राष्ट्रिय राजनीतिले खोजिरहेछ, ‘समीकरण वाई’
२३ भदौ अर्थात् ८ सेप्टेम्बर, नेपाली राजनीतिक इतिहासको एउटा पानामा एउटा कालो दिनका रूपमा लेखियो । तिथिमा जाँदा यो दिन सोह्रश्राद्धको प्रारम्भ अर्थात् असोज कृष्ण प्रतिपदा परेको छ भने दिवसहरूमा जाँदा यस दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस र विश्व फिजियोथेरापी दिवस परेका छन् । यी सबै तिथिमिति र दिवसहरूको संयोग के हो म जान्दिनँ तर यो संयोगलाई सांंकेतिक रूपमा अर्थ्याउन हामीसँग आ–आफ्नो विवेक र बुद्धि छँदै छ ।
सरकारले सूचीकरण र नियमनका लागि भन्दै २६ सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी पुस्ता सडकमा उत्रियो, सामाजिक सञ्जाल खुलासँगै भ्रष्टाचारविरोधी माग र नारा लिएर । राज्य भने क्रूर र निरंकुश दमनकारी बनेर प्रस्तुत भयो, एकै दिन १९ जनाको हत्या गर्यो, सयौँलाई घाइते बनायो । सरकारले रगतको होली खेलेको वीभत्स दृश्य देखिसक्नु थिएन र छैन, यसको निन्दा गर्न पनि आजसम्म बनेका शब्दकोशमा शब्द छैनन् ।
यो आन्दोलन उमेरजन्य ‘पुस्ता’को पृष्ठभूमिबाट उठेको छ । विशेषतः नयाँ संविधान बनेर देश पहिलोपटक (२०७४) आम निर्वाचनमा गएपछि हो वृद्ध नेताहरूले देश ओगटे, देशले गति लिएन भन्ने आवाज र आक्रोश उठ्न थालेको । हाम्रो नयाँ संविधान बमोजिम भएको दोस्रो आम निर्वाचन (२०७९) मा आइपुग्दा त्यो आवाज र आक्रोश स्वतन्त्र उम्मेदवार र केही नयाँ दल (विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी)का रूपमा देखियो ।
२०६२/६३ को आन्दोलनपछिको समयलाई हामीले ‘नयाँ नेपाल’ भनेका छौँ । नयाँ नेपालको पहिलो संविधानसभामा सभासदका रूपमा अधिकांश युवाहरूकै उपस्थिति थियो । त्यो उपस्थिति दोस्रो संविधानसभामा कमजोर भयो । यद्यपि नयाँ नेपालको पहिलो आम निर्वाचनले कम्युनिस्ट एकता भएर बनेको पार्टी ‘नेकपा’ (नेपाल कम्युनिस्ट पार्टी)को करिब–करिब दुईतिहाइको सरकार जन्मायो । यसले जनतालाई केही त्राण दिएको थियो, अब देशले गति लेला भन्ने आशा र अपेक्षामा अधिकांश नागरिक थिए नै । जब नेकपाभित्र नेतृत्वको खिचलो देखियो, अन्ततः त्यो खिचलोले संसद् विघटनदेखि नेकपालाई तीन टुक्रा बनायो । त्यसपछि राष्ट्रिय राजनीति अस्थिरजस्तो देखियो, यही बिचमा स्वतन्त्र (विशेषतः केही मेयर) र नयाँ दल (रास्वपा)ले ‘ठाउँ’ खोजे । यिनीहरूले जेजति ठाउँ पाए, त्यो ठाउँबाट उनीहरूले पुराना दलहरूसँग ‘लड्नुपर्ने’ अवस्था सिर्जना भएको जगजाहेरै छ ।
यतिखेर राष्ट्रिय राजनीतिलाई विशेषतः तीन प्रमुख दल (कांग्रेस, एमाले र माओवादी) का शीर्ष तथा वृद्ध नेता (शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड)को हातमा छ । यिनीहरू बिचकै साँठगाँठ र मिलेमतोमा सरकार बन्छ र ढल्छ । यो अस्थिरका बिचमा राजनीतिक स्थिरताका लागि भनेर पछिल्लोपटक दुई ठुला दल कांग्रेस र एमालेको साँठगाँठमा ओली नेतृत्वको सरकार बनेको थियो, जसले संविधान संशोधन गरेरै भए पनि स्थिरता दिन्छु भनेको थियो, आज त्यो सरकार धरापमा परेको छ । यो सरकारलाई धरापमा पार्न पछिल्लो समय राजावादीहरूको झुन्डले पनि बेला बेला अनेक स्वरूपमा टाउको उठाएको थियो । यसपटक यो सरकारको विरोधमा एउटा यस्तो पुस्ता उठ्नुपर्ने परिस्थिति सिर्जना भयो, जुन पुस्तासँग पछिल्लो विज्ञान र प्रविधिको ज्ञान छ, जुन पुस्तासँग देशको बाँझो जमिनले केही अपेक्षा पनि राखेको छ ।
यहाँनेर आज प्रचलनमा रहेको ‘पुस्ता’ वर्गीकरणबारे स्पष्ट बनौँ ।
विशेषतः दोस्रो विश्वयुद्धपछि ‘बेबी बुमर’(युद्धरत सेनाहरू घर फर्केपछि बढेको जनसंख्याको पुस्ताको अर्थमा, जो खासगरी १९४६ देखि १९६४ को बिचमा जन्मेको थियो) हुँदै जेनेरेसन एक्स (सन् १९६६ देखि १९८० बिचको पुस्ता), जेनेरेसन वाई (सन् १९८१ देखि १९९७ बिचमा जन्मेको पुस्ता, यसलाई मिलेनियल पनि भनिन्छ), जेनेरेसन जेड (सन् १९९७ देखि २०१३ बिचमा जन्मेको पुस्ता, जसलाई जेन–जेड वा जेन–जी पनि भनिन्छ) र जेनेरेसन अल्फा (सन् २०१३ देखि २०२४ को बिचमा जन्मेको पुस्ता) सम्म आइपुगेको छ । (गणितीय भाषामा पछिल्लो पुस्ताले बिटा, गामा हुँदै कहाँसम्मको नाम पाउने हो भन्नेमा यो पंक्तिकार जानकार छैन, खासमा यस विषयमा मेरो गहिरो अध्ययन छैन ।) यसरी वर्गीकरणमा परेका पुस्ताहरू विशेषतः विज्ञान र प्रविधिको प्रयोगसँग पनि सम्बन्धित छन् ।
यतिखेर प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । त्यसअघि नै तीन नेताहरू सडकमा आएर घुँडा टेकेरै माफी माग्नुपर्ने अवस्था सिर्जना भएको छ । अहिलेसम्मका घटना र अवस्थाको जिम्मेवार हामी हौँ भनी नेताहरूले माफी मागेनन् भने आन्दोलनमा जनधनको क्षति बढ्ने खतरा छ ।
नेपालको राजनीतिक इतिहासमा यसरी पुस्ताको नाममा आन्दोलन भएको यो पहिलोपटक हो । यसले भोलिका दिनमा अल्फा लगायत पुस्ताले कस्तो आवाज वा माग लिएर आन्दोलन गर्लान् भन्नेतिर पनि सोच्न हामीलाई बाध्य पारेको छ ।
यो त भयो, एक्स, वाई, जेड लगायत पुस्ताको समीकरण । यहाँनेर राजनीतिक परिवर्तनका लागि हुने ‘एक्स’ र ‘वाई’ समीकरणको पनि चर्चा गरौँ ।
मानौँ, हिजो राणाशासकहरू समीकरण ‘एक्स’का रूपमा थिए, परिवर्तन चाहने युवाहरू समीकरण ‘वाई’का रूपमा देखापरे र २००७ सालको क्रान्ति सम्पन्न भयो । यस समीकरण ‘वाई’मा राजा पनि मिसिन आइपुगेका थिए । क्रमशः राजाले आफ्नो स्थान खोजे र उनी समीकरण ‘एक्स’ बन्न पुगे । समीकरण ‘एक्स’ले पञ्चायत लाद्यो, अनि दलहरू समीकरण ‘वाई’का रूपमा आन्दोलनमा गए र बहुदल आयो । बहुदल लगत्तैको अवस्थामा समीकरण स्पष्ट भइसकेको थिएन । कांग्रेस र कम्युनिस्टलाई फरक–फरक समीकरण बनाएर लडाउने मानसिकतामा राजसंस्था देखिन थाल्यो ।
२०४६ सालको परिवर्तन केवल दलहरूका लागि भएजस्तो भयो, त्यो जनताका अधिकारका लागि भएन । यही बिचमा जनताको अधिकारका कुरा उठाएर तत्कालीन माआवादी पार्टी समीकरण वाईका रूपमा जनयुद्धमा गयो । यता समीकरण एक्सका रूपमा राजा र सत्तारुढ दलहरू थिए । अन्ततः दलहरू (विशेषतः सात दल) पनि समीकरण ‘वाई’मा मिल्न पुगे, समीकरण ‘एक्स’का रूपमा राजतन्त्र रह्यो । युद्धको मानवीय र भौतिक क्षति एकातिर छ, त्यसले अर्कोतिर दबिएका जनताको अधिकारको मुद्दा जगायो र अन्ततः तिनै मुद्दाहरू केही हदसम्म संविधानमा लिपिबद्ध वा संस्थागत भएका छन् ।
यतिखेर राष्ट्रिय राजनीतिमा समीकरण ‘एक्स’को रूपमा प्रमुख तीन दलका शीर्ष तथा वृद्ध नेताहरू देखिएका छन् तर समीकरण ‘वाई’ स्पष्ट रूपमा देखिन सकेको छैन । संसदमा विपक्षी रहेको माओवादीलाई पनि ‘समग्र जनअसन्तुष्टि’ले समीकरण ‘एक्स’मा राखेकाले राजनीतिक रूपमा देश, काल र परिस्थिति संकटमा छ । यो संंकटका बिचमा एउटा उपाय छ, प्रमुख दलहरूभित्रको दोस्रो दर्जाका नेताहरूले ‘समीकरण वाई’ सिर्जना गर्ने । यसमा उसले केही नयाँ दलहरूलाई पनि साथमा लिनुपर्ने हुन्छ । यस समीकरण ‘वाई’ले पुराना नेतालाई थकाई मार्ने चौतारीमा वा बहस गर्ने कुनै ‘पाटी’ (पार्टी होइन) मा विश्राम गर्न लगाएर आफूहरू अगाडि बढ्न सक्छन्, देशलाई समृद्ध बनाउने सामाजिक न्यायसहितको साझा एजेन्डाका साथ ।
यो विचार लेखिरहँदा काठमाडौँ खाल्डो जलेको छ, कालो धुवाँले रात पार्न खोजेझैँ लाग्छ । नेताका निवास र पार्टी कार्यालयहरू जलिरहेका छन् । १९ जनाको हत्याको विरोध र आक्रोशका रूपमा कर्फ्युका बिचमा उठेको आन्दोलन नेतृत्वविहीन छ । जलेर सकिएपछि आन्दोलन थामिएला । यतिखेर प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । त्यसअघि नै तीन नेताहरू सडकमा आएर घुँडा टेकेरै माफी माग्नुपर्ने अवस्था सिर्जना भएको छ । अहिलेसम्मका घटना र अवस्थाको जिम्मेवार हामी हौँ भनी नेताहरूले माफी मागेनन् भने आन्दोलनमा जनधनको क्षति बढ्ने खतरा छ । नेताहरूले माफ मागेपछि एउटा नयाँ परिस्थिति सिर्जना हुन सक्छ । कुनै नयाँ अनुहारले जेन–जीको आन्दोलनलाई नेतृत्व लिन सक्छ । त्यो अवस्था होस् वा नहोस्, सर्वप्रथम यतिखेर संसदमा रहेका जिम्मेवार दलहरूले आन्दोलन थाम्नतिर ध्यान दिनुपर्छ । यसका लागि तीन प्रमुख दलका शीर्ष नेता (देउवा, ओली र प्रचण्ड)ले माफीसहितको संयुक्त वक्तव्य निकाल्न ढिला गर्न हुँदैन । त्यसपछि संसद्मा रहेका दलहरुको वक्तव्य आउनुपर्छ । अन्ततः हाम्रो निकास निर्वाचन नै हो । निर्वाचन २०८४ मा गर्ने वा अगाडि नै गर्ने भन्ने संवाद हुन सक्छ ।
अब हामीसँग समीकरण ‘एक्स’को गरिबीसँगै केही सामाजिक विभेदहरु छन्, त्यसैले सामाजिक न्यायसहितको समृद्धिका लागि यतिखेर ‘समीकरण वाई’ आवश्यक छ । अबको परिस्थितिमा समीकरण वाईको नेतृत्व गर्ने कुनै चामत्कारिक नेता वा नायक हुन जरुरी छैन र सम्भव पनि छैन । अब देश बनाउन सामूहिक एजेन्डा आवश्यक छ र त्यसका लागि सामूहिक प्रयास आवश्यक छ, निर्वाचनले ल्याउने नेतृत्व त एकातिर छँदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण