बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेवातालको मापदण्ड कार्यान्वयन हुन्छ, सरकारी कार्यालयबाट भत्काउन सुरु गर्छाैँ : मुख्यमन्त्री पाण्डे

बुधबार, ०२ पुस २०८२, २१ : १९
बुधबार, ०२ पुस २०८२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवातालको ६५ मिटर मापदण्ड कार्यान्वयन गरिछाड्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । 

पोखरा महानगरको ६७औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले पोखरा विकासका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने उद्घोष गरेका हुन् । 

सर्वोच्चले फेवातालको सिमाङ्कन तोकेर ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको छ । पोखरा महानगरपालिका र प्रदेश सरकारको सहकार्यमा फेवातालको सीमा यकिन गरी पिलर गाड्ने काम सम्पन्न भइसकेको भन्दै उनले अतिक्रमित क्षेत्र खाली गर्न चरणबद्ध काम गर्ने बताए ।

‘हामीले गाडेको पिलरको बाउन्ड्रीबाट ६५ मिटर भित्र खाली गर्नु भन्ने सर्वोच्च अदालतको आदेश छ । त्यो आदेश पनि अब कार्यान्वयन हुन्छ,’ उनले भने, ‘अतिक्रमित अवस्थालाई हामीले क्रमिक रूपमा अब बिस्तारै खाली गर्नुपर्ने र त्यसलाई हरियाली गर्नुपर्ने काम हामी गर्छौँ ।’

मापदण्ड कार्यान्वयन गर्दा सरकारी संरचनाबाटै भत्काउन थाल्ने उनको भनाई छ । ‘त्यो आदेशको कार्यान्वयनको पहिलो चरणमा सरकारी संरचनाहरू हुन्छन् । यो कुरा पनि म यहाँहरूको अगाडि राख्न चाहन्छु,’ अघि भने, ‘क्रमिक रूपमा हामीले त्यसलाई अगाडि बढाउँछौ र हेर्न लायकको फेवाताल, जुन ग्रिनरी बनाउनुपर्ने हो, त्यो बनाउने हाम्रो लक्ष्य छ ।’

उनले फेवातालको संरक्षणसँगै पोखरालाई प्रदूषणमुक्त सहर बनाउने दाबी गरे । एडिबीसँगको साझेदारीमा प्रदूषणमुक्त यातायातलाई जोड दिने पाण्डेको भनाई छ ।

पोखरा घुम्न आउने पर्यटकका लागि लक्षित गरी तालको सिरानमा सेल्फी ब्रिज निर्माण गर्ने उनले सुनाए । यसका लागि अध्ययन भइरहेको भन्दै उनले रुपातालमा पनि सिसा पुल बनाउन अध्ययन गरिरहेको जानकारी गराए । 

पाण्डेले पोखराका तालहरूमा क्रुज रेष्टुरेण्ट चलाउनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप