शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रोजगारीको खोजी

दसैँ मनाएर युवाहरू धमाधम परदेशतिर

बुधबार, २२ असोज २०८२, १३ : ००
बुधबार, २२ असोज २०८२

सारांश

  • सुदूरपश्चिमका नागरिकहरू किनमेल, उपचार र रोजगारीका लागि भारत जाने गर्छन्।
  • दशैँ मनाएर फर्केका सुदूरपश्चिमेलीहरू परिवारको पालनपोषणका लागि फेरि भारततर्फ फर्किरहेका छन्।
  • पहाडी जिल्लाका महिलाहरू घरायसी कामदारका रूपमा भारत जाने क्रम बढेको छ।

धनगढी । सुदूरपश्चिमका लागि भौगोलिक रूपमा मात्र नभएर रोजीरोटीका लागि समेत काठमाडौँको तुलनामा भारत नजिक छ । सुदूरपश्चिमका नागरिक किनमेलका लागि होस् वा औषधोपचार, रोजगारी लगायतका लागि भारत जाने गर्दछन् ।

भारतको उत्तराखण्डदेखि कालापहाड, रत्नागिरी, नयाँदिल्ली, मुम्बई र बैंग्लोरसम्म सुदूरपश्चिमेलीका पाइला पुग्ने गरेका छन् । कैयौंले आफ्नो पूरै जीवन भारतमै नोकरी गरेर गुजार्छन् । यो क्रम पुर्खाकै पालादेखि चल्दै आएको छ ।

सुदूरपश्चिमबाट मात्रै भारतमा काम गर्नेहरूको संख्या लाखौँ रहेको अनुमान छ । ‘यहाँका मान्छे पैसा कमाउन भारत जानु नयाँ कुरा होइन, यो त वर्षौं पुरानो चक्र हो । गाउँमा रोजगारी कहिल्यै पाइएन, अनि भारत नगएर के गर्छन् ?’ कञ्चनपुरको डोकेबजारमा पसल चलाइरहेका ६० वर्षीय हिरा विकले भने ।

उनले यहाँ पसल थापेको तीन दशक बित्न लाग्यो । नाकाको अवस्था नजिकबाट देख्ने उनी युवाहरू परदेश जानुलाई स्वाभाविक मान्छन् ।

गौरीफन्टा नाकामात्र होइन, यहाँका अन्य प्रमुख नाका तिनकुनिया, गड्डाचौकीमा भारत आउने–जानेहरूको चहलपहल कहिल्यै कम हुँदैन ।

केही साताअघि दसैँ मनाउन घर फर्किनेहरूको भिडले खचाखच भएका यी नाकामा अहिले दसैँ सकेर परदेशतिर लाग्नेहरूको लाइन देखिन्छ । चाडको खुसी साटेर गह्रौँ मन लिएर परिवारको पेट पाल्नकै लागि उनीहरू फेरि भारततर्फ जाँदैछन् ।

बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी गौरीफन्टा नाकामा भारतको बैंग्लोर जाने गाडीको लाइनमा भेटिए । एक महिनाको दसैँ बिदा सकेर उनी आफ्नो पुरानै कर्मथलो फर्किंदै थिए । विगत १० वर्षदेखि उनले बैंग्लोरमा पसिना बगाएरै आफ्नो पाँच जनाको परिवार पाल्दै आएका छन् ।

‘घरको खेतीपातीले मुस्किलले दुई महिना खान पुग्छ । पाँच जना छोराछोरी छन्, सबैलाई पढाउनु प¥यो,’ उनले भने, ‘चाडबाड सकेर परदेश जान कसलाई पो रहर हुन्छ र ? तर के गर्नु ! बाध्यताले सबै कुरा भुलाउँदो रहेछ ।’

उनको जस्तै अवस्था कैलालीको गौरीगंगा निवासी भीम साउदको पनि छ । उनी भारतको सुरतमा ज्याला मजदुरी गर्छन् र त्यही कमाइले उनको परिवारको चुलो बल्छ ।

‘दसैँमा परिवारसँग भेट हुँदा जति रमाइलो लाग्छ, उनीहरूलाई छोडेर हिँड्दा मन त्यति नै भारी हुन्छ,’ साउदले भने, ‘यो बाध्यता कहिलेसम्म हो ! थाहा छैन ।’

लाइनमा उनीजस्तै बाजुराका टंक बुढा पनि थिए, जसले यसपालीको दसैँ लामो समयपछि सपरिवार मनाउन पाएका थिए । अब फेरि अनिश्चितकालका लागि विदेसिनुको पीडा उनको अनुहारमा प्रस्टै देखिन्थ्यो ।

पछिल्लो समय यो यात्रामा पुरुषमात्र छैनन्, महिला पनि कमाउन जानेहरूको लाइनमा देखिन्छन् । प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका महिलाहरू घरायसी कामदारका रूपमा भारत जान थालेका छन् । उनीहरूले त्यहाँ खाना पकाउने, घर सरसफाइ गर्ने, लुगा धुने जस्ता काम गरेर परिवार पालिरहेका छन् ।

त्यसरी काम गर्नेमध्येकी एक महिला हुन् बझाङकी धौली धामी । उनी विभिन्न घरमा सरसफाइको काम गर्छिन् ।

‘कमाइ राम्रै हुन्छ । हाम्रो गाउँका धेरै दिदीबहिनीहरू यही काम गर्छन् । गाउँमा बसेर के गर्नु ? कुनै आम्दानीको बाटो छैन,’ उनले भनिन्, ‘कमाए पनि परिवार र आफ्नो देश छोडेर टाढा बस्दा मन त खल्लो हुन्छ नै । जे भए पनि आफ्नो देश भनेको आफ्नै हो ।’

धौलीका श्रीमान् भारतमै चौकीदारी गर्छन् । उनीहरूले आफ्ना छोराछोरीलाई पनि सँगै लगेका छन्, ताकि उनीहरूको पढाइ र भविष्य नबिग्रियोस् ।

उनीहरू जस्तै अहिले दसैँ मनाएर परदेशतिर लाग्नेहरू सयौँको संख्यामा लाइनमा उभिएका भेटिन्छन् । दसैँ मनाउन नपाएका कोही भने तिहारका लागि घर फर्किंदै गरेको भेटिन्छन् । नाकामा आउने–जानेहरूको चाहना स्वदेशमै केही काम पाए हुन्थ्यो भन्ने हुन्छ । आफूले जस्तोसुकै दुःख गर्नु परे पनि छोराछोरीको भविष्य सुन्दर होस् भन्ने सोच उनीहरूमा देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप