जेनजी आन्दोलनमा डराएर पहिला धमाधम राजीनामा, अहिले खुरुखुरु काम
बुटवल । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठको वीरपुरमा रहेको घरमा जेनजी आन्दोलनकारीले तोडफोड गर्दै सामानहरू जलाइदिए ।
घर ध्वस्त पार्ने धम्की दिएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालबाट भिडियो सन्देशमा आफूले मेयर पद त्याग गरेको घोषणा गरेका थिए । तर उनी अहिले फेरि नगरपालिकाको काममा फर्कन थालेका छन् ।
उक्त नगरपालिकाका उपमेयर मीरा थारू, कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, उपप्रमुख रीनाकुमारी कुर्मी र विभिन्न वडा अध्यक्षहरूले राजीनामा दिएको घोषणा गरेका थिए ।
उनीहरू सबै अहिले फेरि कामकाजमा फर्कन थालेका छन् । मेयर श्रेष्ठले भने, ‘घरमै आएर आगजनी तथा तोडफोड गरेपछि जीवन र परिवारभन्दा पद ठुलो नभएकाले राजीनामा घोषणा गरेको थिएँ, तर अहिले फेरि काममा आएको छु ।’
जिल्ला समन्वय समिति कपिलवस्तुले आन्दोलनकारीले धम्की दिएका कारण कसैले पनि सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पठाएको राजीनामा स्वीकृति नगर्ने उल्लेख गर्दै काममा फर्कन आग्रह गरेपछि श्रेष्ठले अहिले नगरपालिकाको काम सुरु गरेको बताए । जिल्लामा अन्य स्थानीय तहका पदाधिकारीहरूले पनि अहिले काम सुरु गर्न थालेका छन् ।
आन्दोलनका क्रममा राजीनामा दिने लुम्बिनी प्रदेशका अन्य जिल्लाका पनि धेरै जनप्रतिनिधिहरू छन्, जो अहिले पुनः काममा फर्किएका छन् । युवा प्रदर्शनकारीको डर–धम्कीका कारण राजीनामा दिनुपरेको उनीहरूले तर्क गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित रुपन्देही देवदह नगरपालिकाका प्रमुख (मेयर) ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ र दाङको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डीसीले पनि पदबाट राजीनामा दिएको फेसबुकमार्फत घोषणा गरेका थिए । देवदहका मेयर खरेलको घोडाहामा रहेको घर आन्दोलनकारीहरूले आगजनी गरेर ध्वस्त बनाएका छन् । घरबाट सुन, चामलदेखि सबै लुटेर राजीनामा नदिए मार्ने धम्की दिएपछि बाँच्नका लागि राजीनामा घोषणा गरेको उनले रातोपाटीसँग बताए ।
आन्दोलनकारीले उक्त नगरपालिकाकी उपमेयर गुरुङको पनि घरमा ढुंगामुढा गरेका थिए । देवदह नगरपालिकाले भदौ २९ गतेबाट सेवा सुरु गरेको छ तर उपमेयर गुरुङले भनिन्, ‘मेरो यता घर मर्मत पनि गरेको छु, कति दिन बाहिर बस्ने ?’ आन्दोलनकारीको त्रासले राजीनामा दिने वडाध्यक्षदेखि प्रदेशका मन्त्रीसम्म छन् ।
रुपन्देही क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित प्रदेश सभाका सांसद चन्द्रकेश गुप्ताले पनि प्रदेशसभाबाट राजीनामा दिएको फेसबुकबाट घोषणा गरेका थिए । आन्दोलनकारीले घर तोडफोड गर्ने धम्की दिएपछि राजीनामा दिएका गुप्ताले अहिले उक्त पोस्ट पनि हटाएको बताए ।
सभामुखलाई तथा अन्य कतै पनि राजीनामा नबुझाएको तर परिस्थितिले फेसबुकमा लेख्न बाध्य पारेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सभामा कसैले पनि अहिलेसम्म राजीनामा पत्र नबुझाएको बताए ।
पश्चिम नवलपरासीमा रहेको आफ्नो घर आन्दोलनकारीले जलाउने खबर सुनेपछि लुम्बिनी प्रदेशका वन मन्त्री देवकरणप्रसाद कलवारले पनि सामाजिक सञ्जालबाटै राजीनामा दिएका थिए ।
भदौ २४ मा आन्दोलनकारीले उनको घर जलाएर ध्वस्त बनाए पनि कलवारले मुख्यमन्त्रीलाई राजीनामा पठाएनन् । त्यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
आन्दोलनकारीलाई सरकारले चरम दमन गरेको भन्दै फेसबुकमार्फत अग्रवालले मन्त्री पदत्याग गरेको पत्र भदौ २४ गते मुख्यमन्त्री कार्यालयमा पठाएका थिए, तर मुख्यमन्त्रीले राजीनामा अस्वीकृत गरे । मुख्यमन्त्रीले राजीनामा अस्वीकृत गरेपछि अहिले उनी मन्त्रालयको काममा व्यस्त छन् ।
यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ बाट संघीय सांसद जितेका नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्रीसमेत रहेका सुरेन्द्र आचार्यले पनि भदौ २४ गते नै राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए, तर संसद् नै विघटन भएपछि राजीनामाको अर्थ नभएको उनले बताए । आफ्नो घर आन्दोलनकारीले ध्वस्त बनाए पनि पार्टीको काममा भने लागिपरेको उनको भनाइ छ ।
पार्टीमा पनि उस्तै समस्या
जेनजी आन्दोलनको क्रममा रुपन्देहीका कांग्रेस सिद्धार्थनगर कार्यसमिति सभापति कोसिसबहादुर खड्का, उपसभापति देवराज न्यौपाने, उपसभापति किरण घिमिरे, कोषाध्यक्ष पराग दास गोर्खाली, सहसचिव आदर्श गुरुङ, कृष्ण सहनी तथा तरुण दल नगर सभापति दीपेन्द्र बुढाप्रीतिले पार्टीबाट सम्पूर्ण रूपमा सम्बन्धविच्छेद गरेको घोषणा गरेका थिए ।
उनीहरूले भदौ २४ गते सामाजिक सञ्जालमा ‘निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने, यस्ता नालायक पार्टीमा बस्नु हाम्रो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ’ लेखेका थिए ।
त्यसपछि पनि उनीहरू पार्टीको काममा फर्किसकेका छैनन् । कांग्रेस जिल्ला कार्य समिति, भैरहवाले असोज ३ गते विधान दिवसको अवसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा पनि सभापति कोसिस खड्का उपस्थित भएनन् । खेलाडीसमेत रहेका खड्काले अब पार्टीमा सायद नफर्कने रातोपाटीलाई बताए । भने, ‘मैले एक्लै गरेको निर्णय होइन, साथीहरू सहित पार्टी छाडेको घोषणा गरेको थिएँ । सायद फर्कँदैनन् होला ।’
एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्वमेयर चित्रबहादुर कार्कीले पनि फेसबुकमार्फत नै एमाले छाडेको घोषणा गरेका थिए, तर उनले उक्त घोषणा गरे पनि जिल्लामा कुनै पत्र अहिलेसम्म नपाएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए ।
उक्त आन्दोलनका क्रममा सबैजसो नेताका घरमा आगजनी, तोडफोड र लुटपाट भएका छन् । त्यसपछि धेरैले पदबाट राजीनामाको घोषणा गरेका थिए । कतिपयले त पार्टी नै छाडेको पनि बताएका थिए । यसलाई बाध्यता र पार्टीलाई अप्ठ्यारो परिस्थितिमा छाडेर अन्यत्र अवसर लिने दुवै प्रवृत्तिका रूपमा बुझ्नुपर्ने बुटवल बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक मदन कट्टेल टिप्पणी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण