रेशम चौधरीको नयाँ पार्टी, जनमत छाडेका अब्दुल वरिष्ठ उपाध्यक्ष
काठमाडौँ । आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित उनले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । रोचक त के छ भने हालै डा. सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।
नाउपा नेपालको महासचिवमा उमाशंकर चौधरी छन् । कार्यसमितिमा रेशम चौधरी आफू पनि छैनन् र परिवारका कसैलाई पनि राखेका छैनन् । पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका थिए । उनले जेनजी पुस्ताका कबीर सोपलाई अध्यक्षको जिम्मेवारी दिएका छन् ।
केही समयअघि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकताको प्रयास समेत भएको थियो । तर अन्तिम समयमा एउटा फर्जी पत्रका कारण रेशम चौधरी थुनामा गएपछि एकता प्रक्रिया नै भाँडिएको थियो । त्यसपछि दुवै पार्टीबिच एकता हुन सकेन ।
जेनजी आन्दोलनपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले राजीनामा दिएर निस्केका थिए । अहिले उनी रेशम चौधरीले दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी नेपालको वरिष्ठ उपाध्यक्ष भएका छन् ।
रेशम चौधरी आफू जेलमै रहेको बेला श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष राखेर २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । जेलबाट नै उनले गठन गरेको पार्टीले २०७९ को चुनावमा राम्रै परिणाम ल्याएको थियो ।
जेलबाट निस्केपछि उनले महाधिवेशन गराएका थिए, तर रञ्जिता श्रेष्ठ आफू नै अध्यक्ष रहने अडानमा बसिन् । महाधिवेशनले रेशम चौधरीलाई अध्यक्ष बनायो, तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । टीकापुर मुद्दाका कारण उनलाई आयोगले अध्यक्षको मान्यता नदिएपछि रेशम चौधरीले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष मानेर पार्टीमा सक्रिय रहे ।
रञ्जिता श्रेष्ठ मन्त्री समेत बनिन् । तर बिस्तारै उनीहरुबिच मतभिन्नता सुरु भयो । रञ्जिताले गठन गर्दा रहेको २१ जना संस्थापकलाई आधार मानेर पार्टी चलाउन चाहेकी थिइन् भने रेशमले महाधिवेशनबाट चुनिएका प्रतिनिधिलाई पनि साथमा लिनुपर्छ भन्ने अडान राख्थे ।
दुईबिच विवाद बढ्दै जाँदा पछिल्लो पटक भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटायो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । राष्ट्रिय भेलामा महाधिवेशनबाट चयन भएका प्रतिनिधिहरु थिए । निर्वाचन आयोगले महाधिवेशनबाट चयन भएका प्रतिनिधिलाई मान्यता दिएको छैन ।
रञ्जिता पुनः अध्यक्ष कायम भएपछि रेशमले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गरे । यता रञ्जितालाई हटाएर रामलाल चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीलाई पुनर्संरचना गर्ने भन्दै निर्वाचन आयोगमा अर्को निवेदन दर्ता भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण