शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सम्पादकहरूसँग अन्तरक्रिया

प्रचण्डको गुनासो : तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने भाष्य बनेको देख्दा चित्त दुख्छ

शुक्रबार, २४ असोज २०८२, १४ : २५
शुक्रबार, २४ असोज २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन दल र नेतालाई एउटै डालोमा राखेर मूल्यांकन गरेकोमा गुनासो पोखे।
  • प्रचण्डले सुशासनका लागि लड्ने र भ्रष्टाचारलाई संरक्षण गर्नेलाई एउटै देखाइनु दुर्भाग्यपूर्ण भएको बताए।
  • उनले राष्ट्रिय सहमतिबाट देशलाई निकास दिनुपर्ने र सम्पादकहरूलाई सत्य तथ्यमा आधारित भएर लेख्न आग्रह गरे।

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका प्रमुख तीन राजनीतिक दल र तिनका शीर्ष नेताहरूलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्ने भाष्य निर्माण भएकोमा गुनासो पोखेका छन् ।

सुशासनका लागि लड्ने माओवादी र भ्रष्टाचारलाई संरक्षण गर्ने अर्को पक्षलाई उस्तै देखाइनु दुर्भाग्यपूर्ण भएको उनको तर्क थियो ।

ललितपुरमा शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले आफू र आफ्नो पार्टीले गरेका गल्ती स्वीकारेर आत्मालोचना गर्दा पनि सबैलाई एउटै नजरले हेर्ने प्रवृत्तिले आफूलाई चोट पुगेको बताए ।

‘एउटा भाष्य बनेको देख्दा हामीलाई चित्त त दुखिराखेकै छ,’ प्रचण्डले भने, ’तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने बनाइएको छ । तर सुशासनको निम्ति सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउन खोज्ने पनि उस्तै? अनि तिनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने पनि उस्तै ?’

उनले आफ्नो पार्टीले कमीकमजोरी भएको स्वीकार गर्दै केन्द्रीय समितिबाट आत्मालोचनाको दस्ताबेज नै पारित गरेर जनतासँग माफी माग्ने अभियान चलाएको स्मरण गराए। 

उनले प्रश्न गरे, ‘कमीकमजोरी भयो, गल्ती भयो भनेर आत्मालोचना गर्ने र माफी माग्ने पनि उस्तै? अनि भ्रष्टाचारीलाई बचाउने र राम्रो काम गर्नेलाई नसियत दिने पनि उस्तै ?’

नेतृत्व हस्तान्तरणको विषयमा समेत आफू खुला रहेको तर अन्य नेताहरू त्यस्तो नदेखिएको भन्दै उनले सबैलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने तर्क गरे ।

प्रचण्डले देश गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै यसबाट पार पाउन राष्ट्रिय सहमति अनिवार्य रहेको बताए ।

विगतमा शान्ति प्रक्रिया, संविधान निर्माण र भूकम्पपछिको पुनर्निर्माणजस्ता जटिल मोडमा राष्ट्रिय सहमतिबाटै देशलाई निकास दिएको स्मरण गर्दै उनले अहिले पनि त्यसको विकल्प नभएकोमा जोड दिए ।

उनले सम्पादकहरूलाई सत्य र तथ्यको आधारमा कलम चलाउन आग्रह गर्दै गलत भाष्यलाई चिर्न सहयोग गर्न अपिल गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप