जेनजी आन्दोलनका क्रममा क्षति बेहोरेको कृष्णपुर नगरपालिका अत्यावश्यक सेवा प्रवाहमा जुट्यो
सारांश
- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जेनजी आन्दोलनको क्रममा नगरपालिका भवनमा आगजनी र नगर प्रमुखको घरमा लुटपाट भयो।
- आगजनीबाट विकास योजनाका फाइल र सरकारी कागजात जलेर नष्ट भए, र नगर प्रमुखका अनुसार २ करोडभन्दा बढीको भौतिक क्षति भयो।
- नगर प्रमुखले आन्दोलनकारीको भेषमा आएका व्यक्तिहरूले आगजनी गरेको र लुटपाटलाई आपराधिक कार्यको रूपमा लिएको बताए।
धनगढी । देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनले सुदूरपश्चिमका अन्य स्थानीय तहजस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पनि ठुलो क्षति भएको छ । आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा नगरपालिकाको प्रशासनिक भवनमा आगजनी गरिनुका साथै नगर प्रमुख हेमराज ओझाको घरमा समेत लुटपाट भएको छ ।
यो घटनाले करोडौँको भौतिक क्षतिमात्र गराएन, विकास र सुशासनको पक्षमा काम गरिरहेका जनप्रतिनिधिहरू गम्भीर पाठ पनि सिकाएको बताउँछन् ।
घटना भएको दिन अर्थात् भदौ २३ गते नगर प्रमुख हेमराज ओझा नगरपालिका बाहिर थिए । ‘त्यो दिन म महेन्द्रनगरमा थिएँ । जग्गा नापजाँच र डेंगु नियन्त्रणसम्बन्धी काम लिएर मालपोत कार्यालय र भूमि आयोग गएको थिएँ । त्यसपछि हात्तीको आतंकबाट जनतालाई जोगाउन पटाकाको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पुगेको थिएँ,’ उनले रातोपाटीसँग भने ।
काम सकेर फर्किने क्रममा बाटोमै नगर प्रमुख ओझाले आन्दोलन हिंसात्मक बन्दै गएको खबर पाए । तत्कालै उनले नगरपालिकाका कर्मचारी र चालकहरूलाई फोन गरेर सबै सरकारी गाडीलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा राख्न निर्देशन दिए ।
भोलिपल्ट २४ गते बिहान १० बजेसम्म उनी नगरपालिकामै थिए । उनले गुलरिया बजारमा आन्दोलनकारीहरूसँग संवाद गरी तोडफोड र आगजनीजस्ता कार्यमा संलग्न नहुन आग्रह गरेका थिए । केहीबेरमा परिस्थितिले अर्कै मोड लियो ।
नगर प्रमुख ओझाका अनुसार, आन्दोलनकारीको भेषमा आएका घुसपैठियाहरूले पटक–पटक नगरपालिका भवनमा प्रवेश गर्ने प्रयास गरे । अपराह्न करिब ४ः३० बजे नगरपालिका भवनमा उनीहरूले आगो लगाइदिए ।
आगजनीबाट नगरपालिकाको भवनमा ठुलो क्षति पुग्नुका साथै विकास योजनाका फाइलहरू, भूमि आयोगसँग सम्बन्धित महत्त्वपूर्ण कागजात र अन्य सरकारी दस्तावेज जलेर नष्ट भएका छन् ।
‘नगरपालिकामा आगजनी गरेपछि उनीहरू म बस्दै आएको मेरो भाइको घरमा पुगेर लुटपाट मच्चाए,’ नगर प्रमुख ओझाले भने । उनका अनुसार लुटपाटमा उनकी आमाको सुन, घरमा रहेको नगद, एउटा ल्यापटप र करिब २५० अमेरिकी डलरसमेत लगिएको छ ।
प्रारम्भिक अनुमानअनुसार, नगरपालिकामा २ करोडभन्दा बढीको भौतिक सामग्री (कम्प्युटर, फर्निचर आदि) क्षति भएको छ । जलेको भवन मर्मत गर्न करिब १ करोड लाग्ने अनुमान छ ।
यति ठुलो क्षति हुँदाहुँदै पनि नगरपालिकाले सेवा प्रवाह चलायमान बनाउन जनप्रतिनिधिहरू प्रयासरत छन् ।
‘स्वास्थ्यजस्तो अत्यावश्यक सेवा हामीले घटना भएकै दिनदेखि निरन्तर दियौँ । आइतबारदेखि वडा कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा छन् र नगरपालिकाबाट दिन मिल्ने सिफारिसजस्ता आंशिक सेवा पनि हामीले सुरु गरिसकेका छौँ,’ नगर प्रमुख ओझाले भने ।
उनी जेनजी पुस्ताले उठाएका भ्रष्टाचार र बेथितिविरुद्धका मागहरू जायज भएको स्वीकार गर्छन् । ‘देशमा व्याप्त भ्रष्टाचार र नातावादविरुद्ध उठेको आवाज सही थियो र हामीले त्यसलाई समर्थन पनि गरेका थियौँ,’ उनले भने, ‘आन्दोलनको नाममा भएको लुटपाट र आगजनीलाई म विशुद्ध आपराधिक काम मान्छु । यो घटनाले हाम्रो समाजको नकारात्मक मनोवृत्ति पनि देखाउँछ ।’

लुटपाट र चोरीलाई आन्दोलनको अङ्ग मान्न नसकिने उनले प्रस्ट पारे । उनले भने, ‘यस्तो मानसिकताले देशमा परिवर्तन आउँदैन ।’
आफ्नो परिवारले पञ्चायतकालदेखि नै प्रजातन्त्रका लागि लडेको र २०५८ सालमा आफ्नै दाइले प्रजातन्त्रकै लागि ज्यान गुमाएको स्मरण गर्दै नगर प्रमुख ओझाले यस्ता घटनाबाट आफू विचलित नभई इमानदारीपूर्वक जनताको काममा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
उनले देशको वर्तमान राजनीतिक प्रणालीमा पनि सुधारको आवश्यकता औँल्याए । ‘त्रिशंकु संसद्, समानुपातिक निर्वाचन प्रणाली र अनावश्यक राजनीतिक संरचनाले अस्थिरता निम्त्याएको छ । कार्यकारी प्रधानमन्त्री र केही अधिकारसहितको बलियो राष्ट्रपति संस्था भएमा मात्र देशले स्थायित्व पाउँछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण