फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की
सारांश
- जेनजी प्रदर्शनको क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगका अध्यक्षले फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताए।
- आयोगले क्षतिको विवरण माग गरेको र क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्ने बताएको छ।
- आन्दोलनमा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिइएको छ।
मकवानपुर । जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययनका लागि मंगलबार मकवानपुर आइपुगेका अध्यक्ष कार्कीले प्रमाणका आधारमा प्रहरीले तुरुन्तै कानुनी कारबाही अघि बढाउन सक्ने स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तर्क्रियामा उनले फौजदारी अपराधका घटनामा प्रमाणका आधारमा अनुसन्धान र कारबाही गर्न पाउने अधिकार संविधान र कानुनले प्रहरीलाई दिएको बताए । सर्वोच्च अदालतका पूर्वन्यायाधीश कार्कीले २३ गतेको घटना जेनजी आन्दोलन भएको र २४ गतेको घटना पूर्ण रूपमा फौजदारी अपराधअन्तर्गत पर्ने उल्लेख गरे ।
आन्दोलनका क्रममा भएका घटनाको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी–व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिएको बताउँदै अध्यक्ष कार्कीले क्षतिपूर्तिको दाबी प्राविधिक रूपमा प्रमाणित हुनुपर्ने स्पष्ट पारे।
“हामीले सबै क्षेत्रबाट क्षतिको विवरण माग गरेका छौँ र व्यक्तिगत रूपमा पनि नोक्सानी बेहोरेकालाई फाराममार्फत आवेदन दिन भनेका छौँ । घर जल्यो भनेर एक करोडको क्षति भयो भन्दैमा हुँदैन । त्यसको आधिकारिक निकायबाट प्राविधिक मूल्याङ्कन हुनुपर्छ ताकी भोलि अदालतमा पनि प्रमाण लागोस्”, उनले भने ।
आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको अध्यक्ष कार्कीको भनाइ छ । यो विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए । पूर्वप्रधानमन्त्री र गृहमन्त्री माथि आरोप सार्वजनिक भइरहेका सन्दर्भमा बोल्दै कार्कीले अनुसन्धानका क्रममा प्रमाण फेला परे मुद्दा दर्ता गर्न सकिने बताए । गत भदौ २३ गते गोली कसरी चल्यो भन्ने विषयमा आयोगले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार उच्च सुरक्षा व्यवस्थाबिच सिंहदरबार, संसद् भवनलगायत संरचना जल्नुमा पनि अनुसन्धान भइरहेको छ । उनले कानुनी शासन बलियो बनाउन प्रहरीको मनोबल उच्च राख्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जेनजी आन्दोलनपछि राज्यको अनुभूति नै नभएको बताए । उनले दुवै दिनका घटनालाई एउटै रूपमा हेर्न नमिल्ने भन्दै २४ गतेको आन्दोलन डकैती र घुसपैठमा परिणत भएको दाबी गरे।
त्यसैगरी हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले २४ गतेको घटनालाई अत्यन्त गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए । आन्दोलनमा बौद्धिक वर्ग भनिने समूहको समेत सहभागिता रहेको नगरप्रमुख लामाको आरोप थियो ।
प्रहरी, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसम्म लुकेर बस्नुपर्ने अवस्था आएको स्मरण गर्दै नगरप्रमुख लामाले समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठेको बताए । आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म आगामी निर्वाचन सम्भव नहुने उनको तर्क थियो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्रालयका सचिवहरू, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण