शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनमा आगजनी

जेनजी आन्दोलनमा ११ जिल्ला प्रशासन र ७ इलाका प्रशासन कार्यालयमा क्षति

३८ करोड ८० लाख ९५ हजार बढी प्रारम्भिक क्षति विवरण
बुधबार, १२ कात्तिक २०८२, १३ : ४७
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृह मन्त्रालय अन्तर्गतका ११ जिल्ला प्रशासन कार्यालय र ७ इलाका प्रशासन कार्यालयमा क्षति भएको छ । गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखामा अहिलेसम्म आइपुगेको विवरणमा त्यति कार्यालयमा क्षति भएको देखिएको हो । क्षति भएका अधिकांश कार्यालय काम सञ्चालन गर्न नसक्ने खालका रहेका प्रारम्भिक विवरण महाशाखामा आइपुगेको छ ।  

महाशाखा प्रमुख सहसचिव सुरेश पन्थीले १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयमा धेरै र एक जिल्ला प्रशासन कार्यालय र ३ इलाका प्रशासन कार्यालयमा केही क्षति भएको प्रारम्भिक विवरण महाशाखामा आइपुगेको जानकारी दिए । 

महाशाखाले संकलन गरेको प्रारम्भिक विवरण अनुसार अहिलेसम्म ३८ करोड, ८० लाख ९५ हजार तीन सय ९२ रूपैयाँ बराबरको अनुमानित क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालयहरू मोरङ, भक्तपुर, चितवन, कास्की, कञ्चनपुर, तनहुँ, काठमाडौँ, बाँके, कैलाली र सिन्धुलीमा धेरै क्षति भएको छ । त्यस्तै इलाका प्रशासन कार्यालयहरू रुपन्देहीको बुटवल, मोरङको रंगेली र बाँकेको कोहलपुरमा आन्दोलनकारीले तोडफोड र आगजनी गर्दा धेरै क्षति पुर्‍याएका विवरण महाशाखाले संकलन गरेको छ । 

जिल्ला प्रशासन कार्यालय डोटी तथा इलाका प्रशासन कार्यालयहरू कास्कीको लेखनाथ, बाराको सिमरा र कैलालीको सुखड्मा सामान्य क्षति पुगेको महाशाखाले रातोपाटीलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

महाशाखाले प्रत्येक कार्यालयको अनुमानित क्षति रकममा पनि उपलब्ध गराएको छ । प्राप्त प्रारम्भिक विवरण अनुसार महाशाखाले टिपोट गरेको क्षति अनुसार जिल्ला प्रशासन कार्यालयहरू मोरङमा ४ करोड, ४० लाख, भक्तपुरमा ३८ लाख ९० हजार र चितवनमा तीन करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै कास्कीमा दुई करोड ८५ लाख चार हजार, कञ्चनपुरमा ५५ लाख ३० हजार, तनहुँमा एक करोड ७० लाख ७४ हजार र काठमाडौँमा ९४ लाख ४६ हजारको क्षति भएको महाशाखाको विवरणमा उल्लेख छ । 

बाँकेमा चार करोड, कैलालीमा १२ करोड ९९ लाख ३६ हजार ६ सय, सिन्धुलीमा एक करोड ७६ लाख ९२ हजारचार सय ६८ र डोटीमा ८ लाख ८० हजारको क्षति भएको छ । 
इलाका प्रशासन कार्यालय बुटवलमा एक करोड २२ लाख ७६ हजार, तुलसीपुरमा एक करोड ५२ लाख ३२ हजार, रंगेलीमा १९ लाख ८६ हजार र कोहलपुरमा एक करोड ४६ लाख २७ हजार रूपैयाँको क्षति भएको छ । 

इलाका प्रशासन कार्यालय लेखनाथमा ३३ लाख १२ हजार, सिमरामा ९९ लाख ८० हजार र सुखडमा ११ लाख ४६ हजार रूपैया बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको महाशाखाका उपसचिव विश्वमित्र कुइँकेलले जानकारी दिए । 

काठमाडौँ जिल्ला प्रशासनको कार्यालय सञ्चालन हुने भवनको मात्रै क्षति भएको र सम्पूर्ण क्षतिको विवरण नै पूरै मात्रामा संकलन गरिनसकिएको महाशाखाले जनाएको छ । 
महाशाखामा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिपछि कार्यालयलाई काम चल्ने गराउनका लागि चालु आर्थिक वर्षमा विनियोजित रकममा रकमान्तर गर्नुपर्ने थप रकम पनि आउने क्रम जारी छ । पुनःनिर्माणका लागि भन्दै थप रकम कार्यालयले मागिरहेका महाशाखाले जनाएको छ । 

तर अहिले प्रारम्भिक विवरण मात्रै आएकाले एकिन रकम कति लाग्ने र रकमान्तर गर्नुपर्ने भन्ने विषय ठ्याक्कै भन्न नसकिने महाशाखा प्रमुख सहसचिव पन्थीले बताए । ‘अहिले महाशाखामा आइपुगेको प्रारम्भिक विवरण मात्रै हो । एकिन विवरणको मुचुल्का आउने क्रम जारी छ,’ पन्थीले रातोपाटीसँग भने, ‘भएको क्षति कति हो र पुनःनिर्माणका लागि कति रकम लाग्छ भन्ने एकिन हुन केही समय लाग्छ ।’

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले गृह मन्त्रालयमा पनि तोडफोड र आगजनी गरी ध्वस्त बनाएका थिए । ध्वस्त भएको कार्यालय काम गर्न सक्ने नभएपछि मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयमा सारेर काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप