नृत्य कौशलले डीआईडी मञ्चदेखि ठुलो पर्दासम्मको यात्रामा तेरिया
सारांश
- सन् २०१४ मा डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको विजेता बनेकी तेरिया मगर नेपाली रजतपटमा 'मीतज्यू' फिल्मबाट डेब्यु गर्दैछिन्।
- उनले भारतका विभिन्न रियालिटी शोहरू जितेकी थिइन्, र अब दयाहाङ राईसँग 'मीतज्यू' फिल्ममा अभिनय गर्दैछिन्।
- तेरियाले जेनजी आन्दोलनलाई ऐतिहासिक क्षणको रूपमा लिँदै युवाहरूलाई आवेगमा निर्णय नगर्न र देशलाई माया गर्न सुझाव दिएकी छिन्।
काठमाडौँ । तपाईंहरुमध्ये धेरैले याद गर्नुभएको होला सन् २०१४ मा भारतीय रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको सिजन ३ । यो सिजन किन पनि खास छ भने त्यसको विजेता थिइन् ११ वर्षीया नेपाली बालिका तेरिया मगर । त्यसले नृत्यको क्षेत्रमा नेपालको एक इतिहास लेखियो भने तेरिया बालापनमै स्टार बनिन् ।
आफ्नो सिकाइ र साधनालाई निरन्तरता दिँदै फेरि तीन वर्षपछि अर्थात् सन् २०१७ मा उनले भारतको अर्को चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा सिजन ९’ मा उपाधि चुमिन् । सेलिब्रेटी शोको रुपमा चर्चित यस शोमा उनले भारतका एकसे एक अनुभवी सेलिब्रेटी डान्सरहरुलाई पछि पारिन् ।
तेरिया हरेक शैलीका नृत्यमा निपूर्ण छिन् । चाहे त्यो वेस्टर्न होस् वा लोक, समकालीन होस् वा हिपहप, पूर्वीय होस् वा पाश्चात्य ।
नृत्य कौशलपछि अब तेरिया अभिनयको यात्रामा छिन् । उनी ‘मीतज्यू’ नामक फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । निर्देशक अनिल बुढामगरले उनलाई फिल्म डेब्यु गराउन लागेका हुन् । ‘मितज्यू’को स्क्रिप्ट र आफ्नो भूमिका मनपरेकाले अभिनय गर्न लागेको उनी बताउँछिन् ।
फिल्म डेब्यु पनि उनका लागि खास हुँदैछ । किनकि फिल्ममा उनको जोडी बनेर आउँदैछन् दयाहाङ राई ।
‘दयाहाङको नाम अहिले नेपाली फिल्म क्षेत्रका हिरोमा पहिलो स्थानमा आउँछ’, उत्साहित हुँदै तेरिया भन्छिन्, ‘उहाँको अभिनय शैली एकदमै नेचुरल छ र मलाई औधी मनपर्छ ।’ यद्यपि, दयाहाङसँग उनको प्रत्यक्ष भेटघाट भने अहिलेसम्म भएको छैन । फिल्मको छायांकन डिसेम्बरमा सुरु हुनेछ ।

अभिनयमा उनको प्रवेश भने डान्सकै क्रममा भएको थियो । ‘जब मलाई करिअर भन्ने कुरा के हुन्छ भन्ने थाहा पनि थिएन, म डान्स गरिरहेको थिएँ’, उनी सम्झिन्छिन्, ‘मेरो परिवारको निरन्तर सपोर्टले म यस क्षेत्रमा जोडिइरहन पाएँ ।’ स्कुले जीवनदेखि अभिनयप्रति झुकाव रहेको बताउने तेरिया भारतीय सिरिज र व्यावसायिक विज्ञापनले अभिनयप्रतिको रुचि थप बढेको सुनाउँछिन् ।
हुन त ‘मीतज्यू’ अघि पनि उनलाई धेरै फिल्ममा अफर नआएको होइन । ‘ममी र परिवारले म जान्ने र बुझ्ने भइसकेपछि आफैँ निर्णय गर्छु भन्ने सोच्नुहुन्थ्यो’, उनले कारण खोलिन्, ‘क्याम्पस बिट्स गरेपछि जब अभिनय गर्न सक्छु भन्ने लाग्यो । त्यसपछि नेपालबाटै गर्छु भन्ने निर्णय गरेँ ।’
भारतीय रियालिटी शोको विजेता भएपछि उनी केही समय चर्चा र स्क्रिनबाट बाहिर रहिन् । त्यसको कारण उनको अध्ययन थियो ।
‘म डीआईडी जित्दा ११ वर्षकी मात्र थिएँ, झलक जित्दा १५ वर्षकी थिएँ’, उनी भन्छिन्, ‘त्यो समय मेरो स्कुल पनि थियो । १० र १२ कक्षासम्म एकदमै सिरियस भएर पढेँ ।’
‘साउथमा नो इन्ट्रेस्ट’
भारतीय दुई चर्चित रियालिटी शोकी विजेता तेरिया बलिउड फिल्मबाट अभिनय करिअर थाल्न चाहन्थिन् । तर बलिउड यात्रा उनले त्यति सहज देखिनन् । किनभने त्यहाँ रियालिटी शो जित्नेदेखि इन्फ्लुएन्सरसम्म, हरेक दिन स्टार बन्ने संघर्षमा हुन्छन् । त्यहाँ अडिसन कल्चर एकदमै धेरै छ । उद्योगकै पृष्ठभूमिका भएपनि अडिसनविना कसैले पनि सिधै फिल्ममा इन्ट्री मार्न पाउँदैन । सिरिजका चर्चित अनुहारको हालत पनि बलिउड यस्तै हुन्छ ।
‘अडिसन दिनु नै मेरो लागि ठुलो कुरा हुन्थ्यो’, उनी भन्छिन्, ‘अडिसनका लागि अभिनयका वर्कशपहरु गरेँ ।’ अडिसनका लागि फिल्म वर्कशप गरेको अनुभवले ‘क्याम्पस बिट्स’ नामक भारतीय वेब सिरिज उनको हातमा परेको थियो ।

दुई वर्ष वेब सिरिज ‘क्याम्पस बिट्स’को पाँच सिजन काम गरेपछि उनमा नेपाली फिल्ममा अभिनय गर्ने सोच पलायो ।
‘पहिले म अभिनय गर्छु भन्नेमा स्पष्ट थिइनँ’, उनी सुनाउँछिन्, ‘क्याम्पस बिट्समा काम गरेपछि अभिनय पनि गर्न सक्छु भन्ने एउटा स्पष्टता आयो ।’ त्यसपछि सबैभन्दा पहिले उनलाई नेपाली फिल्म गर्छु भन्ने मनमा आयो । किनभने आफ्नो भाषादेखि हरेक दृष्टिकोणमा उनलाई नेपाली सहज पनि थियो । वेब सिरिजबाट उनले सुटिङ सेट, लाइफ र काम गर्ने तौरतरिका सबै सिक्न पाइन् ।
‘जब म डान्सर मात्र थिएँ, त्यतिखेर टिभीमा आउने कमर्सियल विज्ञापनमा अभिनय गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोच्थेँ । वेब सिरिज त मेरो कल्पना भन्दा बाहिरको कुरा थियो, मेरो पहुँच भन्दा टाढा लाग्थ्यो’, उनी भन्छिन्, ‘विज्ञापन, वेब सिरिजको अनुभव भयो । अब फिल्मको प्रतीक्षामा छु ।’ वेब सिरिजका क्रममा भारतीय राम्रा कलाकारसँग जोडिन पाएकी उनले त्यहाँ धेरै कुरा सिक्न र बुझ्न समेत सकिन् ।
रियालिटी शोका कारण उनको चर्चा विश्वमै थियो । बलिउड फिल्म नभए साउथ फिल्ममा पनि काम गर्न सक्थिन् । तर साउथ फिल्ममा काम आफूलाई रुचि नभएकाले त्यतातिर नसोचेको तेरिया बताउँछिन् ।
डान्सको रहस्य
सानो हुँदादेखि नै तेरिया धेरै नाच्थिन् । गाउँमा हुने शुभकार्यमा उनी नाच्न पुगेकै हुन्थिन् । गाउँको विवाहमा साँझको खाना पनि सबै आँगनमा भेला भएर छलफल गर्थे । राम्रो नाच्ने भएकाले त्यो समय सबैले उनलाई नै नचाउँथे ।
‘सानोदेखि नै म नाच्थेँ । किन र कसरी नाच्थेँ त्यो थाहै छैन । मलाई बस् रमाइलो लाग्थ्यो, म नाच्थेँ’, तेरिया बालापन सम्झिन्छन्, ‘सबैले राम्रो छ भनेर तारिफ गर्थे । म फुरुङ हुन्थेँ । हौसला मिल्थ्यो ।’
राम्रो नाच्ने भएकाले आमाबुवा र हजुरबुबाले उनलाई विभिन्न कार्यक्रम र प्रतियोगितामा सहभागी हुन प्रेरित गर्थे । त्यसैअनुसार उनी भारतीय रियालिटी शोमा पुगेको बताउँछिन् ।
भारतीय दुई चर्चित रियालिटी शो जित्नु उनी भाग्य र परिवारको साथ मान्छिन् । ‘नृत्य गरेर खान्छु भन्दा पनि परिवारको साथका लागि नाच्दै गएँ, करिअर नै यसमा बन्यो,’ उनी भन्छिन् ।
बच्चाबेलामा तेरियाको सपना पाइलट बन्ने थियो । त्यो सपना एक दिन प्लेन दुर्घटनाको समाचार सुनेपछि परिवर्तन भयो । त्यसपछि उनमा वैज्ञानिक बन्ने इच्छा जाग्यो । तर समयले उनी डान्सर बनिन् । अहिले अभिनेत्री बन्ने दौडमा छिन् ।

‘मानिसहरु आफ्नो छोराछोरी सानो हुँदा डाक्टर, इन्जिनियर र पाइलट बनाउने सोच राख्छन् । त्यही भएर त्यो समय मेरो पाइलट र साइन्टिस्ट सपना थियो’, उनी त्यो समयमा फर्किइन्, ‘तर मेरो एउटा सपना अर्को पनि थियो । त्यतिखेर म डीआईडीका सबै शो हेर्थें । त्यहाँ पुग्ने सपना एकदमै ठुलो लाग्थ्यो ।’
रुपन्देहीको रुद्रपुरको एक गाउँमा जन्मिएकी तेरियालाई डीआईडीको प्लेटफर्म निकै टाढाको कुरा थियो ।
‘म पहिला डीआईडी लिटिल मास्टर्सका एपिसोडहरू हेर्थें र राति सुत्दाखेरि म पनि त्यहाँ उभिँदा कस्तो हुन्छ होला भन्ने सोच्थेँ,’ उनी सुनाउँछिन् । त्यहाँ जित्ने भन्दा पनि ठुलो प्लेटफर्ममा एकचोटि नाच्ने सपना पूरा गर्न पुगेकी थिइन् ।
जीवनमा सपना पूरा गरिरहेकी र सफलता पनि पाइरहेकी तेरियाको अबको सपना चाहिँ के छ त ?
‘अहिले कुनै ठुलो सपना छैन । अहिले जीवन जसरी चलिरहेको छ । अब पनि त्यसैगरी चलिरहे पुग्छ,’ उनी भन्छिन्, ‘कुनै पनि चिज जबर्जस्ती वा यस्तै गर्नुपर्छ भन्ने सोच राख्दिनँ । अहिलेकै जीवन राम्रो लागेको छ, त्यसमै खुसी छु ।‘
सपनाको अबको यात्रा अभिनयतर्फ चालेकी छिन् । उनी भन्छिन्, ‘भर्खर फिल्ममा पाइला चाल्दै गरेको छु । यसको उत्तर पछि दिउँला ।’
जेनजीलाई सुझाव
नेपालमा हालै भएको जेनजी आन्दोलनलाई तेरिया ‘हिस्टोरिकल मोमेन्ट’को रूपमा लिन्छिन् । उनले यो विषयमा धेरै बोल्न नचाहे पनि यसलाई एउटा ठुलो विद्रोहको संज्ञा दिन्छिन् ।
‘हामीले हिस्ट्रीमा पहिला पढ्थ्यौँ । अहिले चाहिँ आफू पनि त्यो हिस्ट्रीको एउटा पार्ट हुन पाउँदा यस्तो हुँदो रहेछ भन्ने खालको फिल भएको छ’, उनी भन्छिन् ।
आन्दोलनका उपलब्धि संस्थागत गर्नतिर लाग्न उनी जेनजीलाई सुझाउँछिन् । भन्छिन्, ‘आवेगमा कुनै पनि निर्णय नगर्न र देशलाई सधैँ माया अनुरोध गर्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण