सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

ज्ञानेन्द्रलाई प्रदेश सांसदले भनेः कर्णालीबाट संघमा हुने सांसदहरूले केही पनि योगदान गरेनन्

सोमबार, २२ असार २०८३, १९ : ४९
सोमबार, २२ असार २०८३

सारांश

  • राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गमा दुर्घटना हुँदा प्रदेश सभाले केही नगरेको टिप्पणी गरे ।
  • जुम्लाबाट प्रदेश सभामा निर्वाचित सांसद तथा पूर्वमन्त्री टेकराज पछाईले शाहीको टिप्पणीको प्रतिवाद गर्दै कर्णाली प्रदेश सभाले राजमार्गको विषयमा संकल्प प्रस्ताव पारित गरेको बताए ।
  • पछाईले कर्णालीबाट संघमा प्रतिनिधित्व गर्ने सांसदहरूले राजमार्गका लागि कुनै योगदान नगरेको र आफ्नो असक्षमता छोप्न प्रदेश सभालाई आलोचना गरेको आरोप लगाए ।

सुर्खेत । सोमबारको प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले कर्णाली नदीमा गाडी र मान्छे बेपत्ता हुँदा ‘कर्णाली प्रदेश सभामा भाग नपुगेको भन्दै एकअर्काबिच लडाइँ लडिरहेका थिए’ भन्ने तर्कलाई उनकै जिल्ला जुम्लाबाट प्रदेश सभामा निर्वाचित सांसदले प्रतिवाद गरेका छन् । 

जुम्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद तथा पूर्वमन्त्री टेकराज पछाईले शाहीले भाषण मात्रै धेरै गर्ने बताएका छन् । पछाईले आफ्नो असक्षमता छोप्न प्रदेश सभालाई आलोचना गरिएको बताए ।

बिहीबार दैलेखको साङ्गेतडामा दुर्घटना भएको गाडी र यात्रु कर्णालीमा बेपत्ता भएको विषयमा बोल्दै सांसद शाहीले प्रदेश सभामा भएको गतिविधिमाथि टिप्पणी गरेका थिए । ‘गाडी दुर्घटना भइरहेका बेला केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टोरमा घुमिरहेका थिए, यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागबन्डाका लागि एकआपसमा झगडा गरिरहेका थिए,’ प्रतिनिधि सभा बैठकमा शाहीले भने । उनले केन्द्रदेखि प्रदेशको सत्ता चलाउनेहरू जनताप्रति उत्तरदायी नभएको भन्दै यस्तो टिप्पणी गरेका थिए । 

शाहीले भनेजस्तै कर्णाली राजमार्गमा दुर्घटना भइरहेको बेला बिहीबार प्रदेश सभामा बजेटको विषयलाई लिएर विपक्षी दलले अवरोध गर्न खोज्दा धकेलाधकेल नै भएको थियो । तर उनकै जिल्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक पछाईले शाहीको टिप्पणीको प्रतिवाद गरेका हुन् । 

‘सार्वभौम संसदमा बिषय उठ्छन्, विधि प्रक्रियामा छलफल हुन्छन् सहमति असहमतिहरु रहन्छन्,’ पछाईले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘कर्णाली प्रदेशसभा चलिरहेको समयमा कर्णाली राजमार्गमा दुर्घटना भएको विषयलाई कर्णाली प्रदेश सभामा गम्भीरताका साथ कुरा उठेको सर्वविधितै छ ।’ 

कर्णाली प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र अनुसार आवश्यक पहलकदमी पनि गरेको पछाईले बताएका छन् । कर्णाली प्रदेश सभामा कर्णाली राजमार्गको विषयमा आफू नै समर्थक भएर संकल्प प्रस्ताव पारित समेत गरेको बताए । 

‘त्यसमा केन्द्रको मन्त्रालय र जनप्रतिनिधिहरू कहिल्यै पनि सिरियस भएको देखिएन,’ पछाईले कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदलाई लक्षित गर्दै भने, ‘यस्तो हुनु कर्णालीका जनताका लागि दुखःद विषय हो ।’ 

तर आज सङ्घीय सदनमा कर्णाली प्रदेशसभाबारे भएका गलत टिप्पणीबाट आफू अचम्मित भएका उनले लेखेका छन् । 

उनले अगाडि भनेका छन्, ‘कर्णाली राजमार्ग संघको अधिकार क्षेत्र हो, कर्णालीबाट संघमा भएका प्रतिनिधिहरूले कर्णाली राजमार्गका लागि केही पनि योगदान नगरेको सत्य हो ।’

साथै, जनप्रतिनिधिले प्रश्न गर्ने हैन, जनताले गरेका प्रश्नको उत्तर कामबाट दिनुपर्ने पछाईले बताएका छन् ।

‘बजेटका लागि सरकारमै हुनुपर्छ भन्ने छैन, जनप्रतिनिधिको आफ्नो समन्वय र पहलकदमीबाट पनि राजमार्ग लगायत आफ्ना क्षेत्रमा प्रशस्त बजेट गएका उदाहरणहरू छन्,’पछाईले शाही लक्षित टिप्पणी गरे, ‘आफ्नो कर्तव्य, दायित्वबाट पन्छिएर आफ्नो असक्षमतालाई छोप्न प्रदेश सभालाई आलोचना गर्नुभन्दा पदीय दायित्व, कर्तव्य र संविधान अध्ययन गरेर आफ्नो अधिकार क्षेत्रमा सम्बन्धित मन्त्रालय र सरकारसँग पहलकदमी गर्दा उपयुक्त हुन्थ्यो कि ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप