घुँडाको शल्यक्रियापछि अश्विनले गुमाए बीबीएल डेब्युको अवसर
काठमाडाैँ । भारतीय स्पिनर रवीचन्द्रन अश्विन घुँडाको शल्यक्रियाका कारण यस वर्ष बिग ब्यास लिग (बीबीएल) मा सिड्नी थन्डरबाट डेब्यु गर्ने अवसरबाट वञ्चित भएका छन्।
यस सिजन बीबिएल खेल्ने पहिलो क्याप्ड भारतीय खेलाडी बन्ने तयारीमा रहेका अश्विनले यो अवसर गुमाउँदा आफू ‘दुखी’ भएको बताएका छन्।
अश्विनले इन्स्टाग्राममा थन्डरका फ्यानहरूका लागि एक पत्र जारी गर्दै चेन्नईमा प्रशिक्षण गर्ने क्रममा घुँडामा चोट लागेको र शल्यक्रिया गर्नुपरेको जानकारी दिएका छन्।
यसको अर्थ उनी डिसेम्बर १४ देखि जनवरी २५ सम्म चल्ने सम्पूर्ण बीबिएल सिजनका लागि उपलब्ध हुने छैनन्।
उनले भने, ‘बीबिएल १५ गुमाउँदा म दुखी छु। मेरो ध्यान अब रिकभरी र अझ बलियो भएर फर्कनेमा छ। थन्डर परिवार र फ्यानहरूले देखाएको न्यानो मायाप्रति म आभारी छु।’
थन्डरले भने अश्विनलाई गैर–खेलाडीको रूपमा खेलहरूमा उपस्थित गराउने बारे काम भइरहेको जनाएको छ। यस वर्ष आईपीएलबाट संन्यास लिएपछि अश्विनका लागि विदेशी लिगहरूमा खेल्ने बाटो खुलेको थियो।
आईएलटी२०को लिलामीमा नबिकेपछि उनले सम्पूर्ण बीबिएल सिजनका लागि थन्डरसँग सम्झौता गरेका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण