बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
इतिहास

हचिङ्कोटः भुरेटाकुरे दरबारकालीन इतिहास

शनिबार, १५ कात्तिक २०८२, २० : ३०
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • गुल्मीको हचिङ्कोट दरबार क्षेत्रमा ५०० वर्ष पुराना भौतिक संरचनाहरू छन्, जसमा गढी, दरबार, र हतियारहरू समावेश छन्।
  • हचिङ्कोटमा भुरेटाकुरे राजाहरूले ५८२ वर्षअघि शासन सुरु गरेको अनुमान छ, र यो क्षेत्र बाइसे-चौबिसे राज्य अन्तर्गत थियो।
  • दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न, पूर्वाधार सुधार र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने योजनाहरू छन्।

भौगोलिक अवस्थिति 

गुल्मीको रिडी–रूद्रवेणी–अस्लेवा हुँदै ठुलो लुम्पेक सडकखण्ड अन्तर्गत रूद्रवेणीदेखि १२ किलोमिटर उकालो चढेपछि हचिङ्कोट दरबार क्षेत्रमा पुगिन्छ । यो क्षेत्र समुद्री सतहदेखि १९८१ मिटर उचाइमा छ । पूर्वतिर धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, मानापाथीलगायत हिमशृङ्खला देखिन्छ ।

दक्षिणतिर मचाकोट, पश्चिमतिर लिम्घाको कप्परकोट, जुनियाँको भयरकोट, बम्घाकोट, छत्रकोट, मुसिकोट र धुर्कोट, उत्तरतिर अर्कुलकोट, खड्ककोट, खसकोट, तोलाकोट, लिटुङ्कोट, अर्जेवाकोट, रूपाकोट, चन्द्रकोट, खारीकोट, अर्लाङ्कोट, गलकोट छ । पूर्वतिर गस्कोट, देवीकोट, भयकोट र अर्बेनीकोट छ । हचिङ्कोट दरबार क्षेत्र चारैतिर कोटैकोटले घेरिएको छ । ती कोट भुरेटाकुरे दरबारकालीन अवधिमा बनेका पुरातात्विक संरचना हुन् । 

भौतिक अवस्था

हचिङ्कोट क्षेत्रमा पाँच सय वर्ष अगाडिका भौतिक संरचना अस्तित्वमा छन् । दरबारका पुरातात्विक संरचनामा गढी, दरबार गहिरी, तोसखाना (सेनाको पोशाक र बहुमूल्य गरगहना राख्ने स्थान), रानीपोखरी, घुमाउने कुलो, बटारे ढुङ्गा, कोटघर, खुँडा, भाला, तरवार र धनुषकाँडका हतियारहरू आदि छन् । 

दरबारको दक्षिणतिर रानीपोखरीको अवशेष छ भने दक्षिण–पश्चिमतिर घुमाउने कुलो छ । दरबारको कोखमा थानी मण्डलीको थान र उत्तरतिर कोटघर रहेको छ । कोटघरभित्र सेनाले दरबारकालीन समयमा प्रयोग गरेका चारथान खुँडा ९खड्क० हतियार रहेका छन् ।

हचिङ्कोट दरबार वरिपरि नजिकै रहेका दाङ्सिङ्गाको खड्कदेवी कोट, गस्कोट, मचाकोट, कप्परकोटलगायत स्थानहरूमा दरबारकालीन कोटघर र हातहतियार छन् । गस्कोट किल्लामा दरबारकालीन समयमा सामरिक युद्धक्षेत्रका रूपमा प्रयोग गरिएको पहारा (ओढार)मा अहिले पनि ऐतिहासिक हातहतियार छ । 

khuda

ऐतिहासिक र पुरातात्विक पृष्ठभूमि

(क) दरबारकालीन अवधि

हचिङ्कोटमा भुरेटाकुरे राजाले आजभन्दा ५८२ वर्ष अगाडि दरबार बनाएर शासन सुरु गरेको अनुमान गरिन्छ । पश्चिममा खस साम्राज्यको पतनपश्चात मध्यकालीन बाइसे–चौबिसे राज्य अस्तित्वमा आउनुअघि हचिङ्कोट क्षेत्रमा विसं १५०० देखि १५५० को अवधिमा भुरेटाकुरे दरबार बनेको अनुमान गरिएको छ । 

यो दरबारको अस्तित्व विसं १७९५ सम्म कायम रहेको थियो । (डा. मीन श्रीस मगर, मगर जातिको इतिहास, पृ. १००) । हचिङ्कोट दरबारमा करिब २९५ वर्ष अवधि शासन गरेको देखिन्छ । यो अवधिमा दरबारमा कुन–कुन राजाले शासन गरे भन्ने लिखत प्रमाण नभेटिए पनि रानीपोखरी (कुवा) समेत भएकाले राजारानी दुवै यो दरबारमा बसेको अनुमान गर्न सकिन्छ । मगर राजाले नै शासन गरेको इतिहासकारहरूले बताएका छन् । ‘गोरखा राज्यविस्तार हुनुअघि १२ मगरात सप्तगण्डकी प्रदेशको उत्तरमा गुरुङ र दक्षिणमा मगरहरूको राज्य थियो । २२० राज्यबाट घट्दै गएर पारकोट क्षेत्रभित्र मात्र १२ राजाको शासन विसं १७८६ मा अन्त्य भएको थियो । त्यो क्षेत्र मगरातले प्रसिद्ध थियो । त्यससमयमा चन्द्रकोट, अर्कुल, अर्बेनी र हचिङ्कोटमा मगर राजा थिए भने दिब्रुङ र अर्लाङ्कोटमा गुरुङ राजा थिए ।’ ९गोविन्दप्रसाद आत्रेय, गुल्मी चन्द्रकोटको ऐतिहासिक सेरोफेरो, पृ. ३२० । 

मुखियाहरूलाई नै राजा मानेको पनि हुन सक्छ । ‘नेपालमा सुरुदेखि नै राजतन्त्रको अस्तित्व देखाउन राजा भन्ने संज्ञा दिए पनि उनीहरू राजा नभएर गणका मुखियाहरू नै थिए ।’ ९पुष्पलाल, सङ्कलित रचनाहरू, भाग–१, पृ. ३१९० 

‘हाम्रो जनमानसमा स–साना पितृतन्त्री मुखियाहरू भुरे र टाकुरेलाई पनि राजा हुन् भन्ने छाप परेको छ । ती प्रत्येक थुम्कामा बस्ने आजका राजा–रानी नभई प्रजातिका मुखिया–मुखेनीहरू नै थिए ।’ (केदारनाथ प्रधान, नवीन दृष्टिमा नेपालको प्राचीन इतिहास, पृ. ६४) । 

बाइसे–चौबिसे राज्य सुरु भएपछि हचिङ्कोट चौबिसे राज्य अन्तर्गत पर्थ्यो । भुरे राजाहरूको काम तोकिएको क्षेत्रमा तिरो उठाउने, झारा लगाउने, सीमाको सुरक्षा गर्ने र न्याय निसाफ छिन्ने थियो । पश्चिमतिर गोर्खा राज्य विस्तारका क्रममा विसं १८४३ जेठ ११ गते बहादुर शाहले शिव शाहकी नातिनी विद्यालक्ष्मीसँग रणबहादुर शाहको विवाह गरिदिएर गुल्मी आक्रमण गर्न शिव शाहलाई खटाएपछि गुल्मी ९चारपाला० का राजा युद्ध नगरी भागेका थिए । त्यसपछि पारकोट राज्य अन्तर्गत पर्ने सबै दरबारहरू नेपाल अधिराज्यमा गाभिएको थियो । (गोपीकृष्ण शर्मा, चौबिसे राज्यको इतिहास, पृ. १८५–८९) । 

‘भार्सेको डुण नजिकै अर्कुले टापु, झुलेनी फुर्सेस्थान टापु, ग्वाघा कौडेको टापु, नङ्नामटापु, चन्द्रकोट टापु र लुम्पेकको हचिङ्कोट टापु आदि स्थानहरूमा प्राचीन दरबारका भग्नावशेषहरू पाइन्छन् ।’ (गोविन्दप्रसाद आत्रेय, गुल्मी चन्द्रकोटको ऐतिहासिक सेरोफेरो, पृ. २) । 

हचिङ्कोटको सानो चुलीमा दरबार र ठुलो चुलीमा सेना बसेको इतिहास छ । (बलबहादुर राहादी, वर्ष ५६) । विसं २०४३ सालको सेरोफेरोमा दरबार क्षेत्रमा धन खोज्न जमिन खन्दा माटोले बनेको दरबारकालीन गाग्रीको अवशेष भेटिएको थियो । (प्रेमबहादुर राहादी, वर्ष ६९) । 

दरबारकालीन समयमा हचिङ्कोटे राजारानीले प्रयोग गरेको जाँतो अहिले थुम्कास्थित गाग्री ढुङ्गा तथा जाँतो सङ्ग्रहालयमा राखिएको छ । (भुवन थापा ‘बहुवि’, वर्ष ५७) । त्यतिबेला झुम प्रथा अर्थात् जङ्गलमा आगो लगाई खोरिया बनाएर खेतीपाती गर्ने चलन थियो । (सीताराम तामाङ, नेपाल, पृ. २४) । 

हचिङ्कोट दरबारलाई सेनाको रूपमा रखवारी गर्दै आएका रामु मगरले रानीको आदेशमा दरबारको कोखमा रहेको रामबारीमा खोरिया फाँडेर खेती सुरु गरेका थिए । ९रनबहादुर तरामु, वर्ष ९१० । त्यतिबेलाको दरबार पूर्णरूपमा नष्ट भए पनि दरबारको संरचनागत स्वरूप अनुमान गर्न सकिन्छ । 

दरबार क्षेत्रका अन्य संरचनाहरू इतिहासका प्रामाणिक अवशेषहरू हुन् । अहिले यी संरचनाका माध्यमबाट तत्कालीन राज्यप्रणाली, समाज र संस्कृति कस्तो थियो रु भनेर बुझ्न सकिन्छ । यो दरबारको लिखत अभिलेखहरू नभेटिए पनि यसबारे जानेबुझेका स्थानीय बुढापाकाहरू अहिलेसम्म जीवितै छन् । 

(ख) ‘हचिङ्कोट थुम’ अन्तर्गत ठुलो ल्हुम्पेक

बाइसे–चौबिसे राज्य अन्तर्गत विभिन्न थुमहरू थिए । थुमहरू स–साना प्रशासनिक इकाइ ९इलाका०हरू थिए । थुमका शासकहरू द्वारे, उमराव र मुखिया हुने गर्थे । थुमहरू मिलाएर राज्य बनेका थिए । द्वारे मुखिया सरहकै व्यक्ति थिए । उसको काम दरबारको सुरक्षा थियो । उमराव दरबारको भारदार थिए । उनीहरूले हातहतियार र सुरक्षा फौजसहित शान्तिसुरक्षाको काम गर्थे । 

मुखिया गाउँको तालुकदार थिए । ती थुमहरूको काम तिरो उठाउने, भेजा उठाउने, झारा लगाउने र सीमा सुरक्षा गर्ने थियो । बाइसे–चौबिसे राज्यकालदेखि राणाकाल हुँदै पञ्चायत कालसम्म थुमप्रथा प्रचलनमा रहेको थियो । विसं २०१९ सालमा गाउँपञ्चायत लागू भएपछि थुमअन्तर्गतका प्रशासनिक इकाइहरू गाउँपञ्चायतमा परिणत भए । 

हचिङ्कोट थुम अन्तर्गत ठुलो लुम्पेक रहेकोले पञ्चायत कालसम्म ठुलो लुम्पेकलाई ‘थुम ठुलो ल्हुम्पेक’ भनिन्थ्यो । 'देशबाहिरबाट चिठीपत्र आउँदा ठेगानामा ‘थुम ठुलो लुम्पेक’ भनी लेखिएको हुन्थ्यो । ती चिठीपत्रहरू गाउँमा पढेलेखेकाले वाचन गरिदिने चलन थियो ।' (भुवन थापा, ‘बहुवि’ : वर्ष ५७) । गुल्मीमा अहिले पनि धाइथुम, बलिथुम र जोगिथुम गाउँहरू रहेका छन् । 

(ग) पारकोट राज्य अन्तर्गत हचिङ्कोट

पारकोटको अर्थ पश्चिमतिरबाट हेर्दा बडिघाट पारी रहेका दूरदराजका कोटहरूलाई बुझिन्छ । ‘पारिकोकोट’बाट ‘पारकोट’ भएको हो । गुल्मी चारपाला राज्यको फौजले बढीघाटको किनार खैरनी फाँटमा धान रोपिरहेको बेला आक्रमण गरेपछि अर्कुलकोटे राजासहित हली, बाउसे, रोपाहा सबै मारिएका थिए । 

विसं १७९५ मा अर्कुलकोट राज्यको स्वतन्त्र अस्तित्व समाप्त भएको थियो । विसं १८४३ मा सरदार अमरसिंह रानाको नेतृत्वमा गोरखाली फौजले चन्द्रकोट कब्जा गरेपछि भुरेटाकुरे राज्यका फौजहरू तितरबितर भए । त्यसपछि भुरेटाकुरे दरबारमा रहेको श्रीसम्पत्ति, खरखजाना, हातहतियार र रैतीहरूको रेखदेखको जिम्मा तत्कालीन मुख्तियारी मूलकाजी र अन्य दरबारमा सरदार, द्वारे, उमरा र मुखियालाई जिम्मा लगाइयो । 

वर्तमान सत्यवती गाउँपालिकाका सम्पूर्ण भाग, चन्द्रकोट र कालीगण्डकी गाउँपालिका केही भूभाग तत्कालीन पारकोट (पारगुल्मी) राज्यमा पर्थ्यो । तत्कालीन पारकोट (पारगुल्मी) राज्यका दरबार, गढी एवं किल्लाका भग्नावशेषहरू अहिलेसम्म रहेका छन् । 

हचिङ्कोट दरबार क्षेत्रबाट उत्तरतिर रहेका लिम्घाकोट, भार्सेस्थित अर्कुलकोट, जुनियाँको भयरकोट, चन्द्रकोट, अर्लाङ्कोट, रूपाकोट, खड्ककोट, खसकोट, खारीकोट, सिर्कोट, हर्पालकोट आदि सुरक्षा किल्ला पारकोट राज्य अन्तर्गत पर्छन् । 

(घ) पारकोट–सोह्रखानी क्षेत्र 

घुमन्ते युगमा कन्दमूल खनेर खाने चलन खेतीमा र सिकार गरेर खाने चलन पशुपालनमा परिणत भएको थियो । खेती, पशुपालन र सुरक्षाका लागि धातुको औजार बनाउन खनिज खोज गर्ने क्रममा खानी खन्ने परम्परा सुरु भएको थियो । (नवीन विभास, कान्तिपुर दैनिक, २०७८ साउन १५) । खानीबाट निकालिएका धातुहरूबाट औजार बनाउनुका साथै तामाबाट सिक्का बनाइथ्यो । 

गुल्मीमा रहेका बाईस खानीमध्ये पारकोट (पारगुल्मी) राज्य ‘सोह्रखानी’ नामले पनि चिनिन्छ । यहाँ रहेका अधिकांश खानी तामाखानी र सिसाखानी थिए । खानीहरू मध्यकाल हुँदै राणाकालसम्म कृषि र वाणिज्यपछि अर्थतन्त्रको मुख्य राजस्व स्रोत थिए । हचिङ्कोट दरबार क्षेत्रबाट उत्तरपूर्वतिर रहेको जयखानी, लम्कराखानी, खड्ककोटको लुङखानी, भार्सेमा रहेको चाहारे डाँडापारि खानी आदि स्थानका नाम खानीबाट राखिएका छन् । ती सबै तामाखानी थिए । 

दाङ्सिङ्गाको क्वाडी, सत्यवती नजिकै विचारीडाँडा, लिनडाँडाको रिप, सिद्धहिले र थुम्कामा समेत खानी छ । क्वाडीको खानीमा सुन उत्खनन भएको थियो । सुनखानी भएकै कारण खानी वरिपरि उम्रिएको पानी पिउनयोग्य शुद्ध रहेको छ । (पृथलाल श्रीस : वर्ष ८२) । क्वाडीको खानीको लम्बाइ करिब ३० मिटरभित्र सुरुङ छ भने ७२ इन्च गोलाइ, ३६ इन्च उचाइ र १ मिटर ८४ इन्च चौडाइ छ । यी खानीहरू बन्द भएको ११६ वर्ष भयो । 

gufa

खानीका सुरुङहरू र आफरका भग्नावशेषमा धाउ पगाल्दा निस्केका किटका अवशेषहरू अहिलेसम्म देख्न सकिन्छ । 'श्री ३ चन्द्रशमशेरले आफ्नो मुलुकमा सञ्चालित खानीहरूलाई विसं १९६६ मा पूर्णतः बन्द गर्नुपर्ने वातावरण सिर्जना गरिदिए । पहिलेदेखि खन्नेहरूमाथि सयकडा ६ प्रतिशत वा सयधार्नी खनिज धातु तयार गर्न सकेमा ६ धार्नी धातु सरकारलाई कर तिरे पुग्नेमा श्री ३ चन्द्रशमशेरले सयकडा ५० प्रतिशत कर खानीमा लगाइदिँदा खानी खनाउने र खन्नेहरूलाई घाटा पर्ने निश्चित भयो । ‘छोरो पाएर बाबु टोक्ने’ भनेझैं खानी खनेर फाइदाको सट्टामा सर्वस्व हुने स्थिति आएपछि खानी बन्द भयो ।' (प्रा.डा. राजाराम सुवेदी, गुल्मीका ऐतिहासिक झलक, पृ.९) । 

त्यतिबेला श्री ३ चन्द्र शमशेरले धातु कर तिर्न नसक्नेलाई जेल हालेका थिए । राणा सरकारले गुल्मीमा लप्टन गङ्गाप्रसाद बुढाथोकीलाई खानीको जिम्मा लगाएको थियो । ‘नेपाल (काठमाडौँ) गई बिन्ती बिसाउँदै खानी खन्दैनौं भनेर छिनो (तागा) र घन थन्क्याइए पनि कर तिर्नैपर्छ भन्ने हुकुम जारी भएपछि लप्टन बुढाथोकी मगरले खड्कजित रानासमेतको सहयोगमा २२ खानीभित्रको ७४ मौजा खानीवालाको सङ्गठन गरी श्री ३ सरकारमा जाहेर गरेका थिए । 

खानी हुने मौजाका मगरहरूसँग घरधुरीपिच्छे मोरू एकको दरले र खानी नहुने मौजामा पचास पैसाको दरले खानी छाडेबापत रकम तिरेर जेलनेलबाट छुटेका थिए ।’ (नरू थापा, किरात मगर इतिहास, पृ.६९) ।सरकारमा बिन्ती बिसाउन काठमाडौं जाँदा लागेको रकम भार्सेका साहु बलबहादुर पुनले पहिलो किस्ता ४ सय र दोस्रो किस्ता ५०५ ऋण दिएका थिए । पर्वतका मल्ल राजाको पालामा उनको राज्यभर मगरजातिले मगर बोली नबोल्नु र मगरभाषामा गीत पनि नगाउनु भन्ने हुकुम सुनाएको र खानी गाउँले मगरहरूलाई खानीमा काम गर्दा आफ्नो भाषा प्रयोग गरी खानीको धातु लुकाउने तथा हिसाबकिताब गडबड गर्ने आशङ्काले उनीहरूलाई त्यहाँ खटिएका हाकिमहरूले मगरभाषा बोल्न प्रतिबन्ध लगाएको थियो । (कृष्णबहादुर छन्तेल, गुल्मी परिचय, पृ. १२०) । 

नेपालमा खानी बन्द हुनुको मूलकारण भारतमा रहेको इष्ट इण्डिया कम्पनी थियो । तत्कालीन राणा सरकारले इष्ट इण्डिया कम्पनीसित फलाम ल्याउने सम्झौता गर्‍यो र खानी बन्द भएर रोजगारी खोसिएपछि हाम्रा पुर्खाहरू लाहुरे बन्ने, नोकरी गर्ने र भारी बोकेर जीविकोपार्जन गर्न थाले । 

(ङ) गढीको प्राचीन इतिहास

भुरेटाकुरे दरबारहरू राजारानी बस्ने, प्रशासनिक काम र आवास प्रयोजनका लागि बनाइएका थिए । ती दरबार र राजपरिवारको आन्तरिक सुरक्षा र आफ्नो राज्यको सुरक्षाका लागि गढीहरूको निर्माण भएको थियो । हचिङ्कोट क्षेत्रको ठुलो चुलीमा गढी बनाएर सेनाले दरबार र राजपरिवारको सुरक्षा गरेको थियो । 

करिब ४ मिटर चौडाइ र ६० मिटर लम्बाइमा फैलिएको उक्त गढी अहिलेसम्म सुरक्षित रहेको छ । गुल्मीमा सम्भवतः यो ६ सय वर्ष पुरानो दरबारकालीन गढी हो । उक्त गढी शत्रुको आक्रमणबाट आफ्नो परिवार र राज्यलाई सुरक्षित राख्न र शत्रुलाई आक्रमण र प्रत्याक्रमण गर्न सैन्य शक्ति तैनाथका लागि बनाइएको संरचना वा सैन्य मोर्चास्थल हो । 

यस्ता गढीहरू गोरखा राज्य विस्तारका क्रममा समेत अधिक प्रयोग भएको थियो । बाइसे, चौबिसे राजाहरूसँगै सेनकालीन समयमा समेत गढी र दरबारहरूको निर्माण र प्रयोग भएका थिए । भुरेटाकुरे पाला, गोरखा राज्य विस्तार, ब्रिटिस इष्ट इण्डिया कम्पनीसितको लडाइँका बेला अधिकांश गढी किल्लाहरू बनेका थिए । ती गढीहरू नेपालीहरूको वीरताका निशानीसित जोडिएका छन् ।

(च) कोटघरको ऐतिहासिकता

बाइसे–चौबिसे राज्यकालमा भुरेराजाहरूले राज्यको सुरक्षा र सामरिक महत्वलाई विचार गर्दै अग्ला टाकुरामा राजदरबार र कोटघरहरू बनाएका थिए । ती कोटहरूमा शासन व्यवस्था, सुरक्षा व्यवस्था र हतियार भण्डारण हुन्थ्यो । कतै जिम्मालहरूले शासन गर्थे भने कतै मुखियाले । ती कोटहरू शासन, सुरक्षा र युद्ध रणनीतिका केन्द्र थिए । तर आज यी ऐतिहासिक गढहरू हराउँदै गएका छन् । 

लिच्छविकालीन शासनकालसम्म राजाहरूले आफ्नो सुरक्षाका लागि कोटघरको निर्माण गर्ने र त्यसको सुरक्षाको जिम्मा कोटपाललाई दिने गर्थे । त्यो कोटपाल समयक्रममा अग्लो डाँडाबाट चिच्याएर हुकुम सुनाउने कटुवाल बनेको थियो । भुरेराजाहरूले शत्रुको आक्रमण नहोस् भनेर कोटभित्र देवी र खड्गको पूजा गर्थे । नेपाल एकीकरणपछि यी कोटहरू शक्तिशाली धार्मिक स्थल–कोटघरमा परिणत भएका थिए ।

अहिलेसम्म दसैँमा कोटमा बली, पूजा, मेला लाग्ने र सरायँ नाच्नेजस्ता परम्परा जीवित रहेको छ । पाल्पाली राजा मणिमुकुन्ड सेनले आफ्नो राज्यविस्तार गर्ने क्रममा प्रयोग गरेका खड्गलाई भगवती देवीको शक्तिको रूपमा मानी खड्गदेवी थानको थपना गरेको किंवदन्ती छ । त्यतिबेला देवीलाई प्राकृतिक शक्तिका रूपमा मानिन्थ्यो । ‘देवी प्राकृतिक चमत्कारको साङ्केतिकता हो ।’ (अरूण गुप्तो, संस्कृति चिन्तन, पृ. ८७) । 

कोटघरमा राखिएका हतियारहरू युद्धमा प्रयोग गरिने हुँदा त्यसलाई शक्तिका रूपमा पूजाआजा गर्ने परम्परा रहेको छ । हचिङ्कोटे राजाले त्यसैलाई निरन्तरता दिएका थिए ।

(छ) गाउँडाँडा कोटघर

हचिङ्कोट दरबारसँगै सानो चुलीमा कोटघर रहेको थियो । कोटघरमा दरबार, राजारानी र राज्यको सुरक्षाका लागि हातहतियारहरू भण्डारण गरिएका थिए । विसं १८४३ मा सरदार अमरसिंह रानाको नेतृत्वमा गोरखाली फौजले चन्द्रकोट कब्जा गरेपछि भुरेटाकुरे राज्यका फौजहरू तितरबितर भए । त्यसपछि हचिङ्कोट भुरेटाकुरे दरबारमा रहेको कोटघरका हातहतियार र खरखजनाको सुरक्षाका लागि द्वारे, उमराव र मुखियाले तलतिर बस्ती नजिक उत्तरतिर रहेको थुम्कोमा सारिएको हुनुपर्छ । (लोकबहादुर रानाः वर्ष ६९) । 

गोरखा राज्य विस्तार पश्चात् चौबिसे राज्यको अस्तित्व समाप्त भएसँगै त्यही कोटघरमा अहिलेसम्म हरेक वर्ष दशैंको नवरात्रिमा पूजाआजा गर्ने, बलि दिने र मेला लाग्दै आएको छ । भुरेटाकुरे दरबारकालीन यो कोटघरको इतिहास करिब ६ सय वर्ष पुरानो रहेको अनुमान गर्न सकिन्छ । यो कोटघर पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । 

हचिङ्कोटबाट गाउँडाँडा देउराली नजिकै थुम्कोमा सारिएको करिब २४० वर्ष भएको हुनुपर्छ । यो कोटघरभित्र चारवटा खुँडा (खड्क) र तरबारहरू रहेका छन् । ठुलो लुम्पेक कोटघरमा नवमीका दिन पूजापाठ गर्ने, बलि दिने र दशैंको अर्कोदिन बिहानैदेखि ठुलो नचरी, सोरठी, झ्याउरे गाउँदै नाच्दै जात्रा लाग्ने प्रचलन रहेको छ । आजकाल ‘भन्ज्याङ्–देउराली युवा परिवार’ले आदिवासी लोकपरम्परा र विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । 

(ज) खड्कदेवी कोट 

दाङ्सिङ्गाको खड्कदेवी कोट दरबारकालीन किल्ला थियो । यो कोटमा दरबारका सुरक्षाका लागि प्रयोग गरिएका दुईवटा खुँडा, धनुष र तीर रहेका छन् । हचिङ्कोटे दरबारको सुरक्षाका लागि दाङ्सिङ्गामा सैन्य किल्ला रहेकोले यहाँ अस्त्रशस्त्रसहित किल्ला बनाइएको थियो । कोटघर नजिकै रहेको भन्ज्याङ छेडालाई बथान बनाएर थुम्कोबाट सेनाले चारैतिर सेन्ट्री गर्ने भएकोले चुचुरोको नाउँ थुम्कीडाँडा राखिएको थियो । (मोतीलाल तरामु मगरः वर्ष ९९) । 

दरबार, राजारानी र तत्कालीन राज्यलाई बचाउन ती हतियारले महत्त्वपूर्ण योगदान गरेकाले तिनका सुरक्षा गर्न उक्त हतियारहरू कोटघरमा राखिएका थिए । हिन्दु धर्मावलम्बीहरूले कोटघरलाई शक्तिपीठको रूपमा पूजाआजा गर्दै आएका छन् । दसैँको अष्टमीका दिन मगर पूजारीले साँझमा यहाँ रहेको खुँडालाई गाउँडाँडा कोटघरमा लैजाने र नवमीका दिन बिहानै मूलपाडाको बली दिएपछि खड्कदेवीको कोटमा फर्काएर पूजापाठ गर्ने चलन रहेको छ । 

दाङ्सिङ्गाको कोटमा रहेका दुईवटा खुँडाहरूमध्ये एउटा बुढोसाँढले राखेको र एउटा खुँडामा सुनको धातु निस्किएको छ । (बलबहादुर राहादीः वर्ष ८०) । गाउँडाँडाको कोटघर र दाङ्सिङ्गाको कोटघरमा राखिएका खुँडा भुरेटाकुरेकालीन समयमा सँगसँगै प्रयोग गरिएकोले दशैंको अष्टमीका दिन सँगसँगै भोगका लागि गाउँडाँडा कोटघरमा लैजाने र नवमीका दिन फर्काउने परम्परा भएको हो । (पदमबहादुर रानाः वर्ष ९१) । 

दाङ्सिङ्गाको कोटघरमा रहेको दरबारकालीन हतियार (खुँडा) जिजुबाजे पुर्खाराम राहादीले संरक्षण गरी कोटघरमा राखिएका थिए । (कर्णबहादुर राहादीः वर्ष ५८) । खड्कदेवी कोटमा दशैंको पछिल्लो दिन बिहानैदेखि आदिवासी लोकसंस्कृतिमा आधारित सोरठी, ठुलो नचरी, मारूची, झ्याउरे नाच्ने र गाउने परम्परा रहेको छ । 

ठुलो नचरीमा आदिवासी पुर्खाहरूले सिकार गरेको कथालाई मिथकीय गीत बनाएर गाउने गरिन्छ– 'भेटिम् है दाजै मिर्गको बगाल, बाँण छोड है ! टमी त भइया सेउली काट न, हामी दाजु छलिया काड न' (मोतीलाल थापाः वर्ष ६४) । आजकाल यसको संयोजन ‘सत्यवती सोरठी समूह’ले गरिरहेको छ । 

hachingkot2

(झ) सरायँ नाच 

सरायँ नाच कोटघर र शक्तिपीठका रूपमा मानिने मठमन्दिरहरूबाट बाजागाजासहित परम्परागत हतियार निकालेर नाचिन्छ । यो नाच भुरेटाकुरे राजाहरूका पालामा भएको युद्धको सांस्कृतिक स्मरण हो । मगरभाषाको ‘सराङ’बाट अपभ्रंश भएर ‘सरायँ’ भएको हो । यसको अर्थ ‘तरबार’ भन्ने हुन्छ । तरबार नाच भुरेटाकुरेकालीन युद्धकला हो । यो नाच ठुलो लुम्पेकमा लोप भइसकेको छ भने गुल्मीका पश्चिमतिर छत्रकोटको चोयघा, मुसिकोटको पौडी अमराई, बडागाउँ, थाम, देउराली, रेसुङ्गाको जोगीथुम, धागिधुम, उनायचौर, धुर्कोट, इस्मा, मालिकामा दशैंको भोलिपल्टबाट पूर्णिमासम्म नाच्ने प्रचलन रहेको छ । 

वर्तमान अवस्था र संरक्षणका प्रयास

हचिङ्कोटको अग्लो डाँडामा दुईवटा चुली छ । सानो चुलीमा पुरानो दरबार र ठुलो चुलीमा सेना बसेको अनुमान रहेको छ । ठुलो चुलीमा अहिले सेनाको गढी र तोसखानाको अवशेष बाँकी छ भने सानो चुलीमा पुरानो दरबारको अवशेष समेत भेटिँदैन । ठुलो चुलीको दक्षिणतिर ठुलो चौर छ । 

यो चौरमा भूतपूर्व सैनिक सङ्घले २०५७ सालमा विभिन्न खेलकुद खेलाएको थियो । यो क्षेत्र संरक्षणका लागि अहिले ‘ऐतिहासिक हचिङ्कोट दरबार क्षेत्र’ नामाकरण गरी निमबहादुर तरामु मगरको अध्यक्षतामा तदर्थ समिति बनेको छ । 

यो कार्यसमितिले दरबार क्षेत्रमा रहेका पुरातात्विक सम्पदाका अवशेषहरूलाई संरक्षण गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउन जिल्ला वन कार्यालय र सत्यवती गाउँपालिकाको सहयोगमा विभिन्न प्रजातिका लालीगुराँस र अन्य बोटबिरुवाहरू रोपण गरेको छ । समितिले रानीपोखरीलाई व्यवस्थित गर्न सुरु गरेको छ ।

तत्कालीन ठुलोलुम्पेक गाविस, केन्द्र सरकारको युवा तथा खेलकुद मन्त्रालय र गणतन्त्रपछि तत्कालीन सत्यवती गाउँपालिका ३ नं वडा कार्यालयले बजेट विनियोजन गरी कच्ची मोटरबाटो पुर्‍याउन सहयोग गरेको छ ।

हचिङ्कोट दरबारबाट हुने लाभ

हचिङ्कोट दरबार क्षेत्रको पुरातात्विक महत्त्वलाई संरक्षण गर्न सक्ने हो भने यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ । ठुलो लुम्पेकको बजार क्षेत्रलाई चलायमान बनाउन होमस्टे बनाएर स्थानीय उत्पादनको प्रवर्द्धन गरी आयस्रोत बढाउन सकिन्छ । ‘कोसेलीघर’ निर्माण गरी स्थानीय कलाका सामग्री, सिन्की, टुसा, च्याउ, फापरको पिठो, सिल्टुङ, टिमुर जस्ता स्थानीय उत्पादनहरू बिक्रीको व्यवस्था गरी रोजगारी सिर्जना गर्न सकिन्छ । 

ठुलो लुम्पेक ६६ प्रतिशत मगर समुदाय रहेको बस्ती भएकोले यहाँको मौलिक लोकगीत, नृत्य साजैजो, झ्याउरे, मारुनी जस्ता लोकसंस्कृतिको संरक्षण र विकास गर्न सकिन्छ । खड्कदेवी कोटदेखि हचिङ्कोट दरबारक्षेत्रसम्म जिपलाइन बनाएर पर्यटक बढाउन सकिन्छ । 

संरक्षण र विकासका लागि गर्नुपर्ने काम

हचिङ्कोट क्षेत्रलाई पुरातात्त्विक र मनोरञ्जन क्षेत्र गरी दुई अलग क्षेत्रमा विभाजन गरी विस्तृत गुरुयोजना प्रतिवेदन (डीपीआर) बनाउनुपर्छ । पुरातत्त्व विभागको सहयोगमा विस्तृत अध्ययन गरी पुरातात्त्विक क्षेत्रलाई पुर्ख्यौली शैलीमा ढुङ्गे पर्खालले घेराबन्दी गर्नुपर्छ । तत्कालीन वास्तुकला शैलीमा दरबार निर्माण गर्नुपर्छ । दरबार क्षेत्रमा रहेका प्राचीन संरचना र नयाँ संरचनाहरूको उत्खनन गरी प्राप्त अवशेषहरूको परिचयात्मक बोर्ड राख्नुपर्छ । 

सङ्घ र प्रदेशमा रहेका मन्त्रालय, स्थानीय सरकारले सम्भाव्यता अध्ययन गरी तत्कालीन र दीर्घकालीन योजना बनाएर बजेट विनियोजन गर्नुपर्छ । दरबार क्षेत्रमा पुग्ने पक्की सडक, बिजुली, खानेपानी, शौचालय, पार्किङ, वनभोज स्थल, मनोरञ्जन र फोटोसेसनका लागि बगैँचा, शीतल पार्क र सामुदायिक भवन तत्कालै निर्माण गर्नुपर्छ । 

देउरालीमा व्यवस्थित प्रवेशद्वार बनाई ठुलोचुलीसम्म उकालो रेलिङसहितको पदमार्ग र कोटदेखि हचिङ्कोट दरबार क्षेत्रसम्म पुग्ने जिपलाइन निर्माण गर्नुपर्छ । हचिङ्कोट दरबारदेखि–हुक्रायोसम्म समेत सुरक्षित पदमार्ग बनाउनुपर्छ । भन्ज्याङ–देउराली क्षेत्रमा स्थानीय सीप, कला, परम्परा र संस्कृति झल्कने कलाकृतिहरूको सांस्कृतिक सङ्ग्रहालय बनाउनुपर्छ । 

डिभिजन वन कार्यालयसित समन्वय गरी हचिङ्कोट वन क्षेत्रका कुकाठ हटाएर उपयोगी रूख रोप्ने, जडीबुटी लगाउने, विभिन्न वन्यजन्तु र चराचुरुङ्गीहरू ल्याएर संरक्षण गर्नुपर्छ । दरबारको ऐतिहासिक दस्ताबेजहरू खोजी तथा उत्खनन् गर्न स्थानीय सरकार र प्रदेश सरकारको पहलमा पुरातत्व विभागलाई समन्वय गर्ने, ‘सत्यवती–हचिङ्कोट–हिले–थाप्ले पर्यटन सर्किट’ अवधारणामा एकीकृत गुरुयोजना बनाएर कामहरू गर्नुपर्छ ।

अन्त्यमा, 

हचिङ्कोट दरबार क्षेत्रलाई ‘पुरातात्विक सङ्ग्रहालय’ बनाएर संरक्षण गर्नुपर्छ । भौतिक पूर्वाधारको विकास र प्रचार–प्रसारलाई व्यवस्थित गर्न सकियो भने यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । यसका साथै ठुलो लुम्पेकीहरूको आयआर्जन वृद्धि गर्न सकिन्छ । यसमार्फत बसाइँसराइलाई नियन्त्रण गर्नुका साथै स्थानीय मौलिक संस्कृतिको संरक्षण गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खोमा तरामु मगर
खोमा तरामु मगर
लेखकबाट थप