विषादीरहित तरकारी उत्पादनतर्फ आकर्षित भए किसान
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपछि यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् ।
बुलिङ्टार गाउँपालिका–१ की पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोल मल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताइन् । “हामीले झोल मल–१, झोल मल–२ र झोल मल–३ तयार पारेका छौँ,” उनले भनिन्, “तीनवटै झोल मलको प्रयोग फरकफरक कामका लागि हुन्छ ।” मल–१ माटो सुधारका लागि, मल–२ कीराको सङ्क्रमणबाट जोगिन तथा मल–३ कीरा भगाउनका लागि प्रयोग गर्ने गरिएको मगरले जानकारी दिइन् ।
झोल मल बनाउँदा स्थानीयस्तरमा उत्पादन हुने असुरो, खुर्सानी, लसुन, अदुवा, निमपत्ता, गाईको पिसाबलगायत सामग्री प्रयोग हुने उनको भनाइ छ । यहाँका किसानलाई प्राङ्गारिक खेती गर्न प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा अभिमुखीकरण तालिम सञ्चालन गरेको थियो ।
बुलिङ्टार गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक विष्णु ढकालले पालिकाभित्रका कृषक पछिल्लो समय प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका बताए । “यहाँका किसानले पहिला अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर अन्नबाली उब्जनी गर्ने गर्थे,” उनले भने, “हिजोआज कृषकमा सचेतना बढेको छ, विषादीले पुर्याउने हानिबारे जानकारी पाएपछि उनीहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् ।”
पालिकाले कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न विभिन्न समयमा तालिम दिने तथा विभिन्न स्थानीय प्रजातिका तरकारी बालीका बीउ उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गरिदिने काम गरेको ढकालले बताए ।
यहाँका किसानले उत्पादन गर्ने गरेको तरकारी स्थानीय बजारसँगै कावासोती, गैँडाकोट र नारायणघाटसम्म पुग्ने गरेको छ । स्थानीय खुमसरा आले मगरले आफूहरूले काँक्रो, टमाटर, भिण्डी, करेला, बोडी, फर्सी, काउली, बन्दालगायत तरकारी उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको बताइन् । “विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारीको माग धेरै छ,” उनले भनिन्, “हामीले उत्पादन गरेको तरकारी बेच्नका लागि बजारको समस्या हुने गरेको छैन ।”
बुलिङ्टारका कृषकले उत्पादन गरेको तरकारी घरबाटै बिक्री हुँदै आएको मगरले बताइन् । तरकारी बिक्रीबाट हुने आम्दानीले दैनिक घरखर्च चलाउनुका साथै केटाकेटीको शिक्षामा खर्च गर्दै केही रकम सहकारीमा बचत गर्न पुग्ने गरेको उनको भनाइ छ ।
आफूले नमुना प्लट निर्माण गरेर तरकारीखेती गर्दै आएको मगरले जानकारी दिइन् । “हामीले भक्तपुरे काँक्रो लगाएका छौँ, घरबाटै प्रतिकिलो रु ५० मा बिक्री हुने गरेको छ,” उनले भनिन् । प्राङ्गारिक खेती गर्न थालेपछि आफूहरूलाई रासायनिक मलको अभावमा पनि समस्या नहुने भन्दै उनले विषादीबाट हुने स्वास्थ्यसम्बन्धी समस्याको चिन्ता पनि हराएको बताइन्।
विषादीरहित तरकारीखेती सुरु गरेपछि सुरक्षित पर्यावरणसँगै स्वास्थ्य राम्रो भएको भन्दै स्थानीय कृषक खुसी भएका छन् । स्थानीय कृषक टकबहादुर खण्डलुकले पहिला हाइब्रिड खेती गर्ने गरेकामा अहिले स्थानीय प्रजातिका तरकारी तथा अन्नबाली खेती सुरु गरेको बताए ।
केही वर्षअघिसम्म नवलपुरको विकट पहाडी क्षेत्रका रूपमा रहेको बुलिङ्टार गाउँपालिकालाई कालीगण्डकी करिडोरले छोएपछि अहिले यहाँ उत्पादन भएका कृषिजन्य सामग्री सहजै बजार केन्द्रसम्म पुग्ने गरेका छन् । यहाँबाट सङ्कलन गरिएका कृषिउपज एक घण्टाभित्र नारायणघाटसहितका बजार केन्द्रमा पुर्याइने गरेको कृषकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण