राजेशको ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शन हुने
सारांश
- राजेश हमालको फिल्म 'प्रवासी जीवन' फागुन १५ गते रिलिज हुने भएको छ, जसले अमेरिकामा नेपालीहरूको संघर्षको कथा देखाउँछ।
- फिल्मले प्रवासी जीवनका सुख-दुख, चुनौती र मानसिक स्वास्थ्यका विषयलाई उठान गरेको छ, जसमा राजेश हमाल र सरिता लामिछानेको मुख्य भूमिका छ।
- श्याम क्षेत्री र राम अधिकारीको निर्देशन रहेको फिल्म 'प्रवासी जीवन' मा अमेरिकाका रमणीय दृश्यहरू समेटिएका छन्, र यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
काठमाडौँ । अभिनेता राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । उज्ज्वल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन् ।
प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए । उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रूपमा भोगिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’
फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीलगायतको अभिनय रहेको छ ।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको छ ।
‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’, ‘रोटन ब्लड’ जस्ता फिचर तथा छोटा फिल्म छायाङ्कन तथा निर्माण गरेका रविन आचार्य निर्माता रहेको उक्त फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको हो । निर्माता आचार्यले अभिनेता हमाल फिल्मसँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रूपमा प्रस्ट्याए ।
‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अँध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा फिल्म बनेको छ’, निर्माता आचार्यले भने ।
अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, नवीन कार्कीले सङ्गीत फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण