पुनर्वास नगरपालिका अत्यावश्यक सेवा जसोतसो सञ्चालनको तयारीमा
सारांश
- कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यालयमा जेनजी पुस्ताको आन्दोलनले आगजनी गर्दा भवन पूर्ण रूपमा क्षतिग्रस्त भयो।
- नगरपालिका प्रमुख तोय प्रसाद शर्माले आन्दोलनको स्वरुपबारे अनभिज्ञता व्यक्त गर्दै अत्यावश्यक सेवा सुचारु गर्ने बताए।
- आन्दोलनमा व्यक्तिगत रिसइबी वा अन्य समूहको संलग्नता हुनसक्ने आशंका गर्दै उनले भ्रष्टाचार अन्त्यको मागमा समर्थन जनाए।
धनगढी । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यालय ध्वस्त भएको छ । जनताको सबैभन्दा नजिकको सरकार भनिएका स्थनीय तह पनि आन्दोलनको निसाना बने ।
पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा भदौ २४ गते आफ्नै घरमा थिए । अघिल्लो दिन काठमाडौँमा जेनजी आन्दोलनले उग्र रूप लिए पनि आफ्नो नगरपालिकामा यति भयानक घटना होला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् ।
‘सामान्य विरोध प्रदर्शन गर्लान् भन्ने सोचेका थियौँ, तर आगजनी नै गर्लान् भन्ने सोचेकै थिएनौँ,’ उनले भने ।
दिउँसो करिब ११ बजे आन्दोलनकारीहरूको समूह नगरपालिका कार्यालयमा आइपुग्यो । सुरुमा सामान्य तोडफोडमात्रै भयो । केही समयपछि उनीहरूले नजिकैको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्न थाले । प्रहरीको ध्यान त्यसतर्फ मोडियो । प्रहरी जनशक्ति पनि कम थियो । यही मौका छोपेर आन्दोलनकारीको अर्काे समूह पुनः नगरपालिका भवन फर्कियो र भित्र पसेर आगो लगाइदियो ।
‘प्रहरीहरू इलाका कार्यालय बचाउनतिर लागे, यहाँ जनशक्ति कम भयो । त्यही मौकामा आन्दोलनकारीहरूले भवनभित्र पसेर आगो लगाएछन्, भवनभित्रका कम्प्युटर, सर्भरदेखि सबै कागजात जलेर ध्वस्त भए,’ नगरप्रमुख शर्माले भने । घटना उग्र बन्दै गएपछि सुरक्षाका कारण अपराह्न ४ बजे आफ्नो घर छाडेर गाउँकै एक साथीकोमा आफूले आश्रय लिएको उनको भनाइ छ ।
आगजनीका कारण पुनर्वास नगरपालिकाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । नगरपालिकाले प्रदान गर्ने सबै सेवा अहिले पूर्ण रूपमा ठप्प छ । क्षतिको यकिन विवरण संकलन गर्न एक प्राविधिक टोली गठन गरिएको छ । उक्त टोलीले विवरण संकलन गर्ने छ । क्षतिको विवरणसहितको प्रतिवेदन आउन बाँकी छ ।
सेवा प्रवाह रोकिएपछि नागरिकहरूलाई परेको मर्काप्रति चिन्तित देखिएका नगरप्रमुख शर्माले अत्यावश्यक सेवा चाँडै सुचारु गर्ने बताए । ‘जनतालाई अति आवश्यक पर्ने सेवाहरू कम्तीमा एउटा कोठाबाट भए पनि सञ्चालन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘दुई–चार दिनभित्रै केही काम सुरु गर्छाैं । नयाँ कम्प्युटर र सर्भर जडान गर्न समय लाग्ने भएकाले पूर्ण सेवा सुचारु हुन भने केही समय लाग्ने देखिन्छ ।’

यो घटनाले आफूलाई गम्भीर पाठ सिकाएको नगरप्रमुख शर्मा बताउँछन् । ‘काठमाडौँमा ठुला–ठुला घटना हुँदा त्यसको असर स्थानीय तहसम्म पर्ने रहेछ । केन्द्रमा नेताहरूले जे गर्छन्, त्यसको छिटा यहाँसम्म आइपुग्दो रहेछ,’ उनले भने ।
आन्दोलनमा सहभागी हुनेमध्ये कतिपय वास्तविक जेनजी विद्यार्थी नभई व्यक्तिगत रिसइबी साँध्न चाहने वा अन्य कुनै समूहका व्यक्ति हुन सक्ने नगरप्रमुख शर्माको आशंका छ । ‘स्थानीयले रोक्न खोज्दा पनि आन्दोलनकारीले मानेनन् भन्ने कुरा आएको छ । अहिले धेरैलाई यो घटना गलत भयो भन्ने पछुतो पनि छ,’ उनले भने ।

जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार अन्त्य गर्ने रहेको र त्यसमा आफ्नो पूर्ण समर्थन रहेको शर्मा स्पष्ट पार्छन् । उनले भने, ‘भ्रष्टाचार देशबाट निर्मूल हुनैपर्छ, चाहे त्यो माथिल्लो तहमा होस् वा तल्लो तहमा । म निर्वाचित भएदेखि नै नगरपालिकामा भ्रष्टाचार शून्य बनाउने अभियानमा लागेको छु ।’
अहिले विभिन्न संघसंस्था र व्यक्तिहरूले नगरपालिकाको पुनर्निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार बस्ने कार्यपालिकाको बैठकले सहयोग संकलन र पुनर्निर्माणबारे औपचारिक निर्णय गर्नेछ । यो दुःखद् घडीमा सबैको सहानुभूति र सहयोगले नगरपालिकालाई छिटै पुरानै लयमा फर्काउन मद्दत पुग्नेमा नगरप्रमुख शर्मा आशावादी छन् ।

यो घटनाले भौतिक संरचनामा क्षतिमात्र पुर्याएन, स्थानीय तहको सुरक्षा र स्थानीय तहमा राष्ट्रिय राजनीतिको प्रभावबारे गम्भीर समीक्षा गर्नुपर्ने सन्देश पनि दिएको नगरप्रमुख शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण