शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

जेनजी पुस्तालाई जेनवाई पुस्ताका चार आग्रह

शुक्रबार, २७ भदौ २०८२, ०८ : २३
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • नयाँ पुस्ताको आन्दोलनले राजनीतिक र सामाजिक परिवर्तनको माग गरेको छ।
  • आन्दोलनको क्रममा भएको हिंसा र क्षतिको बारेमा चर्चा गरिएको छ।
  • भ्रष्टाचार नियन्त्रण र नेतृत्व हस्तान्तरणको लागि नीतिगत व्यवस्थाको माग गरिएको छ।

प्रथमतः आफ्नो पुस्तागत एकताको बलमा विश्व समुदायलाई चकित पार्ने गरी राष्ट्र परिवर्तनको मुद्दा स्थापित गराउन सफल भएकोमा यो समूहप्रति हार्दिक आभार व्यक्त गर्दछु । जसले घर परिवारबाट तिमी अल्लारे, आलोकाँचाले केही गर्न सक्दैनौ, तिम्रो अझै पालो आएको छैन भन्ने पारिवारिक, सामाजिक, संस्थागत, राजनीतिक र शासकीय भाष्यलाई नाटकीय रूपमा बदल्ने काम यहाँहरूबाट भएको छ । 

देशका हरेक संरचनामा व्याप्त बेथिती, नातावाद, जातिवाद, क्षेत्रीयतावाद र नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नचाहने राज्य/राजनीतिक/नागरिक संरचनाका विरुद्ध यहाँहरूको आन्दोलनले प्राप्त गरेको सफलता प्रति हार्दिक बधाई छ । 

यी माग पब्लिक उठानका हिसाबले अभियानकै रूपमा नेतृत्व लिने कामले इतिहास रचेको छ । संस्थागत उठानका हिसाबले यी माग जेनजी पुस्ताका देखिएपनि खासमा यी हरेक नेपाली  नागरिक/राजनीतिककर्मी/नागरिक समाजका साझा हुन् । जो सबै राज्यका/राजनीतिक दल/सामाजिक तथा नागरिक सङ्गठनहरूका संरचना भित्र पनि नउठेका होइनन् । सुनुवाइ नभएकाले परिणाम नदेखिए हो । 

तपाईँहरूले उठाएका मागलाई लामो समयको पत्रकारिता र राजनीतिक संलग्नताका क्रममा मेरो जेन र्वा पुस्ताले पनि नउठाएको होइन । तर त्यसलाई परिणाममा निकाल्न नसकेकोमा यहाँहरूप्रति माफी माग्नलाई कुनै संकोचन मान्नु पर्ने अवस्था छैन । यद्यपि २३/२४ गते देशलाई हरेक हिसाब (मानवीय/पूर्वाधार, ऐतिहासिक दस्ताबेज, पुरातत्त्व, आदी)ले जुन प्रकारको नरसंहार मच्चाउने काम भयो त्यो ध्वशंप्रति सिङ्गो देश गहिरो दुःखमा छ ।  

यो घटनामा आप्नो कलकलाउँदो ज्यान आहुति दिने सबै वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समग्र अघिल्लो पुस्ताका तर्फबाट आफन्त गुमाएको पिँडामा रहनु भएका सबै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । तपाईँहरूको दुई दिने आन्दोलनका क्रममा घाइते भएर अस्पतालमा पिडासँग छटपटाई रहनु भएका बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना । 

भौतिक रूपमा हेर्दा २३ गतेको तपाईँहरूको शान्तिपूर्ण प्रदर्शनमा ताकी ताकि गोली ठोक्ने, २४ गते सबै पुस्ताको आस्थाका केन्द्रका रूपमा रहेका वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका दर्जनौँ  भवन छिनभर खरानी हुँदा निर्जीव बनेका सुरक्षाकर्मीका हतियार जीवित बनेको छन् । देश खरानी छ । अझ बल्दै छ । सबै क्षेत्र ठप्प छ । हरेक मन स्तब्ध छ । देश नेतृत्व विहीनताको अवस्थामा छ । टोल टोलमा लुटपाटका घटना क्रमिक रूपमा बढ्दा छन् । 

देशभरका जेलहरूमा कैदीबन्दी र सुरक्षाकर्मीबिच दोहोरो मुठभेटको अवस्थाले गोली हानाहानको परिस्थिति टरेको छैन । राजनीतिक शक्तिहरू पर्ख र हेराइको अवस्थामा क्रमिक रूपले आप्ना धारणा सार्वजनिक गरिरहेका देखिन्छन् । नागरिक समाज मुख खोल्दा के प बिग्रीन्छ ? भन्दै बल्ल बल्ल चलमलाइरहेका छन् । सञ्चार माध्यमले घटनामा मात्र केन्द्रित अर्थात् हट न्युजलाई मात्र प्राथमिकता दिएको देखिन्छ । भित्रभित्रै देश ठुलो सङ्कटतर्फ उन्मुख भैसकेका आशङ्का छिन मै डढेलो झैँ उस्तै गरी फैलिएको छ । तरपनि विगतका सत्ताले गरेको गतिविधिले दिक्क भएका नागरिक बादलको कालो घेरामा सेता चाँदी झैँ आशा देखिरहेका छन्  ।

दिनभरको काठमाडौँको वातावरण र तपाईँहरूले लिने निर्णयमा देखिएको अन्यौलताले लामो बलिदानले आर्जेको व्यवस्थाबाट अहिले बसेको ठाउँबाट अर्को ठाउँमा पुग्ने बित्तिकै अर्कै अवस्थामा पुगिने हो कि भन्ने भय आम नेपालीमा भित्र भित्रै भुसको आगो झैँ सल्किरहेको छ । बिहीबार (२६ गते) दिनभर र राती अबेरसम्म सैनिक मुख्यालय जङ्गी अड्डा, शीतल निवास, जेन–जीको सम्पर्क कार्यालयमा भएका छलफलले यो शङ्कालाई थप बल पुगेको देखिन्छ । यद्यपि संविधानका संरक्षक राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी प्रतिनिधि, संविधान विद्, कानुनविद्को छलफलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको अनौपचारिक खबर विद्यमान अन्यौलताको अन्त्य हुने हो की भन्ने आस जागेको छ । 

तरपनि औपचारिक परिणाम नदेखिन्जेल कतिखेर के हुन्छ भन्नेमा ढुक्क हुने स्थिति अझै देखिँदैन्  । तसर्थ यहाँहरू जस्ता नव जवानहरूलाई थप सचेतताका लागि अघिल्लो पुस्ताकारतर्फबाट यो आग्रह गरिएको हो । आशा छ, यहाँहरूले देशले राजनीतिक निकास नपाउन्जेल थप केही समय बिराम नलिएर यी विषयलाई ध्यान दिनु हुनेछ ।  

१. राष्ट्रपतिसँग भौतिक संवादको थालनी: 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल अहिले खासमा कार्यकारी प्रमुख विहीन मात्र भएको हो । संविधान विहीन होइन  । यो लोकतान्त्रिक व्यवस्था बदल्ने माग तपाईँहरूको पनि होइन भन्ने कुरा प्रस्ट रूपमा सार्वजनिक भैसकेको छ । देशको अभिभावक एवम् संविधानको संरक्षक  राष्ट्रपति रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँलाई नागरिकले विश्वाश गर्ने गरेर तत्काल सार्वजनिक गर्नुपर्छ । 

देशको आगामी निकासका लागि तपाईँहरूको पुस्ताले नेपाली सेनासँग होइन संविधानको संरक्षक संस्था राष्ट्रपतिसँग भौतिक संवादको थालनी गर्नुहोस् भन्ने माग सबैको छ । राजनीतिक मुद्दामा सेना होइन संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिसँगको वार्तालाई जोड दिऊँ । तपाईँहरूका मागलाई संस्थागत गर्न र संविधान अनुरूप नागरिक सरकार सरकार गठनका लागि राष्ट्राध्यक्ष पौडेलसँग वार्ता गर्ने हो भने पुर्खाले लामो त्यागबाट ल्याएको यो व्यवस्था जोगाउन प्राप्त जनमतको सम्मान र सडकको भावनालाई संस्थागत गर्न सहज हुनेछ । 

२. दलीय संवादको ढोका खोलौँ 

हामी लोकतन्त्रिक व्यवस्थामा छौँ । यसको विकल्प ‘उन्नत लोकतन्त्र’ बाहेक अरू केही हुन सक्दैन । यसको प्राप्तिमा जेनजी पुस्ताका तपाईँहरूको पनि योगदान छ ।  लामो सङ्घर्षबाट प्राप्त वर्तमान लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू पनि छन् । विगतमा यी दलको नेतृत्वबाट भएका त्रुटिलाई समग्र दल र व्यवस्था नै खराब भन्ने भाष्य जबरजस्त निर्माण गरिँदै छ । यसले लामो समयको राजनीतिक र सामाजिक बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ । 

विगतका राजनीतिक शक्तिहरूसँग र तपाईँहरूबिचको दूरी बढाउने मात्र होइन हाम्रो जेनवाई र अघिल्लो जेनएक्स पुस्ताबिच पुस्ता अन्तरको वर्ग विभाजन गर्ने ठुलो खेल चलिरहेको छ । यसले हामीले चाहेको समृद्ध नेपालको परिकल्पनाले साकार रूप पाउन चुनौती थपिने देखिन्छ । अतः यी दलहरूमा पनि तपाईँहरूको जेनजी पुस्ताले उठाएका मागहरूमा समर्थन जनाएर राष्ट्र हितका पक्षमा लाग्ने नेताहरू पनि छन् । जसले तपाईँहरूका मागलाई छिटो संस्थागत गन, अन्तर पुस्ता/शक्ति बिच एकाकार गर्न र सर्वस्वीकार्य गर्नमा मद्दत गर्दछ । त्यसैले राष्ट्रिय सहमति र आगामी निकासका लागि यहाँहरूले सर्वदलीय संवादको ढोकालाई ताल्चा नलगाई खुला गर्दै संवाद हीनता हटाउन थाल्दा उचित नै होला । 

३. सामुदायिक शान्ति स्थापनाका लागि जेनजी  भोलेन्टीयर परिचालन

यही २३ र २४ गते चलेको यहाँहरूको आन्दोलनले हरेक नागरिकमा कतिखेर कहाँ के हुन्छ ? भन्ने त्रास फैलिएको छ । हामीले सुरक्षा कबज ठान्दै आएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकै अघि २३ गते १९ जना नौ जवानले अनाहक ज्यान गुमाउनु पर्‍यो । २४ गते उहाँहरूकै अघि देशकै महत्त्वपूर्ण संरचना, व्यक्तिगत र व्यावसायिक संरचना छिनभर मै खरानी बने । यसले नागरिकमा त्रासको मात्र निकै बढेको छ । 

राज्यको कानुन विपरीत अपराध गरेको ठहर सहित कारागारमा रहेका हजारौँको सङ्ख्यामा कैदी बन्दी भागेका छन् । जसले केही स्थानमा अपराधजन्य गतिविधि पनि सुरु गरेका खबर बाहिरिएका छन् । यसबाट समाज थप डरले आक्रान्त बनेको छ । २६ गते राती हेटौडाको बाटो भएर राजधानी छिरेका दर्जनौँ सेनाका कन्टेनरहरूको प्रवेशको जानकारीले नागरिकमा अब के हुने हो ? भन्ने त्रास थप बढाएको छ  ।

त्यसलाई चिर्दै देशमा सबै प्रक्रिया सामान्य हुँदै जान्छ । हरेक नागरिक सुरक्षित हुन्छ भन्ने सन्देश प्रवाह गर्नु तपाईँहरूको अर्को तात्कालिक कार्यभार पनि हो । तसर्थ: समुदायमा फैलिएको यो सन्त्रासलाई कम गर्न र जेनजी पुस्ताले गरेको क्रान्ति हाम्रै लागि हो । हामी सुरक्षित मात्रै छैनौँ हाम्रो नागरिक तथा राजनीतिक अधिकार पनि सुरक्षित छ भन्ने प्रमाणित गर्न हरेक टोलबाट तपाईँहरूको पुस्ताका सदस्यहरूलाई जेनजी भोलेन्टीयरका रूपमा परिचालन गर्दै सामाजिक र राजनीतिक सद्भाव कायम गराउन पहल गर्दा राम्रै सन्देश प्रवाह हुने थियो । 

. भ्रष्टाचार नियन्त्रणको नीतिगत व्यवस्था र पुस्तान्तरणको कानुनी प्रावधान 

यहाँहरूले उठाएको र हरेक नागरिकले तपाईँहरूको आन्दोलनलाई साथ दिएको विषय भनेकै भ्रष्टाचार नियन्त्रण र नेतृत्वमा पुस्तान्तरण हो । जुन अघिल्ला राजनीतिक दलहरूबाट संभावन भएन । त्यसैले यहाँको प्रस्तावमा गठन हुने नयाँ  अन्तरिम सरकार र अब बन्ने कानुनमा सार्वजनिक पद धारण गरेका र आगामी दिनमा गर्ने जुनसुकै व्यक्तिहरूको सम्पत्ति व्यवहारिक सुद्धिकरण गर्ने र प्रमाणित नभएको सम्पत्तिलाई राज्यकरण गर्ने, विकास खरिद गर्ने विद्यामान प्रर्णालीको सामुल अन्त्य गर्ने विषयलाई नीति, विधि र कानुनी रूपमा व्यवस्था गरिनु पर्छ । 

यसका अलावा जुनसुकै भ्रष्टाचार  गर्नेलाई हदैसम्मको कारबाही गर्ने व्यवस्थालाई पनि कडाइका साथ लागु हुने गर्नुपर्ने देखिन्छ । नयाँ सोच र पुस्तालाई हरेक क्षेत्रको नेतृत्व हस्तान्तरणलाई बाध्यकारी बनाउन सीमित समय र कार्यकाल पश्चात् स्वतः पुस्तान्तरण हुने व्यवस्थालाई कानुनी रूपमै बाध्यकारी बनाउने विषयलाई अहिले देखि नै तयारीका लागि हाम्रो पुस्ताको पनि आग्रह  छ । 

नेपाललाई प्राप्त व्यवस्थामा अवस्था फेरिने प्रर्णालीको आवश्यकता हो । सम्भावित संविधान विहीनतालाई ख्याल गर्दै विद्यमान संवैधानिक दायरा भित्र रहेर सबै पविर्तनका लागि आवश्यक नीति तथा कानुनको तर्जुमा गर्न सम्भव छ । त्यसका लागि सबै क्षेत्रसँगको समन्वय, सहकार्य र सहअस्तित्वको भावनाबाट अघि बढे अपेक्षित परिवर्तनले मूर्त रूप धारण गर्नेछ । हार्दिक शुभकामना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवराज महतारा
नवराज महतारा
लेखकबाट थप