सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि

सोमबार, २२ असार २०८३, २० : ०९
सोमबार, २२ असार २०८३

कालीकोट । जिल्लामा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठानको संख्या बढेको पाइएको छ। आर्थिक गणना २०८२ को प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा उद्योग, व्यापार, सेवा र व्यावसायिक प्रतिष्ठान उल्लेखनीय रूपमा वृद्धि भएका हुन्।

जिल्लाको आर्थिक संरचना, रोजगारीको अवस्था र व्यावसायिक तथ्याङ्क सङ्कलन गर्न नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले गणक परिचालन गरी आर्थिक गणना गरेको थियो।

आर्थिक गणना २०७५ अनुसार जिल्लामा तीन हजार ५३५ वटा व्यावसायिक प्रतिष्ठान रहेकामा आर्थिक गणना २०८२ मा त्यो संख्या बढेर चार हजार ८९१ पुगेको राष्ट्रिय तथ्याङ्क विभाग जिल्ला कार्यालयका प्रमुख वसन्त रजौरेले बताए।

गणना अवधिभर प्राप्त प्रश्नावली तथा अनलाइन प्रणालीमा प्रविष्ट विवरणको नियमित अनुगमन, परीक्षण र प्रमाणीकरणपछि २०७५ को पहिलो गणनाको तुलनामा ३८ प्रतिशत बढी आर्थिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको जानकारी दिइयो।

रजौरेले भने, “कागजी प्रश्नावलीमार्फत र २७ वटा इन्टरनेटको माध्यमबाट आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठान तथा व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको थियो।”

आर्थिक गणना २०८२ अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा गणक र सुपरिवेक्षक परिचालन गरी उद्योग, व्यापार, सेवा, होटल, वित्तीय संस्था, कृषि तथा अन्य आर्थिक प्रतिष्ठानको विवरण प्रश्नावली प्रणालीमार्फत सङ्कलन गरिएको थियो।

रजौरेले भने, “छुट भएका केही विवरणसमेत पुनः सम्पर्क गरी अद्यावधिक गरियो।”

गणनाबाट सङ्कलित तथ्याङ्कले देशको आर्थिक अवस्थालाई यथार्थ रूपमा प्रतिबिम्बित गर्दै आगामी नीति निर्माण, विकास योजना तर्जुमा तथा लगानीमैत्री वातावरण सिर्जना गर्न महत्वपूर्ण आधार प्रदान गर्ने रजौरेले बताए।

आर्थिक गणनाको मुख्य उद्देश्य जिल्लामा रहेका उद्योग, व्यापार र सेवा क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउनु रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप