१४ औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिनु गल्ती भयो : गगन थापा
सारांश
- गगन थापाले १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु गल्ती भएको बताए।
- उनले स्थानीय निर्वाचनमा राम्रो निर्णय नगर्दा ठूलो मूल्य चुकाउनुपरेको र गठबन्धनबारे लिएको निर्णयमा पनि असन्तुष्टि जनाए।
- थापाले २०७९ को निर्वाचनमा गठबन्धन बनाउन नहुने अडान लिएको र त्यसको विरोध नगरेकोमा पछुताएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा भएको पार्टीको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो ठुलो गल्ती भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै महामन्त्री थापाले आफूले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई हटाएर नयाँ नेतृत्व आउनुपर्छ भन्दै बोल्ने/लेख्ने गरेपछि १४औँ महाधिवेशनमा सभापति नलडेर महामन्त्री लड्नु नै गल्ती भएको बताए ।
‘२०७८ मा भएको १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठुलो गल्ती भयो भन्ने अहिले लाग्छ,’ थापाले बैठकमा धारणा व्यक्त गर्दै भने, ‘मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदाइ गरेर युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै बोल्दै र लेख्दै आए । तर १४औँ महाधिवेशनमा उहाँकै महामन्त्री बन्नु ठुलो गल्ती भयो ।’
आफूले पार्टीभित्र रहेको सिनियर नेताहरूको जन्जिर जति भत्काउन पर्थ्यो, त्यो भत्काउन नसकेको पनि स्वीकार गरे । थापाले २०७९ सालमा भएको स्थानीय तह निर्वाचनबारे पनि कुरा उठाए । उनले पालिकाको नाम नलिई एउटा पालिकाको विषयमा राम्रो निर्णय गरेनौँ भने ठुलो मूल्य चुकाउनुपर्छ भनेर सभापतिलाई जानकारी गराएको र अहिले त्यही भएको बताए ।
‘मैले सभापतिलाई उतिबेलै भनेको थिएँ, एउटा पालिकामा हामीले राम्रो निर्णय गरेनौँ भने त्यहाँ एउटा पात्र आउँछ, त्यसले हामीले ठुलो मूल्य चुकाउनुपर्छ,’ थापाले त्यो बेलाको भनाइ स्मरण गर्दै भने, ‘तर, सभापतिले मैले बचन दिइसकेँ अब सकिन्न भन्नुभयो । सबै सिनियर नेताले भनेकाले हुन्छ भने त्यो पनि मेरो गल्ती भयो ।’
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाउन हुन्न भनेपछि आफू निर्वाचन नलड्नुपर्ने थियो, तर गल्ती गरेको पनि थापाले बताए ।
आफूले प्रतिनिधिसभामा तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई मत नहाल्न र कांग्रेस र एमालेबिच गठबन्धन गर्न हुन्न भनेको जानकारी दिए । त्यो विरोधमा बाहिर आन्दोलन गर्नुपर्ने भए पनि नगरेकोमा अहिले आफूलाई पश्चाताप लागेको पनि उनले बताए । त्यही विषयलाई उठाएर नेता बदल्न लाग्नुपर्ने भए पनि नलागेर गलत गरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण