देवी कात्यायनीको पूजा आराधना गरियो
सारांश
- नवरात्रको सातौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिएको छ।
- धार्मिक विश्वासअनुसार कात्यायनी देवीको पूजा गर्दा रोग, शोक र दुःख नाश हुन्छ।
- नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ।
काठमाडौँ । असोज शुक्ल षष्ठी अर्थात नवरात्रको सातौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिएको छ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ ।
धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेको धार्मिक विश्वास छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण