शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
कलाकार

अमेरिका पुग्नुलाई ‘एडभेन्चर’ मान्ने पूजाको सक्रिय कलाकारितामा फर्किने चाहना

‘अमेरिकामा स्टाब्लिस हुनुमा करिश्मा मानन्धर दिदीको देन छ’
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । दुई दशकदेखि अमेरिकालाई कर्मथलो बनाएकी अभिनेत्री पूजा चन्द यतिबेला नेपालमा छिन् । उनको नेपाल यात्रा तय गरिदिएको हो फिल्म ‘परान’ले । यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी पूजा अहिले मिडियाको दौडधुपमा व्यस्त छिन् । 

शुक्रबार (कात्तिक १४ गत)बाट ‘परान’ सिनेमा हलहरुमा लागिसकेको छ । फिल्मले व्यवसाय पनि राम्रै गरिरहेको पूजा बताउँछिन् ।

अमेरिकादेखि फिल्म प्रचारप्रसारकै लागि कि नेपालसम्म आइन् त पूजा ? 

रातोपाटी स्टुडियोमा अन्तर्वार्ताका लागि आएकी उनी भन्छिन्, ‘परान फिल्मलाई लिएर एकदमै एक्साइटेड भएकाले यति लामो यात्रा गरेर म आएकी हुँ । फिल्मले प्रिमियरमा सबैको मन जित्दै प्रशंसा पाएको थियो ।’ 

नेपालमा चलिरहेको करिअर बिचमै छाडेर दुई दशकअघि अमेरिका पुगेकी पूजाले गत वर्ष प्रदर्शित फिल्म ‘भूठान’बाट अभिनयमा कमब्याक गरेकी थिइन् । उक्त फिल्ममा उनको मुख्य भूमिका नभएकाले खास चर्चा भएको थिएन । ‘परान’मा भने उनको मुख्य भूमिका छ, त्यसैले प्रशंसा उनको भइरहेको छ ।

puja chand (1)

‘परान हाम्रो घरको, हाम्रो परिवारको र समाजको कथा हो’, उनी भन्छिन्, ‘परिवारमा, समाजमा के भइरहेको छ भन्ने कुरालाई फिल्मले विशुद्ध पारिवारिक र भावनात्मक रूपमा चित्रण गरेको छ ।’ उनी यो पारिवारिक फिल्म भएको बताउँछिन् । 

‘फिल्मले विदेश मोह र परिवारभित्रको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ,’ उनी भन्छिन् । 

फिल्मको सुटिङ काठमाडौँ र धनकुटाको सिधुवामा भएको थियो । सुटिङका क्रममा सिधुवाको चिसो मौसम, त्यहाँको सुन्दर प्रकृति र केही अविस्मरणीय पलहरू सहिले पनि सम्झनामा रहेको उनी सुनाउँछिन् । सुटिङकै क्रममा तेह्रथुम तीनजुरे नजिकैको ‘गुराँसको राजधानी’ भनिने ठाउँमा तातो कुराउनी खाएको क्षण उनका लागि अविस्मरणीय बनेको छ । सुटिङ स्पटमा पुग्न २० मिनेट ओरालो हिँडेर र रफ बाटो हुँदै जानुपर्ने बाध्यतामा प्रोडक्सन टिमले तीनपाङ्ग्रे ट्याम्पुको व्यवस्था गरिदिएको रोचक अनुभव पनि उनले सुनाइन् । 

पूजा सन् २००५ मा आफ्नो करिअरको उत्कर्षमा हुँदा नै अमेरिका पुगिन् । त्यो निर्णयलाई उनी रहर र बाध्यता भन्दा पनि ‘एड्भेन्चर’ भन्न रुचाउँछिन् । 

‘सर्टेन टाइमसम्म एउटै फिल्डमा काम गरिसकेपछि अलिकति ब्रेक लिऊँ कि भन्ने जस्तो पनि हुन्छ,’ उनी भन्छिन्, ‘नयाँ कुराहरूको अनुभव गर्न, नयाँ सिकाइका लागि, केही लाइफमा डिफरेन्ट गरौँ भन्ने सोचले पनि आयो । केही दायित्व पनि थियो ।‘

अमेरिकाबाट यसअघि फर्किएका केही कलाकारले त्यहाँ ठुलो संघर्ष गरेको कथा सुनाएका थिए । पूजाको हकमा भने खासै ठुलो संघर्ष गर्नुपरेन । अभिनेत्री करिश्मा मानन्धरको सहयोगले आफ्नो बसाइ सहज भएको उनी सुनाउँछिन् । 

puja chand (2)

‘अमेरिकामा स्टाब्लिस भएको छु, त्यो सबै कुराको देन करिश्मा मानन्धर दिदीलाई जान्छ,’ पूजा कृतज्ञता व्यक्त गर्छिन् । काम खोजेर भौँतारिनु नपरेको र सबै कानुनी प्रक्रियामा करिश्माले नै गाइड गरेकाले अमेरिकामा आफूले ठुलो संघर्ष गर्नु नपरेको उनी बताउँछिन् । 

अमेरिका बसाइले उनको व्यक्तिगत जीवनमा धेरै परिवर्तन ल्याएको छ । विशेष गरी उनी आर्थिक रूपमा बलियो भएकी छिन् । सिस्टमभित्र रहेर कसरी काम गर्ने, समय व्यवस्थापन, कडा परिश्रम र परिवारको महत्त्वबारे सबै उनले सिक्न पाइन् । 

अमेरिकामा रहँदा उनले ‘मिस’ गर्ने कुरा चाहिँ के हुन् ? खानेकुरा, यहाँको हावापानी, वातावरण, दसैँमा उडाइने चङ्गा, पिङ र तिहारमा ढकमक्क फुल्ने सयपत्री फूलको बास्ना उनलाई याद आउँछ रे । 

  • अब सक्रिय कलाकारिता

‘तेल भिसा’, ‘भूठान’पछि ‘परान’मा अभिनय गरेकी पूजाले अर्को फिल्म ‘स्नो इज सिङ्गिङ’मा पनि अभिनय गरेकी छिन् । अमेरिकामै सुटिङ भएको फिल्म छिट्टै रिलिजको तरखरमा छ, जसबाट पनि चर्चा पाउने आश उनले गरेकी छन् । अहिले वर्षमा दुईवटा जति फिल्म गर्ने सोचमा रहेकी पूजा राम्रा अफर आएमा अभिनयलाई निरन्तरता दिने बताउँछिन् । अमेरिका बसाइ भए पनि राम्रो प्रोजेक्ट पाएमा समय व्यवस्थापन गाह्रो नभएको उनी बताउँछिन् । ‘जहाँ इच्छा त्यहाँ उपाय,’ उनी भन्छिन् ।

करिअरको सुरुमा रोमान्टिक भूमिकामा देखिएकी पूजा अहिले चरित्रप्रधान भूमिकामा अभिनय गरिरहेकी छन् । यसमा उमेरले खास भूमिका खेलेको छ । उनी यसलाई जीवनको विभिन्न कालखण्डमा कलाकारले आफ्नो कलाकारिता पस्किने अवसरका रूपमा पनि लिन्छिन् । 

puja chand (4)

‘राम्रो क्यारेक्टर पाए अभिनय गर्ने हो । त्यसलाई जीवन्तता दिन सक्नुपर्‍यो,’ पूजा भन्छिन्, ‘मुख्य भूमिकाको परिभाषालाई लिएर नेपाली फिल्ममा अझै स्पष्टता छैन ।’  राम्रो भूमिका छ भने थोरै र धेरैले आफूलाई केही फरक नपार्ने उनी बताउँछिन् । भविष्यमा समाजका जीवन्त चरित्रहरूमा अभिनय उनको चाहना छ ।

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा धेरै परिवर्तन आएको पूजाले महसुस गरेकी छिन् । शिक्षा, मिडिया र सोसल मिडियाका कारण अहिले कसैले कसैलाई झुक्क्याउन नसक्ने भएकाले राम्रो फिल्म दिनुको विकल्प नभएको उनको बुझाइ छ । कथाहरूमा मौलिकता र प्राविधिक पक्षमा भएको विकासले काम गर्न सजिलो भए पनि चुनौती पनि बढेको उनी बताउँछिन् । 

लामो समयपछि नेपाल आउँदा उनले धेरै सकारात्मक परिवर्तन पनि महसुस गरेकी छिन् । सडक, अस्पताल र शिक्षा क्षेत्रमा । 

पूजा जेनजी आन्दोलनले ल्याएको परिवर्तनपछि खुसी छिन् भने भौतिक संरचनामा पुर्‍याइएको क्षतिले दुःखी छिन् । उनी सबै पक्षलाई शान्तिपूर्ण ढङ्गले समस्या समाधानमा लाग्न सुझाव दिन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया