शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, ०८ मङ्सिर २०८२, १६ : १६
सोमबार, ०८ मङ्सिर २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड-१९ विरुद्धका व्यक्तिगत सुरक्षा सामग्री (स्वास्थ्य सामग्री) खरिदमा अनियमितता गरेको आरोपमा हेटौँडास्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटालगायत ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा कोभिड-१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि आह्वान गरेको बोलपत्रमा कम मूल्य कबोल गर्ने फर्महरूलाई पन्छाएर बढी मूल्य कबोल गर्ने फर्मलाई ठेक्का दिएको पाइएको अख्तियारको जिकिर छ । यसबाट राज्यलाई रु.३१ लाख १७ हजार ८९ रुपैयाँ गैरकानुनी हानि पुर्‍याइएको अख्तियारले जनाएको छ।

यस अनियमिततामा सापकोटा, तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन (मूल्याङ्कन समितिका सदस्य) रवीकुमार महतो, तत्कालीन बायोमेडिकल इन्जिनियर (मूल्याङ्कन समितिका सदस्य) राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत (मूल्याङ्कन समितिका सदस्य) नेत्र नर सिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेजका प्रोप्राइटर नवराज श्रेष्ठको संलग्नता रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले यी प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा २२ बमोजिम बिगो असुल गरी कैद र जरिवानाको मागदाबी गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप