शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
नेतृत्व परिवर्तनको बहस

कांग्रेसमा अब महाधिवेशन कि कार्यवाहक जिम्मेवारी ?

शुक्रबार, १० असोज २०८२, १६ : २०
शुक्रबार, १० असोज २०८२

सारांश

  • नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ, जेनजी आन्दोलनपछि नेताहरूबीच मतभिन्नता देखिएको छ।
  • विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ, तर संस्थापन र इतर समूह विशेष महाधिवेशनको पक्षमा छैनन्।
  • वर्तमान संकट समाधान गर्न नियमित महाधिवेशन गर्नुपर्ने युवा नेताहरूको जोड छ, भने कार्यवाहक तोकेर निर्वाचनमा जाने विकल्पमा छलफल भइरहेको छ।

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चर्को रूपमा उठेको छ ।

आन्दोलनका क्रममा २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा सभापति शेरबहादुर देउवा र उनकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि कुटपिट भएको थियो । देउवा दम्पती अहिलेसम्म सैनिक अस्पतालमै उपचारमा छन् ।

तर, पार्टीभित्र जेनजी आन्दोलनपछिको अवस्थामा कसरी अडाडि बढ्ने भन्ने विषयमा फरक–फरक मत आइरहेका छन् । महाधिवेशन गरेमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्नेमा नेताहरूबिच मतभिन्नता छ ।

अर्कोतर्फ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि मिति तय गरेको प्रतिनिधि सभा निर्वाचनमा कार्यवाहक तोकेर सहभागी हुने कि भन्ने विषय पनि उठिरहेको छ । 

विशेष महाधिवेशन पनि हस्ताक्षर सङ्कलन गरेर गर्ने कि केन्द्रीय समितिबाट निर्णय गरेर गर्ने भन्नेमा पनि मतभिन्नता देखिन्छ । 
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निर्देशनमा गुरु घिमिरेसहितका युवा नेताहरूले विशेष महाधिवेशनका लागि भन्दै हस्तक्षर सङ्कलन सुरु गरेका छन् ।

घिमिरेले बुधबार रातोपाटीसँग कुरा गर्दै १०९ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको बताएका थिए । कोजाग्रत पूर्णिमासम्म विशेष महाधिवेशन माग गर्न आवश्यक ंख्यामा हस्ताक्षर जुटिसक्ने उनको भनाइ थियो । 

विधान अनुसार विशेष महाधिवेशन माग गर्नका लागि १४ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले हस्ताक्षर गर्नुपर्छ । २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि थिए । त्यसको ४० प्रतिशत १ हजार ८९७ जना हो । 

१४ औँ महाधिवेशनमा सभापतिमा निर्वाचित देउवाले २७३३ मत पाएका थिए । उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १८५५ मत पाएका थिए । अहिले हस्ताक्षर सङ्कलन गरेर महाधिवेशन माग गर्ने पक्षमा संस्थापन पक्ष छैन । संस्थापन पक्षमात्रै होइन, इतर समूहको नेतृत्व गरेका डा. कोइराला पनि विशेष महाधिवेशनको पक्षमा छैनन् ।

इतर समूहबाट चोइटिएको महामन्त्री थापा समूह र १४ औँ महाधिवेशनमा तेस्रो समूह खडा गरेका प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर महामन्त्री जितेका शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा लागेका छन् । संस्थापन वा इतर समूह पूरै नलागी हस्ताक्षर सङ्कलनबाट विशेष महाधिवेशन माग गर्न संख्या पुग्ने अवस्था नरहेको कांग्रेसका नेताहरू बताउँछन् । 

अर्कोतर्फ अधिकांश नेता हस्ताक्षर सङ्कलन माग गरेर विशेष महाधिवेशन गर्दा पार्टीभित्र एकता कायम नहुने भन्दै अहिलेको विषम परिस्थितिमा एकता कायम गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन् । सभापति देउवा निको भएपछि केन्द्रीय समिति बैठक बोलाएर त्यसमै छलफल गरेर अघि बढ्नुपर्ने पक्षमा डा. कोइराला छन् । उनले आफू निकटका नेताहरूलाई हस्ताक्षर सङ्कलनमा नलाग्न अनौपचारिक रूपमा भनिरहेको बताइन्छ ।

संस्थापन पक्ष पनि सभापति देउवा निको भएपछि केन्द्रीय समिति बैठक बोलाएर त्यसमै छलफल गरेर अघि बढ्नुपर्ने पक्षमा छ । यो विषयमा डा. कोइराला र संस्थापन समूहको कुरा मिलेको छ । 

डा. कोइराला निकट रहेका युवा नेताहरू भने नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा देखिन्छन् । युवा नेताहरू रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, दीपक भट्टराई, नवीन राई लगायतका नेता नियमित महाधिवेशन गरेर वर्तमान संकट समाधान गर्ने नेतृत्व पार्टीमा स्थापित गर्नुपर्ने भनिरहेका छन् । यो समूहले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनसमेत गर्‍यो । 

नेता कर्णले रातोपाटीसँग भने, ‘वर्तमान सङ्कट समाधान गर्नका लागि अब कांग्रेसका विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ । पहिलो र दोस्रो तहमा होइन, तेस्रो तहमा नेतृत्व हस्तान्तरण गरिनुपर्छ । 

संस्थापन पक्ष भने केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यसैका आधारमा अघि बढ्ने पक्षमा छ । संस्थापन पक्षका केही नेता भने कार्यवाहक सभापति बनाएर फागुनको निर्वाचनमा भाग लिने, त्यसपछि महाधिवशेन गर्ने पक्षमा छन् । त्यसमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरू छन् । 

कार्यवाहक दिएर निर्वाचनमा जाने अवस्था आएमा उपसभापति खड्काले विधानअनुरुप कार्यवाहक पाउँछन् । आफू कार्यवाहक बन्नका लागि खड्काले नेताहरूसँगको भेटघाट बाक्लो बनाएका छन् ।

खड्काले इतर समूहका नेता डा. कोइराला, पूर्वउपसभापति निधिसहितका नेतालाई भेटेका छन् । खड्काले निधिलाई मंगलबार र डा. कोइरालालाई बुधबार भेटेका थिए । 

निधिले निर्वाचनका लागि कम समय रहेकाले कार्यवाहक दिएर पार्टीलाई निर्वाचनमा होम्नुपर्ने बताए । ‘सभापति शेरबहादुर देउवा अस्पिटलाइज्ड हुनुहुन्छ । उहाँले विधानअनुसार कार्यवाहक दिनुपर्छ र पार्टी घोषित निर्वाचनको तयारी गर्नुपर्छ,’ निधिले रातोपाटीसँग भने, ‘विधानअनुसार कार्यवाहकको जिम्मेवारी पाउने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’


घोषित मितिमा निर्वाचन हुने भयो भने महाधिवेशन गर्न त्यति सम्भव देखिन्न । महाधिवेशन गरेमा जित र हारले अन्तर्घात हुने सम्भावना रहने भएकाले नेताहरू अहिले कार्यवाहक दिएर निर्वाचनमा जाने र निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । त्यसबारे अब बस्ने केन्द्रीय समिति बैठकबाट निर्णय हुन सक्ने नेताहरूको भनाइ छ । 

कार्यवाहक दिएर निर्वाचनमा गएमा नेतृत्व परिवर्तन भएको सन्देश जाने र पार्टीलाई पुनर्स्थापित गर्न सजिलो हुने एक पदाधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप