शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कम्युनिस्ट पार्टीहरू निरर्थक शब्दजालमा अल्झिए : डा. भट्टराई

सोमबार, २४ कात्तिक २०८२, ०८ : ०६
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कम्युनिस्ट पार्टीहरू सैद्धान्तिक विवादमा अल्झिएको बताए।
  • उनले युवा पुस्ता भाषिक विवादमा फस्ने चिन्ता व्यक्त गर्दै नयाँ विचारको आवश्यकता औंल्याए।
  • भट्टराईले वर्तमान विश्व परिस्थितिअनुसार नयाँ विचार, नीति र कार्यक्रम बनाउन सुझाव दिए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट पार्टीहरू सैद्धान्तिक र शाब्दिक विवादमा अल्झिएको भन्दै वर्तमान विश्व परिस्थितिअनुसार नयाँ विचार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईले फेसबुकमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरू अझै नेतृत्वमै छन्।’

उनले अबको पुस्ताको जीवन पनि यस्तै निरर्थक भाषिक विवादमा जाने चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘अब अर्को पुस्ताको जीवन 'अ' कार (नेपा 'ल' कम्युनिस्ट पार्टी) राम्रो कि 'ई' कार (नेपा 'ली' कम्युनिस्ट पार्टी) राम्रो भन्ने गलफत्तीमा जाने भो!’

भट्टराईले लाखौँ बेरोजगार सर्वहारा/श्रमिक विदेशिने क्रम र श्रम निर्यात तथा वस्तु आयातको परनिर्भरताको दुष्चक्र कायमै रहेको अवस्थामा यस्ता बहसलाई श्रमिक वर्गले 'बे' कार नभनुन् भनी व्यङ्ग्य गरेका छन्।

उनले यस्तो निरर्थक शब्दजालमा अल्झनु वा अल्झाउनुको सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी चिन्तन पद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन्।

डा. भट्टराईले अहिलेको चौथो औद्योगिक क्रान्ति (जस्तै: डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, एआई) ले सिर्जना गरेको विश्व परिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय वर्षका समाजवाद निर्माणका सफलता र असफलता, र भर्खरै देशमा भएको चमत्कारिक 'जेन-जी' विद्रोह लगायतको गहन विश्लेषण गर्नुपर्ने बताएका छन्।

अन्तमा, उनले देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, सङ्गठन र नेतृत्वको विकल्प तयार गर्नुपर्ने सुझाव दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप