दसैँको सामग्री बनाउन व्यस्त भक्तपुरका कुम्हालेहरू
भक्तपुर । सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको सामग्री तयार गर्न निकै व्यस्त छन् । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । नजिकिँदै आएको दसैँका कारण राति समेत काम गर्नुपर्ने व्यस्तता छ ।
दसैँको घटस्थापनादेखि सप्तमी, महाअष्टमी, महानवमी र बडादसैँको दिन पूजा गर्न आवश्यक पर्व सामग्रीहरू बनाउन अहिले उहाँको परिवारलाई भ्याइनभ्याइ भएको हो । “दसैँ आइसक्यो । अर्डरको सामान बनाउन अझै बाँकी छ । श्यामले भने “अहिले परिवारका सबै सदस्यहरू यसै काममा व्यस्त छन् । छोराछोरी बिहान र स्कुल छुट्टी पछि यसै काममा व्यस्त छन् ।”
श्यामका बुबाआमा, श्रीमती, बहिनी, छोराछोरीहरू घटस्थापनामा पूजा कोठामा राख्ने गमला, सानो ध्याम्पो, धुपौरो, दूध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दूध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्लीलगायतका सामग्री बनाउनमा व्यस्त छन् । दसैैँमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पूजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । यही माग धान्न अहिले श्यामका परिवारका सदस्यहरू माटो मुछ्ने, भाँडा बनाउने, सुकाउने, रङ लगाउने, आगोमा राख्नेदेखि सम्पूर्ण तयारी गरी बजार लाने काममा व्यस्त छन् ।
त्यसैगरी भक्तपुरको तालाक्को टोलका अर्को व्यवसायी सुन्दर प्रजापतिलाई पनि यतिबेला भ्याइनभ्याइ छ । बिहान उठेदेखि दसैँको अर्डरका लागि आएको सामग्री बनाउने कार्यमा व्यस्त छन् । दसैँ र तिहारको समयमा अर्डर आएका पर्व सामग्री मागअनुसार समयमा पुर्याउन सके वर्ष दिनका लागि घर चलाउन र बच्चाहरूको स्कुलको खर्च सजिलै पुग्ने, अरु बेला त्यति धेरै व्यस्त हुन नपर्ने सुन्दर बताउँछन् । उनले भने, “यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाहरूबाट अर्डर आएका पर्व सामग्रीहरू समय पुर्याउन सके खासै अरु बेला व्यस्त हुन् पर्दैन । यसैले वर्ष दिनमा खान, लाउन र छोराछोरीको खर्च पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दसैँ, तिहार र छठको लागि तीन महिना हो । अरु बेला फुर्सदमा काम गरेपनि खासै फरक पर्देन । यतिले वर्षदिनमा गुजारा गर्न सहज हुन्छ ।”
बजारमा विभिन्न आधुनिक सामान भए पनि पर्वको समयमा माटोको सामग्री बढी प्रयोग हुने भएकाले पनि यस्को व्यापार निकै फस्टाउँदै गएको व्यापारीहरू बताउँछन् । यस व्यवसायमा लागत र परिश्रम अनुसार बढी आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ताहरू आकर्षित भएको देखिन्छ ।
भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९०० सम्मका सामग्री उत्पादन हुन्छ । चाडपर्वको समय भक्तपुरको तालक्को र सूर्यविनायकको मात्र नभएर सूर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र कुम्हालेहरूको परिवारका सदस्यहरू समेत पर्व सामग्री बनाउने कायमा व्यस्त देखिन्छ । यो सयम अधिकांस कुम्हाले परिवारका सदस्यहरू भाँडा बनाउने, सुकाउने, रङ लगाउने, बुट्टा राख्ने, मिलाएर बजार पठाउने कार्यमा व्यस्त छन् ।
भक्तपुरमा उत्पादन गर्ने पर्व सामग्रीहरू नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारीको देवगृह, भक्तपुर नगर, काठमाडौँ, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यवसायी सुन्दर प्रजापतिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
-
घर कर्जाको सीमा ३ करोड, पहिलो घर खरिदमा ८० प्रतिशतसम्म ऋण पाइने
-
वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो
-
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण