कविता : उडुसहरू
सरिता ढुङ्गाना
परिस्थिति र मोडहरू जस्तोसुकै आओस्
अरुका चाहना र इच्छाहरू जे सुकै रहोस्
आफू बाँच्नलाई अर्कालाई निरन्तर डस्दै
आफ्नै स्वार्थमा मोटाउँदै छन् ती उडुसहरू
दिनको उज्ज्यालो र मासमा लुकेर
एकान्त तथा रातको चकमनन्तामा जुटेर
बालक, वृद्वा ,युवा रोगी केही पनि नभनी
आफ्नो जीवनकालभरि नै अर्काको रगत चुस्दै
आफ्नो भुँडी भर्छन् ती दृश्य र अदृश्य उडुसहरू
किनकि उनीहरूलाई बानी परेको छ
अर्काको रगत चुसेर बाँच्न
सुन्दर भविश्य र मीठो सपनालाई खोस्न
आफैँ मपाईँ बन्दै एकान्त र रातको चकमन्नतामा
आफ्नो छुट्टै विशाल जुलुस निकाल्न
आ-आफ्नै भाषा र संस्कारमा रमाउन
अनि आफ्नै मात्रै दौँतरी जमाउन
अर्कैको संरचनामा उफ्रँदै
अर्कैको रगत र पसिना चुस्न
निकै तुजुक र फूर्तीका साथ
भित्ताभित्तामा तछाडमछाड गर्दै दगुर्न
अनि सबै संसारै आफ्नो जस्तो गर्न
मौका पर्नासाथ फेरि अर्कालाई नै डस्न
न त कुनै कानुन बनेको छ यस्लाई ?
न छ कुनै नीति र नियमहरू यहाँ
को आफ्नो र को पराइ सबै समान
त्यसैले ऊ कसैसँग कहिल्यै झुक्दैन
बरू मौका मिलाएर अरुलाई डसिरन्छ
आफू मोटाउन अर्काको सपना लुटिरन्छ
कसैको भावना बुझ्नु पनि छैन
न त अर्कालाई डसेर शिखर नै चुम्नु छ
बस् बाँच्नु छ उसलाई बढो फूर्तीका साथ
नाच्नु छ केवल आफ्नै निजी स्वार्थमा
आफ्नो र पराइ जीवनकाल भरिनै चिन्नु छैन
किनकि तिनकै रगत चुसेर आफू मोटाउनु छ
अरुकै संसारमा आफ्नो अधिकार जमाइ
फेरि मौका पर्नासाथ तिनैलाई डस्नु छ
तर थाहै छैन कुन बेला अरुलाई डस्दाडस्दै
आफैँ मर्नुपर्छ भनेर त्यसैले ती उडुसहरू
आफ्नो सम्पूर्ण जीवनकालभरि नै डसिरहन्छन्
अरुलाई डस्ने संजालमा आफैँ धेरै फसिरहन्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण