शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको संस्थापन पक्षीय युवा–विद्यार्थीले भने– नियमित महाधिवेशनको विकल्प छैन

शुक्रबार, १२ मङ्सिर २०८२, १५ : २६
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसका युवा विद्यार्थीहरूले नियमित महाधिवेशनको विकल्प नभएको बताए।
  • उनीहरूले विशेष महाधिवेशनको खेलले पार्टीलाई समस्यामा पार्ने र पार्टीको अस्तित्व नियमित अधिवेशनबाट सुरक्षित हुने बताए।
  • युवा विद्यार्थीहरूले निर्वाचनमा ध्यान केन्द्रित गर्न र निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखे।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहका युवा–विद्यार्थीहरूले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नियमित महाधिवेशनको विकल्प नभएको बताएका छन् । 

नियमित महाधिवेशनका लागि दबाब दिन शुक्रबार काठमाडौँमा भेला आयोजना गर्दै उनीहरूले विशेष महाधिवेशनको खेलले पार्टीलाई झन् समस्यामा लैजाने भन्दै नियमित अधिवेशनबाट मात्रै पार्टीको अस्तित्व सुरक्षित हुने बताएका हुन् । 

उनीहरूले अहिले विशेष महाधिवेशनमा नामा पार्टीभित्र स्वार्थप्रेरित कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने धारणा समेत राखेका छन् । युवा–विद्यार्थीहरूले अहिले निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने र निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

भेलामा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबन्डाको खेलले गर्दा नेविसंघ लगायतका भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको आरोप लगाए । पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ ।  

त्यस्तै कांग्रेस युवा नेता पुष्प शाही अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने र नियमित महाधिवेशनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे । 

नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विवाद भइरहँदा पछिल्लो समय विभिन्न पक्षको भेला भइरहेको छ । महाधिवेशनको विषय टुङ्गोमा पुग्न नसकेपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गते आइतबारसम्ममा लागि स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप