शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्छ : माधव नेपाल

मङ्गलबार, ०४ कात्तिक २०८२, १४ : ५८
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • माधव कुमार नेपालले सरकारलाई राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिन सुझाव दिए।
  • उनले निर्वाचन निष्पक्ष बनाउन सहयोग गर्ने बताए, साथै संविधान सुधारबारे छलफलको आवश्यकता औंल्याए।
  • जेनजी पुस्ताको आन्दोलनमा भएको घुसपैठ र गोली प्रहारको छानबिन हुनुपर्ने उनको भनाइ छ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । 

मङ्गलबार काठमाडौँमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आफूहरूले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले संविधानलाई संशोधन गर्दै सङ्घीयतालाई परिष्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत् राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखे ।

अध्यक्ष नेपालले सबै राजनीतिक दल र नेताहरूलाई उस्तै–उस्तै नठान्न आग्रह समेत गरे । उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगायत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरू सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको उनले बताए । 

उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने जिकिर गरे । 

यसैगरी उनले जेनजी पुस्ताहरूको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानबिन हुनुपर्ने धारणा राखे । संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैले पनि गर्न नहुने अध्यक्ष नेपालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप