कारागारबाट बाहिरिँदा रविलाई ‘ब्याकफायर’ भएको हो ?
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले गरेको विद्रोहले राजनीतिक दलहरूलाई पनि ठुलो धक्का लाग्ने देखिएको छ । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण झन्डै दुई तिहाइ केपी ओली नेतृत्वको जननिर्वाचित सरकार नै ढल्यो ।
भदौ २७ गते राति नेपाली सेनाको मध्यस्थतामा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीका प्रतिनिधि बिचको सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छिन् । कार्कीकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते मध्यावधि घोषणा गरिसकेका छन् ।
विद्रोहपछि संसद्मा रहेका सबै राजनीतिक दलहरूमा ठुलो हलचल ल्याइदिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत परम्परागत दलहरूभित्र पार्टी पुनर्गठन गरी नयाँ नेतृत्व ल्याउनुपर्ने दबाब बढाइरहेका छन् ।
जेनजी विद्रोहको चक्रब्युहमा भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) समेत परेको छ । संसद्, सामाजिक सञ्जाल तथा विभिन्न मिडियाबाट रविको पक्षमा सशक्त प्रतिवाद गर्दै आएकी पूर्वसहमामन्त्री तथा विघटित संसद्का सांसद सुमना श्रेष्ठले आइतबार पार्टी छोडेको घोषणा गरेकी छन् ।

रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेकोमा आफूले असन्तुष्टि राख्दै आएको तर नेतृत्वले कहिल्यै आफ्नो गल्ती नस्विकारेकाले पार्टी छोडेको बताएकी छिन् । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ । कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने,’ रातोपाटीसँग उनले भनिन् । साथै, पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा उल्टै मिडिया ट्रायल हुन थालेकोमा स्वीकार्य नभएको उनको धारणा छ ।
तर केन्द्रीय सदस्य गणेश पराजुलीले परीक्षाको घडीमा श्रेष्ठले गलत निर्णय गरेको बताए । ‘उन्नत प्रजातान्त्रिक अभ्यास गरिरहेको हाम्रो पार्टीमा असन्तुष्ट हुनु स्वाभाविक नै हो । पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । सबैको यस्तै बेला परीक्षा हुने हो । सुमनाजीले पार्टी छोडेर जानुहोला भन्ने विश्वास लागेको छैन । तर लोकतन्त्रमा आफ्ना असन्तुष्टि राख्न पाइन्छ, चित्त नबुझ्दा छोड्न पाइन्छ,’ उनले भने ।
रविले शनिबार नख्खु कारागार फर्कनुअघि पार्टीभित्रको असन्तुष्टि सम्बन्धमा पनि केही सङ्केत गरेका छन् । पार्टी नै छोडेर गए पनि आ–आफ्नो स्वतन्त्रताको विषय भएको बताएका छन् ।

‘मेरो परिवारभित्रका साथीहरूप्रति केही कतै गुनासो छैन । म सबै साथीहरूका स्वतन्त्रताको सम्मान गर्छु । तपाईँहरूलाई राम्रो हुन्छ भने रवि लामिछाने कुनै यात्राको बाधक बन्दैन,’ उनले भनेका छन्, ‘रास्वपा कुनै पनि साथीको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमै खुसी छु । तर पार्टी त बन्छ बन्छ । आमा, बाको आशीर्वादले बन्छ । दिदीबहिनीको प्रेमले बन्छ । दाजुभाइको सक्रियता र सद्भावले पार्टीचाहिँ बन्छ ।’
रवि सहकारी ठगी आरोपमा अहिले देशका पाँचवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका छन् । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्किएका उनी चौतर्फी दबाब भएपछि शनिबार फेरि कारागार गए ।
कारागारबाट कैदी भगाएको विषयमा चौतर्फी आलोचना भएपछि रविले सफाइ दिएका छन् । जसले सबैभन्दा बढी कानुन मान्दछ, उसैलाई सबैभन्दा बढी कमजोर र बदनाम गराउने काम भइरहेकोमा उनले दुखेसो पोखे ।
‘त्यति बेला भीडबाट जेल जोगाउनका लागि चिठी दिएर निकालियो । अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु । जुन परिस्थितिबाट मलाई जेलबाट निकालियो, त्यो बेला पनि मलाई प्रशासनले निकालेको होइन । जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताको नाममा कुनै सचिव वा कर्मचारीलाई बदनाम गराउन म चाहन्न,’ उनले प्रस्ट पारे ।
कारागारबाट निस्केको विषयमा प्रतिप्रश्न गर्दै उनले भने, ‘मैले कालकुट विष पिएको धेरै भइसक्यो । अर्को एक थोपा पिएर म मर्दिनँ । मेरो चित्त दुखाइ यति हो । जेल जोगाउन मलाई भिडबाट धकेली धकेली बदनामी र मिडियाबाजी किन गर्नुपरेको होला ?’
- रविलाई ब्याकफायर ?
जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताका निजी निवास पारिरहँदा दुई पटक देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका रवि भदौ २४ कारागारबाट बाहिर निस्किए । रवि बाहिर आएपछि अब उनैलाई अन्तिम सरकारको प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज पनि सुनिन थाल्यो ।
रवि आफैँले भने कहिले पनि दाबी पेस गरेका थिएनन् । तर, जेनजीहरूले रविबारे पेस गरिएको प्रस्तावलाई अस्वीकार गर्दै उनलाई पुनः कारागार फर्कन माग गरे । जेनजी आन्दोलन रविलाई जेलबाट निकाल्न नभएको भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाएर विरोध सुरु भयो ।
राजनीतिक परिस्थितिको राम्रो मूल्याङ्कन नगरी भिडको आडमा कारागारबाट बाहिरिँदा रविलाई ‘ब्याकफायर’ भएको देखियो । रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पनि नेतृत्वको गलत निर्णयबारे सिम्बोलिक रूपमा चित्रण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा घरको एक कोठामा रातो रङले पोतिएको चित्रमा नेतृत्वमा देखिएको सङ्कटबारे प्रस्टसँग लेखेका छन् । उनले लेखेका छन्, ‘यो चित्र हेर्दा आफ्नै कामले फस्यो भन्ने लाग्दैन ? कहिलेकाहीँ यस्तै हुन्छ । सुरु गरेको कामले आफैलाई बन्धनमा पार्छ, जानिँदैन । अब के गर्ने त ?’
‘चनाखो भएर पर्खिने । रङ सुक्छ । अवस्था झन् प्रस्ट भएर आउँछ । त्यसपछि समाधान नै समाधान,’ उनले प्रस्ट पारेका छन् ।
पार्टीभित्र उनीसहित डा. तोसिमा कार्की लगायत नेताहरूले नेतृत्वको कार्यशैलीविरुद्ध विरोध जनाउँदै आएका छन् । गत महिना बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा नेतृत्वको आलोचना गर्दा मिडिया ट्रायल हुने गरेकोमा कार्कीले सार्वजनिक रूपमै गुनासो पोखेका थिइन् ।
अर्का एक केन्द्रीय सदस्यले नेतृत्वले बेलैमा मान्छे चिन्न नसक्दा पार्टी दुर्घटनामा पर्न लागेकोमा चिन्ता पोखे । ‘पार्टी स्थापना कालदेखि लागेका व्यक्तिलाई अवसर नदिएर सुमनाजीलाई मन्त्रीसम्म बनाइएको हो’, ती सदस्यले भने, ‘तर अहिले संकटको घडीमा छोडेको घोषणा गर्नुभयो । अलिअलि आलोचना गर्दा मिडिया ट्रायल त हुन्छ नै । बाहिर बोल्नुभन्दा आन्तरिक बैठकमा नै विरोध गरेको भए राम्रो हुन्थ्यो ।’
- रविको उतारचढाव
पुराना राजनीतिक दलहरूले देश बिगारे भन्दै रविले सञ्चारकर्म छाडेर २०७९ साल असार ७ गते रास्वपा पार्टी गठन गरे । पुराना पार्टीले गरेका भ्रष्टाचारको ‘एमस्वीच’ बन्द गरी सुशासन र समृद्ध मुलुक बनाउने उनले राष्ट्रिय सभा गृहमा उपस्थित समर्थक माझ वाचा गरेका थिए ।
सोही वर्ष मङ्सिरमा भएको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिक १३ गरी २० सिट जितेर पुराना पार्टीलाई धक्का दियो । पार्टी खोलेको ६ महिनामै रास्वपाले ११ लाख ३४ हजार लोकप्रिय मत पायो । रविले चितवन–२ बाट विपक्षी उम्मेदवारको भन्दा तेब्बर बढी मत पाएर विजयी भएका थिए ।
त्यति बेला कांग्रेसलाई पहिलो दल बनाएर सरकार बनाउने म्यान्डेट दिएको थियो । दोस्रो ठुलो दल एमाले बन्यो तर पहिलो र दोस्रो दललाई उछिनेर जम्मा ३२ सिट रहेको माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्यो । एमालेको समर्थनमा बनेको प्रचण्ड सरकारमा पार्टीको नेतृत्व गरेर रवि आफै सहभागी भए ।
सरकारमा सहभागी भएको ४२ दिनमै नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि रविले सांसद पद गुमाउन पुगे । तर, २०८० साल वैशाखमा भएको उपनिर्वाचनमा रविले चितवन–२ बाट पहिलाको तुलनामा अझै लोकप्रिय मत ल्याएर विजयी भए ।
लोकप्रिय मतबाट हौसिएका उनले आफूमाथि भएको राजनीतिक प्रतिसोध र पूर्वाग्रह खारेज भएको विश्लेषण गरे । दोस्रोपटक निर्वाचित भएसँगै फेरि प्रचण्ड सरकारमा पुरानै जिम्मेवारी लिएर सहभागी भए ।
नागरिकता प्रकरण सकिए पनि उनीमाथि दोहोरो राहदानी बोकेको आरोपमा सरकारी वकिल कार्यालयमा मुद्दा बाँकी नै थियो । प्रधानमन्त्री प्रचण्डमार्फत महान्यायाधिवक्ताको कार्यालयले रविको मुद्दा निष्क्रिय बनाएको आरोप त्यति बेला लागेको थियो ।
नागरिकता र राहदानी प्रकरणबाट मुक्त भएका रविमाथि सहकारी ठगीको गम्भीर आरोप लाग्यो । राजनीतिमा आउनुअघि उनी ग्यालेक्सी फोरके टेलिभिजनको कार्यकारी प्रबन्धन निर्देशक रहेका थिए । टेलिभिजनको अध्यक्ष जीबी राईसँग मिलेर पाँचवटा सहकारीबाट बचत रकम ठगी गरेको आरोपमा तत्कालीन विपक्षी दल कांग्रेसले संसद् अवरोध गर्यो ।
उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सहित कांग्रेसले २०८० फागुनको अन्तिमबाट लगातार संसद् अवरुद्ध गर्यो । अन्ततः सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन भयो ।
उक्त समितिले चार वटा सहकारीबाट बचत रकम हिनामिना गरी ६७ करोड रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको प्रतिवेदन सभामुखलाई बुझाएको थियो । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको टेलिभिजनमा रवि प्रबन्ध निर्देशक, जीबी राई अध्यक्ष र छविलाल बञ्जाडे उपाध्यक्ष थिए ।
सोही संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई प्रहरीले २०८१ कात्तिक २ गते पक्राउ गरी हिरासतमा राखेको थियो । कास्की, चितवन, रुपन्देही, काठमाडौँ अदालतको आदेशमा धरौटी रकम बुझाए रिहा भएका उनलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।
उच्च अदालतको आदेश बदर गर्न सर्वोच्च अदालतमा पुनरावेदन गरे पनि उनको पक्षमा आदेश आएन । त्यसपछि पार्टी स्थापनाको तेस्रो वर्षको अवसरमा असार ७ गतेदेखि रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै देशव्यापी हस्ताक्षर अभियान नै चलाइएको थियो । अभियानमा करिब ४० लाख हस्ताक्षर सङ्कलन भएको रास्वपाले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण