मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय कलाकार सङ्घमा नेपालको प्रतिनिधित्व गर्न सुनिल उडे युके

आइतबार, २३ कात्तिक २०८२, १० : १०
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • कलाकार सुनिल कटुवाल युके उडेका छन्, एफआईएको चुनाबी सभामा भाग लिन।
  • उनी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको कला, संस्कृति र फिल्मको प्रतिनिधित्व गर्नेछन्।
  • कटुवालले एफआईएको क्षेत्रीय कार्यालय दक्षिण एसियामा स्थापना गर्न पहल गर्नेछन्।

काठमाडौँ । कलाकार सुनिल कटुवाल युके उडेका छन् । नेपाल चलचित्र कलाकार सङ्घ (एफएएएन)को प्रतिनिधित्व गर्दै युकेमा आयोजना हुने अन्तर्राष्ट्रिय कलाकार महासङ्घ इन्टरनेशनल फेडोरेसन अफ एक्टर्स (एफआईए)को चुनाबी सभामा प्रतिनिधित्व गर्न उनी आइतबार बिहान युके उडेका हुन् । कार्यक्रम नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा आयोजना गरिएको छ ।

कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल एफआइएमा नेपाल कलाकार संघको एक्लो प्रतिनिधि हुन् । एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन तथा चुनावी महाधिवेशन समेत हरेको कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधिहरू सहभागी हुनेछन्, जसमा युरोप, अमेरिका र भारतलगायतका देशहरू छन्।

सम्मेलनको मुख्य कार्यक्रम बर्मिङ्घमको प्रतिष्ठित सिमफोनी हलमा हुनेछ। सम्मेलनको दौरान सहभागीहरूबिच अन्तरक्रिया तथा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्। एफआईएले सहभागीहरूका लागि होटल बस्ने र खाने व्यवस्थाका साथै टिकटको प्रबन्ध पनि गरेको छ। 

यश अवसरमा कटुवालले नेपालको कला, संस्कृति र फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै युरोप, अमेरिका, हलिउड र बलिउडका ख्यातिप्राप्त कलाकार तथा संस्थाहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नेछन्। उनले यसलाई आफ्नो लागि मात्र नभई देश र समग्र राष्ट्रको लागि ठुलो अवसरको रूपमा लिएका छन्।

कटुवालले नेपाली कला–संस्कृति झल्किने हस्तकलाका विशेष उपहारहरू (मायाको चिनो र खादा) लिएर जाँदै छन्। उनले राष्ट्रिय पोसाक दौरा–सुरुवाल र टोपी लगाएर कार्यक्रममा सहभागी हुने बताए । यसका साथै, नेपालको कला–संस्कृति र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले उनले एक कार्यपत्र पनि तयार गरेका छन्, जुन उनले सम्मेलनमा प्रस्तुत गर्नेछन्। 

उनी एफआईएका वर्तमान र आगामी अमेरिकी प्रेसिडेन्टका साथै जनरल सेक्रेटरीसँग प्रत्यक्ष कुराकानी गर्नेछन्। कटुवालले दक्षिण एसियामा एफआईएको क्षेत्रीय कार्यालय स्थापनाको लागि पनि पहल गर्ने बताए। अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् कटुवाल लन्डन जाने कार्यक्रम छ । जहाँ उनले नेपाल चलचित्र कलाकार संघको युके शाखाका पदाधिकारीहरूसँग भेटघाट र छलफल गर्नेछन्। मिलेसम्म उनी लन्डनमा आयोजना हुने नेपाली अवार्ड समारोहमा पनि सहभागी हुनेछन् ।

नेपाल चलचित्र कलाकार संघको कोषाध्यक्षमा उनको अहिले तेस्रो कार्यकाल हो । कटुवालले फिल्म, सिरियल, म्युजिक भिडियोलगायत थुप्रै अभिनय छन् । नेपालको प्रतिनिधित्व गरेर आफ्नो क्षेत्रको अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रममा जान पाउनु आफ्ना लागि गर्वको कुरा भएको उनले बताए । उनले कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकारलाई नेपाल फिल्म तथा अन्य प्रोजेक्ट छायांकनका लागि एकदमै उपयुक्त स्थल भएको जानकारी दिँदै नेपाल छायाङ्कनमा आए आफू र राज्यले सक्दो सहयोग गर्ने बताए । कटुवालाई कलाकार सङ्घले एक कार्यक्रम गर्दै बिदाइ समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप