शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्क्रिया

प्रचण्डलाई प्रश्न : भदौ २३ र २४ को घटनामा आन्तरिक कि बाह्य कारण प्रधान ?

शुक्रबार, २४ असोज २०८२, २० : ४६
शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ गतेको जेनजीहरूको प्रदर्शन र २४ गते भएको विध्वंसलाई फरक-फरक ढङ्गले हेर्नुपर्ने स्पष्ट पारेका छन् । शुक्रबार ललितपुरमा आयोजित विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियाका क्रममा प्रचण्डले नेपालमा भइरहेको पछिल्लो भूराजनीतिक चलखेलतर्फ इङ्गित गरेका हुन् ।

अन्तर्क्रियामा प्रचण्डलाई ‘भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनमा आन्तरिक या बाह्य कारण बढी जिम्मेवार थियो ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले भने, ‘२३ गतेको प्रदर्शन जेनजी युवाहरूको सरकारप्रति, राज्यप्रति, पार्टीहरूप्रति असन्तुष्टिको अभिव्यक्तिका रूपमा एउटा आन्दोलन नै हो। त्यो पवित्र पनि छ, त्यो महान् पनि छ। त्यसले हामी सबैलाई झकझकाइदियो । त्यहाँ जसरी नरसंहार भयो, त्यो दुखद छ, त्यो भर्त्सना योग्य छ र ती सहिदहरूलाई हामीले महान् सहिद भनी नै सकेका छौँ ।’

उनले थपे, ‘२४ गते बिहानसम्म वास्तविक जेनजीहरू आन्दोलनलाई सकारात्मक र रचनात्मक बनाउने कोसिसमा थिए। तर ११-१२ बजेपछि उनीहरूको हातबाट सबै चीज अर्को ठाउँमा पुग्यो र २-४ घण्टा भित्रै विध्वंसतिर गएर नेपालको इतिहासमै सबैभन्दा ठुलो विध्वंस भयो। त्यसलाई हामीले ‘विध्वंस’ नै भनेका छौँ। र, अनुसन्धान गरेर तथा उच्चस्तरीय छानबिन गरेर त्यसका दोषीहरूलाई कारबाही गर्नुपर्छ भनेका छौँ। अहिले पनि हामीलाई यो नै सही हो भन्ने लाग्छ।’

प्रचण्डले २३ गतेको प्रदर्शनका लागि आन्तरिक कारण मुख्य भए पनि २४ गते गरिएको विध्वंसको मुख्य कारक बाह्य भएको आफ्नो विश्लेषण सुनाए । उनले भने, ‘अब त्यो विध्वंस गर्ने रातारात भएको थियो भन्दा होइन। यसको पछाडि पक्कै पनि लामो तयारी थियो भन्ने कुरा देखिएकै छ।’

‘हामी भूराजनीति भनेर धेरै चर्चा गर्छौँ। हामी दुइटा विशाल छिमेकी र पश्चिम शक्तिहरूको त्रिकोणात्मक भुमरीमा परेका छौँ। हाम्रो भू–अवस्थिति नै त्यस्तो छ। उहिल्यैदेखि पनि हामीले भोगेको कुरा हो । साम्राज्यवादले हिजो सिधै फौज लिएर आउने र हमला गर्ने हुन्थ्यो। अहिले सूचनाबाट नै हमला हुने स्थिति जो बनेको छ, यो विचारणीय छ। अहिले आईटीसहित सूचना साम्राज्य भनिन्छ,’ उनले भने ।

उनले यो नेपालको मात्रै परिघटना नभएर अन्तर्राष्ट्रिय परिघटना भएको जिकिर गरे। फिलिपिन्स, इन्डोनेसियामा, नेदरल्यान्ड, भारतको लद्दाख, श्रीलङ्का, बंगलादेशको उदाहरण प्रस्तुत गर्दै प्रचण्डले नेपालमा मात्र यो विचित्र भयो भन्नुपर्ने अवस्था नरहेको बताए। 

‘यो इन्टरनेसनल फेनोमेनामा कसले लगानी गरेको छ ? यसलाई कसले प्रोभोक गरेको छ ? वास्तविक युवाहरूको आकाङ्क्षालाई, मनोविज्ञानलाई सम्बोधन गर्न सम्बन्धित देशका सरकारले कहाँ-कहाँ गल्ती गरे ? यो सबै कुराको अन्तर्राष्ट्रिय परिवेशमा नै अध्ययन हुनुपर्छ। यो नेपालको मात्रै अध्ययनले यसको तहसम्म पुग्न सकिँदैन,’ प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय रूपमा नै यो फेनोमेना कसरी जन्मेको छ ? सूचना प्रविधिसँग यसको के सम्बन्ध छ ? यो सबै कुरा र त्यसको सञ्चालन कहाँबाट कसरी भएको छ ? खोज्नुपर्छ ।’ 

उनले एक भारतीय बुद्धिजीवीले नेपालमा भएको घटनाबारे गरेको विश्लेषण पनि सुनाए । नेपालमा यो दुई दिनभित्रै यत्रो ठुलो असाधारण परिघटना किन भयो भनेर ती बुद्धिजीवीलाई प्रश्न गर्दा उनले यसलाई ‘चटपटे विस्फोट’ भनेर टिप्पणी गरेको उनको भनाई थियो। 

प्रचण्डले भने, ‘उहाँले चटपटे विस्फोट भन्ने शब्द प्रयोग गर्नुभयो । चटपटे भनेको यसमा सरकारका गलत क्रियाकलापबाट असन्तुष्ट मान्छेहरूको जमात छ, यसमा फेरि राजतन्त्र पुन:स्थापना गर्न चाहने राजावादीहरू पनि सक्रिय रूपले लागेका छन्, पार्टीभित्रै असन्तुष्ट भएका, हरेक पार्टीभित्रका असन्तुष्ट पक्ष पनि कुनै न कुनै रूपमा त्यसमा सहभागी भएका छन्। अनि विभिन्न चाहिँ देशी-विदेशी संघ-संस्था, एनजिओ, आईएनजीओहरू पनि त्यसमा आ-आफ्नो इन्ट्रेस्ट अनुसार सहभागी छन्।’

उनले भने, ‘यसमा धेरैले धेरै इन्ट्रेस्टहरू थिए। तर वास्तविक युवाहरू चाहिँ २४ गते दिउँसो पुग्दा नपुग्दै त्यसबाट पछि हटेकै थिए। गलत भयो है, घुसपैठ भयो, हामी छैनौँ भन्दै, तर सुन्ने को ?’

  • भूराजनीतिले नै बचायो

उनले धेरै ठुलो क्षति भएको छ भने पनि भूराजनीतिकै चलखेलका कारणले भएको र अलिकति बचेको पनि भूराजनीतिक शक्ति सन्तुलनकै कारण भएको बताए ।  

‘कहिलेकाहीँ के भन्ने गरेको छु भने, हामी बचियो कसरी ? हामीलाई सेनाले बचाएको हो कि, हामीलाई जनताले बचाएको हो कि, हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि, कसले बचायो ? अल्टिमेटली हेर्दा त सेनाले बचायो। त्यसको लागि त धन्यवाद दिनै पर्‍यो। तर गहिरिएर विचार गर्दा, हामीलाई भूराजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई। नत्र बच्ने स्थिति थिएन । सबैको एउटै कुरा भएको भए त हामी जे पनि हुन सक्थ्यो,’ प्रचण्डले थप खुलाए ।

  • जेनजीसहित राष्ट्रिय सहमति

उनले नेपाल इतिहासकै सबैभन्दा चाहिँ कठिन मोडमा रहेको बताए । त्यसकारण यसको समाधान गर्न खाली राजनीतिक दल मात्रै होइन शान्ति तथा लोकतन्त्रका पक्षधरहरू एक ठाउँमा आउन जरुरी रहेको जिकिर गरे। ‘यो राष्ट्रिय अप्ठ्यारो र सङ्कटको स्थितिको समाधानको निम्ति सर्वपक्षीय राजनीतिक सहमति आवश्यक छ । राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, राष्ट्रिय जीवनमा योगदान गरेका व्यक्तित्वहरू समेतको राष्ट्रिय राजनीतिक सहमतिको निम्ति राष्ट्रिय राजनीतिक सम्मेलन भनेर हुन्छ या के भनेर हुन्छ, एउटा सोचे-सम्झेको निष्कर्षमा, गहिरो निष्कर्षमा पुग्न जरुरी छ । चुनाव सम्पन्न गर्नको लागि पनि त्यस खालको सहमति, समझदारी आवश्यक छ।’

चुनाव हुन सक्ने स्थिति भएन भने के गर्ने भन्नको निम्ति पनि त्यस्तो सर्वपक्षीय राजनीतिक समझदारीको प्लेटफर्ममा जान जरुरी रहेको उनले बताए । ‘मैले योभन्दा बढी नभनीकन तपाईँहरूलाई केसम्म म भन्न सक्छु भने म सबै राजनीतिक दलसँग संवादमा छु । र वास्तविक जेनजीका प्रतिनिधि, जसले २३ गतेको आन्दोलनको निम्ति शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै सिडिओ कार्यालयमा गएर सहमति लिन जाने, स्वीकृति लिन जाने जेनजी युवादेखि तपाईँहरूले यहाँ अहिले चर्चा गर्न खोज्ने प्रायः सबै जेनजी प्रतिनिधिहरूसँग पनि म संवादमा छु।’

उनले वास्तविक जेनजीलाई पनि विश्वासमा नलिकन राष्ट्रिय सहमतिको वातावरण बनाउन सम्भव नरहेको उनले स्पष्ट पारे। वास्तविक जेनजीलाई विश्वासमा लिएर मात्रै फेक जेनजीलाई एक्सपोज गर्न सकिने उनको भनाई थियो। ‘त्यो रियल जेनजीलाई विश्वासमा लिएर उनीहरूका जेन्युन डिमान्डलाई सम्बोधन गर्ने उपाय खोजेर मात्रै रोक्न सकिन्छ,’ उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप