मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व

मङ्गलबार, २६ जेठ २०८३, ०८ : ३४
मङ्गलबार, २६ जेठ २०८३

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन धमाधम भइरहेको छ । हालसम्म गण्डकीका ११ मध्ये ९ जिल्लाको अधिवेशन सकिएको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन भैसकेको छ । तीमध्ये नवलपुर, कास्की, लमजुङ, तनहुँ, स्याङ्जा र गोरखा जिल्लामा मतदानबाट नेतृत्व निर्वाचित भए ।

म्याग्दी, बागलुङ, पर्वतमा सर्वसम्मत चयन भएका छन् । बागलुङको छनोट भएका कार्यसमिति विरुद्ध उजुरी परेको छ भने केही जिल्लाहरूमा अधिवेशनका क्रममा हात हालाहाल र चर्काचर्की भयो । हिमाली जिल्लामा भने केही समयपछि अधिवेशन हुने रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले बताए ।

त्यसो त गत फागुनमा सम्पन्न निर्वाचनका क्रममा दुवै जिल्ला नेपाली कांग्रेसले बाजी मारेको थियो । अरू जिल्ला भन्दा तुलनात्मक रूपमा दुई जिल्ला कमजोर मानिन्छन् ।

कुन जिल्लामा कसको नेतृत्व ?

कास्कीको सभापतिमा यदुनाथ अधिकारी विजयी भए । शनिबार भएको निर्वाचनमा अधिकारीले एक भोट अन्तरले जित हासिल गरेका हुन् । अधिकारीले १ सय १५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेले १ सय १४ मत प्राप्त गरेका छन् ।

नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचनमा १ सय ४२ मतसहित उनी सभापतिमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी गोकुल सापकोटाले १ सय ३९ र कृष्णप्रसाद शर्माले १ सय ३६ मत प्राप्त गरे ।

लमजुङको सभापतिमा अशोक सापकोटा निर्वाचित भए । पहिलो चरणमा ५ जनाले प्रतिस्पर्धा गरेकोमा कसैले पनि बहुमत नपाएपछि दोस्रो चरणमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । अशोकले पहिलो चरणमा ६९ मत पाएका थिए भने दोस्रो हुने भोलानाथ शर्माले ४९ मत पाए । विधान अनुसार सभापतिका लागि बहुमत अनिवार्य छ ।

गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री निर्वाचित भएका छन् । उनी १ सय ७६ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी ध्रुव अधिकारीले १ सय ५ मत मात्रै पाए ।

स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । शनिबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई भारी मत अन्तरले पराजित गरेका हुन् । भण्डारीले २ सय ८४ मत प्राप्त गर्दा अर्यालले २४ मत मात्रै पाए ।

तनहुँको सभापतिमा विश्व बास्तोला विजयी भएका छन् । आइतबार भएको मतगणना अनुसार बास्तोलाले १ सय ८७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी डा। शेषरमण न्यौपानेले ६४ मत मात्रै पाए ।

बाँकी ३ जिल्लामा सर्वसम्मत सभापति र कार्यसमिति चयन गरिएका छन् । पर्वतको अधिवेशनबाट जालबहादुर पुन सभापतिमा निर्वाचित भएका छन् । बागलुङको अधिवेशनबाट पुनम शर्मालाई सभापति घोषणा गरिएको छ । तर सांसदहरूले एकलौटी कार्यसमिति घोषणा गरेको भन्दै उक्त निर्वाचन प्रक्रिया विरुद्ध उजुरी परेको छ । अध्यक्षमा ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल, मनोज खड्का र पुनम शर्मा उम्मेदवार थिए । तर निर्वाचन प्रक्रिया नै नगरी शर्मालाई अध्यक्ष घोषणा गरिएको उनीहरुले बताए । म्याग्दीको सभापतिमा युवराज रोका सर्वसम्मत निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप