मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि

सोमबार, २२ मङ्सिर २०८२, २१ : ३४
सोमबार, २२ मङ्सिर २०८२

काठमाडाैँ । अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन् । सोमबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाईं, मोहना अन्सारीलगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईंले आरोप लगाए । उनले राजनीतिक नियुक्तिमा जथाभावी गरेर सरकारले पुरानै सरकारको चरित्र प्रर्दशन गरेको भन्दै आपत्ति समेत जनाए ।

अधिवक्ता चापागाईँले भने, ‘अहिलेकै सरकारमा बस्नेहरुको पनि कस्तो भईदियो भने घुस नखाने मान्छे मात्रै हो सुशासन दिने मान्छे भन्ने भयो । बाँकी जसरी नियुक्ती गर्ने पनि जस्तो मान्छेलाई नियुक्ती गरेपनि हुने भयो । कुनै पनि पारदर्शीताको कुरा छैन । अन्तरिम सरकारलाई पनि विश्वास गर्न सकिने अवस्था छैन ।’

नव अधिकारकर्मी मोहना अन्सारीले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले गोली हानि हत्या गर्ने काम गरेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गरिन् । 

उनले पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने कुरालाई सरकारले ढिलाई गर्न नहुने बताइन्। मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘हामी नागरिकलाई मार्ने अधिकार कुन संविधानमा लेखिएको छ । यसको जवाफ तत्कालीन सरकारले दिनुपर्छ । त्यो कुरा मानव अधिकारकर्मीलाई पनि जानकारी हुनुपर्छ । रुल अफ ल प्राईमिनिष्टरलाई पनि लाग्छ । तत्कालिन प्राईमिनिष्टरलाई पनि लाग्छ । तत्कालीन क्याविनेटलाई पनि लाग्छ । रुल अफ ल मलाई मात्रै होइन, उहाँहरुलाई पनि लाग्नुपर्छ ।’

कार्यक्रममा जेनजी अभियन्ताहरुले पनि जेनजी आन्दोलनमा तत्कालीन सरकारले नागरिकको हत्या गरेको जिकिर गर्दै कारबाही गर्न ढिलाई गर्न नहुने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप