जब प्रधानन्यायाधीश र न्यायाधीशको प्रश्नले इजलासमै ढले अधिवक्ता खरेल…
काठमाडौँ । सर्वोच्च अदालतमा बहसका लागि उभिएका अधिवक्ता सुलभ खरेल त्यहीँ ढलेका छन् । संवैधानिक इजलासमा बुधबार नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको तयारी चल्दैथियो । त्यसअघि अर्कै मुद्दामा बहसका लागि अधिवक्ता खरेल पुगेका थिए ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मासहितको इजलासमा अधिवक्ता सुलभ खरेल बहसका लागि तयार भए ।
बहस सुरु गर्नुअघि अधिवक्ता खरेलले सुरुमा आफ्नो परिचय दिए । उनले बहस सुरु गर्नै लाग्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले रोक्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा प्रष्टीकरण मागे ।
‘विद्वान मित्र तपाईं यो इजलासमा बहस गर्न त आउनुभयो । तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतको आगजनीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ? कानुन व्यवसायीको मर्यादाको विषयमा हेक्का राख्नुपर्छ कि पर्दैन ? तपाईं सर्वोच्च अदालत र नेपाल बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो’ भनी प्रधानन्यायाधीश राउतले प्रश्न गरे ।
त्यसपछि अधिवक्ता खरेल बोल्न सकेनन् । एकपछि अर्को प्रश्न इजलासबाट दोहोरिन थाल्यो । बिचमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सामान्यीकरण गर्न खोजे । निरन्तर न्यायाधीशबाट प्रश्न आएपछि अधिवक्ता खरेल उभिएको ठाउँमै ढले । खरेल ढलेपछि कानुन व्यवसायीहरुले उठाए र केही शान्त पार्ने कोसिस गरे । उनलाई पानी खुवाएपछि सामान्य भई कुर्सीमा बसे ।
न्यायाधीशको प्रश्नले हतोत्साहित बनेका अधिवक्ता खरेल बसेपछि वरिष्ठ अधिवक्ता भट्टराईले इजलासलाई शान्त बनाउने प्रयास गर्दै थिए । त्यसपछि न्यायाधीश सपना प्रधान मल्लले पुन: प्रश्न गर्दै इजलासबाट भनिन्, ‘हामी न्यायाधीशको जति मर्यादा हुन्छ, त्यति कानुन व्यवसायीको पनि आफ्नो मर्यादा हुनुपर्ने होइन ? भदौ २४ गते कस्तो अवस्था थियो तपाईंहरुलाई थाहा नै छ । न्यायाधीशलाई पार्टीको झोले भनेको छ, अदालत मात्रै जल्यो न्यायाधीशलाई पनि जलाउनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्दा विचार गर्नपर्छ कि पर्दैन ? यो विषयलाई इतिहासमा लेखाउनुपर्छ भनेर भन्दा हाम्रो न्यायालय कता पुग्छ ? हामी तपाईंको क्षमतामाथि प्रश्न गर्दैनौं, एलएलएम गर्नुभएको छ, राम्रै गर्नुभएको छ । तर त्यस्तो अवस्थामा कानुन व्यवसायीले आफ्नो मर्यादा के हो ? अदालतप्रति आफूले निभाउनुपर्ने भूमिका के हो विचार गर्नुपर्छ कि पर्दैन ?’
त्यसपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘श्रीमान् अहिलेलाई यति गरौं, अब लिखित जवाफ आएपछि सबै रिटलाई एकै ठाउँमा राखेर निरन्तर सुनुवाइ गर्न अग्राधिकारमा राखियोस् ।’ त्यसपछि वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले इजलासमा आफ्नो नाम टिपाए । अधिवक्ता खरेललाई मुख्य रजिष्ट्रार विमल पौडेलको साथमा पठाइयो । मुख्य रजिष्ट्रारले सौहार्द्धपूर्ण वातावरणमा चिया खुवाएर छलफल गराएर पठाए ।
भदौ २४ मा अदालतमा आगजनीपछि अधिवक्ता खरेलले के लेखेका थिए सामाजिक सञ्जालमा ?
सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरु मेरो आँखामा संवैधानिक चोरहरु हुन् । साँच्चिकै संवैधानिक फटाहाहरु हुन् ।

अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ ।
अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृति न्यायालय एक रत्ती चाहिँदैन ।
अधिवक्ता सुलभ खरेलले न्यायापालिकाको विषयमा टिप्पणी गरेपछि वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले उनलाई सम्झाउने हिसाबले नोभेम्बर ७ मा एउटा पोस्ट लेखेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण