपूर्ण हुँदैन, यो तुलना क्रूरताको गरिएको हो । व्यवस्था बदल्ने जनआन्दोलनमा भएको कुल मानवीय क्षति जति जेनजीको भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा एकै दिन हुनु भनेको क्रूरताको कुन हद हो ?

genz protest (12)

जेनजीले त्यस्तो के माग राखेका थिए र ? ‘भ्रष्टाचार बढ्यो, नियन्त्रण गर’, ‘हाम्रो पुस्ता बिदेसिन बाध्य छ, देशभित्रै केही गर्ने वातावरण बनाइदेऊ’, ‘जेनजी सामाजिक सञ्जालसँगै हुर्कियो, यसलाई नखोस’, ‘सामाजिक सञ्जालबाट आम्दानी गरिरहेकाहरूलाई भोको नबनाऊ’ । यस्तै माग त थिए उनीहरूका । त्यस्तो माग गर्नेको ज्यानै लिनुपर्छ सरकार ? कलिला युवामाथि गोली बर्साएर ज्यान लिनु कि बहादुरी हो सरकार ?

genz protest (9)

देशका युवामा बढेको ‘फ्रस्टेसन’को समाधान कसरी गर्ने भन्ने ध्याउन्नमा छैन सरकार । किन बिदेसिने बाध्यतामा छ युवा भन्नेमा चासो राख्दैन सरकार । अनि गरिखाने वातावरण बनाऊ, गरिखाने माध्यम नखोस भनेर आन्दोलनमा उत्रिएका युवालाई गोली बर्साएर बहादुरी देखाउने होइन सरकारले, सरकारमा बस्नेले ।

genz protest (16)

बानेश्वर घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । अस्पताल परिसरभित्रै धरपकड, अश्रुग्याँस र गोली चलेका खबरहरू आइरहेका छन् । अस्पतालमा समेत यस्तो घटना किन हुन पुग्यो ? प्रश्नहरू यथेष्ट उठेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीले अन्धाधुन्ध घातक बल प्रयोग गरेको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइसकेको छ ।

genz protest (13)

सरकार नागरिकको अभिभावक हो । उसैले अहिलेको परिस्थितिलाई सम्हाल्न उच्च नैतिकता देखाउनुपर्छ । तर नैतिकता एकादेशको कथाजस्तै हुन लागेको नेपाली राजनीतिमा यति सोच्नु अलि टाढा नै हुन्छ होला । नत्रभने एकै दिन १९ जनाको ज्यान जाने गरी भएको बर्बर घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर माफी माग्नु पर्दैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया