शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर, सोमबार सर्वोच्च जाने

आइतबार, ०६ पुस २०८२, १५ : ५२
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।

कांग्रेसको  विघटित प्रतिनिधिसभाकी सचेतक सुशीला थिङले शीर्ष तहका नेता बाहेकका ६५ सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेको जानकारी दिइन् । ‘हामी विघटित प्रतिनिधिसभामा पार्टीका ६५ जनाले हस्ताक्षर गरेका छौँ,’ थिङले रातोपाटीसँग भनिन्, ‘शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छैन । हामीले हस्ताक्षर गर्न पनि भनेका छैनौँ ।’

कांग्रेस संसदीय दल स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा. शेखर कोइरालासहितका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् ।

कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन् । त्यही रिटमा पूरक बनाएर सोमबार बहुमत सदस्य सर्वोच्चमा जाने तयारीमा रहेको थिङले जानकारी दिइन् । ‘हामीले पहिल्यै ८ निवर्तमान सांसदले पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छौँ । अब कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्‍याएर सोमबार सर्वोच्चमा पूरक रिट दिने तयारी गरेका छौँ,’ थिङले भनिन् ।

पार्टीले त निर्वाचनमा जाने निर्णय गरेको छ, तपाईँहरू त्यो निर्णयविपरीत किन पुनर्स्थापनाका पक्षमा जान लाग्नुभयो भन्ने रातोपाटीको प्रश्नमा थिङले भनिन्, ‘पार्टीको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयमा पनि प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण गरिनुपर्छ भन्ने लेखिएको छ, त्यही निर्णयलाई टेकेर हामी केही सांसद सर्वोच्च गइसकेका छौँ । अब बहुमत पुर्‍याएर फेरि जान्छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप