आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनपछि सबैलाई एकजुट भएर पुनर्निर्माणमा लाग्न कांग्रेस सुदूरपश्चिम संसदीय दलकाे अपिल

मङ्गलबार, ३१ भदौ २०८२, ११ : २९
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले पुनर्निर्माणमा एकजुट हुन अपिल गरेको छ।
  • दलले जेनजी आन्दोलनका माग सम्बोधन गर्न र देउवा दम्पतीमाथिको आक्रमणको छानबिन गर्न माग गरेको छ।
  • कांग्रेसले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

धनगढीमा । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूपछि मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सबैलाई एकजुट भएर पुनर्निर्माणमा लाग्न अपिल गरेको छ।  संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले उक्त अपिल जारी गरेको हो।

बैठकले जेनजी युवाहरूले उठाएका भ्रष्टाचारमुक्त समाज निर्माण र भ्रष्टाचारीलाई कारबाही गर्ने जस्ता जायज मागहरूलाई तत्काल सम्बोधन गर्न प्रदेश र संघीय सरकारसँग आग्रह गरेको छ।

संसदीय दलले पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। जेनजीको शान्तिपूर्ण प्रदर्शनमा लोकतन्त्र विरोधी, संविधान विरोधी र नेपाली कांग्रेसलाई कमजोर बनाउन चाहने समूहले घुसपैठ गरी यो आक्रमण गराएको दलको ठहर छ। दलले देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, आगजनी, लुटपाट र तोडफोडजस्ता घटनाहरूको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रदेश र संघीय सरकारसँग माग गरिएको छ। जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो, जसमा सुदूरपश्चिम प्रदेशका मुख्य सरकारी कार्यालयहरू पनि परेका थिए।

कांग्रेस संसदीय दलले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा, नागरिक तथा प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।साथै, आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिप्रति दलले गहिरो दुःख व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप